सहमति लत्याउँदै ओलीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पार्टीका नेताहरुसँग गरेको सहमति विपरित फेरि संवैधानिक परिषद्को बैठक बोलाएका छन् । मंगलबार राष्ट्रपतिबाट जारी गराएको संवैधानिक परिषदसम्बन्धि अध्यादेश फिर्ता लिन बुधबार नेकपाको स्थायी कमिटीमा गरेको सहमति प्रधानमन्त्री ओलीले लत्याएका हुन् ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग राष्ट्रपतिबाट जारी गराएको अध्यादेश फिर्ता लिने सहमति गरेपछि बुधबारको स्थायी कमिटी बैठकले पनि उक्त सहमति अनुमोदन गरेको थियो ।

तर बिहीबार दिउँसोसम्म पनि राष्ट्रपति कार्यालयबाट अध्यादेश फिर्ताको सूचना आएको छैन भने त्यही संशोधित अध्यादेशकै आधारमा परिषदका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले परिषद बैठक बोलाएका हुन् ।

बैठकको सूचना विपक्षी दलका नेता शेरबहादुर देउवासहितका सदस्यहरुलाई पठाइएको बताइएको छ । बैठक बिहीबार साँझ ५ बजेका लागि बोलाइएको देउवानिकट स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले बैठकको सूचना पठाए पनि तर कांग्रेस सभापति देउवा भने नजाने बुढानीलकण्ठ स्रोतले जनाएको छ । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने संवैधानिक व्यवस्था छ । तर अहिले उपभामुख रिक्त छ ।

हाल राष्ट्रिय मानव अधिकार आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अध्यक्षसहित विभिन्न संवैधानिक निकायहरुमा ४५ पद रिक्त रहेका छन् ।

कमेन्टहरु
Loading...