काठमाडौं । नेपालमा कोभिड–१९ निको दर बढेको पाइएको छ । विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो । बिहीबारको तथ्यांक अनुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ । विश्वमा ६ करोड ९२ लाख ५४ हजार ३ सय संक्रमित भएका अवस्थामा ४ करोड ८० लाख ९ हजार ४ सय ३७ जना निको भएका छन् ।
बिहीबारसम्मको तथ्यांक अनुसार नेपालमा २ लाख ४५ हजार ६ सय ५० संक्रमितमध्ये २ लाख ३१ हजार ६ सय १ जना निको भई घर फर्किसकेका छन् । नेपालमा कुनै समय ६०–६२ प्रतिशत मात्र कोभिड–१९ का संक्रमित निको भएका अहिले ९४ भन्दा बढी प्रतिशत पुगेको छ । विगत २ महिनाको तथ्यांक हेर्दा निको हुने दर ६८ प्रतिशतबाट बढेको देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा संक्रमितको उपचार सेवा राम्रो भएकाले निको दर बढेको बताए । ‘अहिले उपचार सेवा पनि राम्रो भएको छ ।’ उनले भने, ‘त्यसैले संक्रमितको निको हुने दर पनि बढेको हो ।’ गत असोज २८ गते ६८.८ प्रतिशत संक्रमित निको भएका छन् । यस्तै कात्तिक ९ गते ७०.६, कात्तिक १६ गते ७७.६ र कात्तिक २६ गते ८० प्रतिशत संक्रमित निको भई घर फर्केका थिए ।
यही मंसिर १९ गतेदेखिको तथ्यांक हेर्दा पनि संक्रमित दर बढेको पाइन्छ । मंसिर १९ गते ९२.९, २० गते ९३.४, २१ गते ९३.७, २२ गते ९४, २३ गते ९४.१ र २४ गते ९४.३ प्रतिशत संक्रमित निको भएका छन् । बिहीबार मात्र मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ९४.२ प्रतिशत संक्रमित निको भएका छन् । सो दिन १ हजार ६४ जना निको भई घर फर्किएका थिए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले उपचार पद्धति अन्य मुलुकको जस्तो भए पनि अहिले लक्षण नभएका संक्रमित घरमै बसेर निको हुने गरेको बताए । उनले परीक्षण नै कम भएकाले संक्रमित पनि कम हुने भएकाले निको हुने दर बढेको जिकिर गरेका छन् ।
सशस्त्र प्रहरी बल अस्पतालका डा प्रवीण नेपाल परीक्षण नै कम भएर संक्रमणको दर पनि कम देखिनाले निको हुनेको संख्या बढेको बताउँछन् । ‘अहिले लक्षण नभएका संक्रमित घरमै बसेर आफैं निको हुने गरेका छन् ।’ उनले भने, ‘अस्पताल आएर उपचार गराउनेको संख्या पनि कम हुँदै गएकाले निको दर बढेको हो ।’
मृत्युदर कम
यस्तै नेपालमा विश्वका तुलनामा ज्यान गुमाउनेको दर पनि कम छ । पछिल्लो तथ्यांकमा नेपालमा संक्रमितमध्ये ०.६७ प्रतिशत मात्र ज्यान जाने गरेको पाइएको छ । प्रतिदश लाखमा ५६.५ जनाको मात्र ज्यान जाने गरेको छ । नेपालमा अहिलेसम्म १ हजार ६ सय ६३ जनाको संक्रमणका कारणले निधन भइसकेको छ । विश्वमा २.३ प्रतिशत संक्रमितको कोभिड–१९ का कारणले ज्यान जाने गरेको पाइएको छ । विश्वमा १५ लाख ७६ हजार ८५ जनाको संक्रमणको कारणले निधन भएको छ । रासस