काठमाडौं । बालुवाटारमा बसेको सर्वदलीय बैठक सकिएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले राजावादीहरुको प्रर्दशन बढ्दै गएको, नेत्रविक्रम चन्द नेतृत्वको माओवादीको सक्रियता बढ्दै गएको तथा विभिन्न राजनीतिक परिस्थितिका विषयमा छलफल गर्न भन्दै आजका लागि सर्वदलीय बैठक आह्वान गरेका थिए ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपा नेता दीपक बोहोरा लगायतका नेताहरु सहभागी उक्त बैठक ३ घण्टा बसेको स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीले बैठकमा हाल मुलुक तथा सडकमा भइरहेको संविधान विपरीतका कार्यलाई रोक्न एकजुट हुनुपर्नेमा जोड दिएका थिए । कोभिड १९ को रोकथाम, प्राप्त उपलब्धी तथा हिंसात्मक गतिविधिलाई रोक्न सबै दल एकजुट हुनुको विकल्प नभएको उनले बैठकमा बताएका छन् ।
बैठकमा नेपाली कांग्रेसले सरकार संविधान अनुसार चल्न नसकेको भन्दै सडकमा अहिले भइरहेको प्रर्दशनलाई लिएर सरकारप्रति असन्तुष्टी प्रकट गरेको छ । काग्रेसले सरकार सच्चिएको खण्डमा कुनै गलत प्रवृत्ति सफल हुन नसक्ने धारणा व्यक्त गरेको हो ।
बैठक पश्चात राप्रपा नेता दीपक बोहोराले आफूहरुले कोरोना भाइरस संक्रमणको न्युनीकरण गर्न असफल भएको धारणा राखिएको बताएका छन् । उनले नेपालमा भइरहेको सडक आन्दोलनलाई रोक्न के गर्ने भन्ने विषयमा भने कसैले आफ्ना धारणा नराखेको बताएका छन् ।