काठमाडौं । नेपाल–चीन सम्बन्धका बारेमा भारत फेरि बोलेको छ । भारतको तीनवटा सेनाका प्रमुख अर्थात् चीफ अफ डिफेन्स (सीडीएस) जनलर बिपिन रावतले नेपालले श्रीलंकाबाट केही सिक्नुपर्ने बताएका हुन् । उनले एक कार्यक्रममा नेपालको नाम लिँदै श्रीलंकासँग सिकोस् भनेका हुन् । नेपालले श्रीलंका र अरु देशबाट सिक्नुपर्ने सीडीएस जनरल रावतको भनाइ थियो ।
कार्यक्रमका क्रममा रावतले नेपालको चीनसँगको सम्बन्धलाई लिएर यस्तो बताएको भारतीय समाचार संस्था एएनआईले लेखेको छ ।
रावतले भने , ‘भारतको सद्भावना कुनै धागोको डोरीसँग जोडिएको होइन । अन्तरराष्ट्रीय मामिलामा नेपाल स्वतन्त्र रुपबाट काम गर्न सक्दछ । तर उसले श्रीलंका र अरु देशबाट चनाखो भई सिकोस् कि जसले यस क्षेत्रका अरु देशसँग पनि सम्झौता गरेका छन् ।’
यस क्षेत्रका अन्य देशका साथ श्रीलंकाले सम्झौता गरेको भनेर जनरल रावतले चीनतर्फ इशारा गरेका हुन् । चीनले श्रीलंकामा बन्दरगाह बनाउनका लागि दिएको ऋणको भारमा श्रीलंका थिचिएको भनेर त्यहाँको आन्तरिक राजनीतिक मुद्दा पनि बनेको छ ।