सबै तस्बिरः रासस
काठमाडौं । चिनी मिलका सञ्चालनहरुबाट उठाउन बाँकी रहेको रकम सरकारले उठाइदिने वाचा गरेपनि पुरा नगरेको भन्दै उँखु किसानहरुले आजबाट पुनः आन्दोलन सुरु गरेका छन् ।
गत वर्ष पुसमा भएको सम्झौतालाई कार्यान्वयन गर्न माग गर्दै सर्लाहीका उँखु किसानले आजबाट काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका हुन् । उनीहरुले आज माइतीघर मण्डलामा धर्ना दिएका छन् । माइतीघर मण्डलाको धर्ना तथा आन्दोलनबाट निकास ननिस्किएको खण्डमा सिंहदरबार तथा बालुवाटार समेत घेराउ गर्ने उनीहरुले चेतावनी दिएका छन् ।
धर्नामा उँखु किसान संघर्ष समितिका अध्यक्ष राम स्वायत राय, सचिव हरिश्याम राय लगायतका किसान सहभागी छन् ।
सरकारले आफूहरुसंग मिलले दिने बक्यौता रकम उठाइदिने प्रतिवद्धता व्यक्त गरेको भए पनि पुरा गर्न नसक्दा काठमाडौं केन्द्रित आन्दोलन गर्न बाध्य भएको किसानहरुले बताएका छन् ।
यसका साथै आन्दोलनरत किसानहरु बक्यौता रकम यथासीघ्र उठाइदिनुपर्ने माग सहित खेतीका लागि सरकारले समेत आफूलाई सहयोग गर्नुपर्ने बताएका छन् । आन्दोलनरत किसानहरुका अनुसार इन्दिरा, श्रीराम तथा अन्नपूर्ण मिलले बसैभन्दा धेरै पैसा दिन बाँकी रहेको छ ।