पोखरा । नेपाल तरुण दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्ताव तथा राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर पदबाट हटाउन माग गरेको छ । दलले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताव तथा राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाएर पदबाट हटाउन माग गरेको हो ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित अन्य राजनीतिक दलहरुले समेत संसद बैठकको माग गरिरहेको अवस्थामा संसदलाई बन्धक बनाएर राख्नु अनुचित भएको बताइएको छ । ‘उप–सभामुख जस्तो गरिमामय पद खाली राखेर प्रधानमन्त्रीले आफ्नै स्वच्छाचारी तरिकाले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश अत्यन्तै अलोकतान्त्रिक, संविधानको मर्म र भावना विपरीत रहेको छ ।’ तरुण दलद्वारा आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
साथै दलले उक्त अध्यादेश तरुन्त फिर्ता लिन तथा जारी अध्यादेशलाई टेकेर तत्काल कुनै पनि निर्णय नगर्न सरकारसंग माग गरेको छ । कांग्रेसले सरकारविरुद्ध आन्दालन तथा संघर्ष सुरु गरिसकेकाले अबका दिनमा आन्दोलनलाई अझै सशक्त बनाएर लैजाने समेत तरुण दलले जनाएको छ ।