काडमाडौं । किसानको उखुको रकम भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गर्ने सरकारले निर्णय गरेको छ ।
आज गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको बैठकले उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने तथा आनाकानी गर्ने चिनी मिल सञ्चालकहरुलाई पक्राउ गर्ने निर्णय गरेको हो ।
गृहमन्त्री बादल सहित संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठी, कृषिमन्त्री घनश्याम भुसाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट लगायतको सहभागितामा आज बसेको बैठकमा उखु किसानका समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा समेत छलफल भएको गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिएका छन् ।
चिनी मिल सञ्चालकले आफूहरुले खेती गरेको उखु खरिद गरे पनि बक्यौता रकम नदिएको भन्दै आइतबारबाट उखु किसानहरु सडकमा आन्दोलनरत छन् ।