पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंसिर १३ गतेबाट सुरु भएको साधारणसभाका विभिन्न कार्यक्रमहरु आज सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका रजिष्ट्रार प्रेमप्रसाद ढकालले सहकारी विभागले जारी गरेको साधारणसभा सञ्चालन सम्बन्धी निर्देशन बमोजिम स्वास्थ्य मापदण्ड पुरा गरि सहकारीले कार्यक्रम सम्पन्न गरेकोमा खुसी व्यक्त गरेका छन् । मुलुकको आर्थिक समृद्धिका लागि सहकारीहरुको भूमिका महत्वपूर्ण हुने उनको भनाई थियो ।
यस्तै संस्थाका अध्यक्ष मे.तुलसी प्रसाद गुरुङले सहकारीका लागि सेयर सदस्यहरुको साथ, सहयोग तथा सल्लाहलाई आत्मसाथ गर्दै अगाडि बढ्ने बताएका छन् । यस वर्ष सदस्यलाई १०.५३ प्रतिशत शेयर लाभांश, संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यले बचतमा प्राप्त गरेको व्याजमा ३.५० प्रतिशत र ऋणमा तिरेको ब्याजको आधारमा ३.३० प्रतिशत प्रतिफल प्रदान गरिने उनले कार्यक्रममा जानकारी दिएका छन् ।
यसै गरि साधारणसभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले विशेष प्रस्ताव पेश गर्दा सभामा उपस्थित प्रतिनिधि एवं सदस्यले सर्वसम्मत रुपमा प्रस्ताव पास गर्ने निर्णय गरेका थिए ।
संस्थाका अध्यक्ष मे.तुलसी प्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष रुद्र कुमारी गुरुङले स्वागत तथा संस्थाका मुख्य प्रबन्धक मीलन ढकालले सञ्चालन गरेका थिए ।
कार्यक्रममा सहकारीले विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । सम्मानित हुनेमा उत्कृष्ट वर्ष कर्मचारी २०७६ बाट दुलेगौंडा सेवा केन्द्र प्रमुख सरस्वती भुजेल, उत्कृष्ट वर्ष सदस्यबाट सेयर सदस्य किसनकुमार खनाल तथा सरस्वती बराल पौडेल, उत्कृष्ट बाल बचतकर्ता सम्मानबाट सोफिया गुरुङ, उत्कृष्ट लघुवित्त केन्द्र पुस्कारबाट प्रथम पिपलथोक केन्द्र, दोस्रो लालीगुराँस केन्द्र र तेस्रो मेलमिलाप केन्द्र एवं उत्कृष्ट सुझावकर्ताबाट सेयर सदस्य राजकुमार अर्याल रहेका छन् ।