लेखनाथ सामुदायिक सेवा केन्द्रमा सर्वसम्मत नयाँ नेतृत्व

लेखनाथ । लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाको सातौं अधिवेशनले त्रिलोचन लामिछानेको अध्यक्षतमा १३ सदस्यीय नयाँ नेतृत्वको चयन गरेको छ । समितिको उपाध्यक्षमा लक्ष्मीप्रसाद ढुंगाना, सचिवमा कृष्णप्रसाद अधिकारी, सहसचिवमा कमल बस्ताकोटी र कोषाध्यक्षमा गंगा खनाललाई सर्वसम्मत चयन गरेको हो ।

यसैगरी समितिको सदस्यमा सुरजजंग राणा, विनोद बहादुर थापा, शिवबहादुर रानाभाट, बुद्धिसागर पौडेल, बुद्धिमाया थापामगर, राजु अधिकारी, दिपकनाथ भण्डारी र गणेश प्रसाद ढुंगाना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक राममणि अधिकारीले जानकारी दिएका छन् ।

कोभिड १९ का बीच सुरक्षा सतर्कता अपनाउँदै शुक्रबार र शनिबार केन्द्रको चौधौं वार्षिक साधारण सभा तथा सातौं अधिवेशन सम्पन्न भएको हो । नेतृत्वको लागि विगतमा निकै रस्साकस्सी हुँदै निर्वाचन हुने सेवा केन्द्रमा यसपटक भने सर्वसम्मत नेतृत्व चयन भएको हो । नयाँ नेतृत्व सर्वसम्मत गराउन निर्वतमान अध्यक्ष रमेश ओझाको संयोजकत्वमा एक सहजीकरणका समिति बनेको थियो ।

सहमति र सहकार्यका साथ नयाँ नेतृत्व चयन भएमात्र केन्द्रको उद्देश्य प्राप्ती हुने भएकाले सर्वसम्मतका लागि प्रयास गरिएको निवर्तमान अध्यक्ष ओझाले बताए । निर्वाचननै भएको भए आउनैपर्ने साथी छुट्न सक्ने हुन सक्थ्यो, त्यसले संस्थाको उद्देश्य प्राप्तीमा सहजता हुँदैनथ्यो । ओझाले भने, ‘अनुभवी साथीसहित आएको सर्वसम्मत नेतृत्वले अझ प्रभावकारी काम गर्ने सवैले विश्वास लिएका छौं, यसले संस्थालाई थप गतिशिलता दिनेछ ।’ प्रहरीसँगको समन्वयमा विकृति र विसंगतीको अन्त्य गर्दै, समुन्नत समाज निर्माण गर्ने लक्ष्य लिएको संस्थामा झण्डै पाँचसय सदस्य रहेका छन् ।

कमेन्टहरु
Loading...