प्रशासनको चेपुवामा दोहोरी व्यवसाय, खोल्न नदिए आन्दोलनमा उत्रने चेतावनी

गन्थन डेस्क

पर्यटन र मनोरन्जन क्षेत्र जताततै खुलेपनि दोहोरी व्यवसायमाथि अझै निषेध गरिएपछि कास्कीका व्यवसायीहरु दोहोरी खोल्ने योजनामा छन् ।
दोहोरीसँग सम्बन्धित संस्थाहरुले आज पोखरामा पत्रकारसँग भेटघाट गर्दै अन्य व्यवसायलाई खुल्ला गर्दा आफुहरुलाई भने सौतेनी व्यवहार गरेको भन्दै प्रशासनसमक्ष रोष प्रकट गरेका छन् ।

मंसिर १५ गते नै मुख्यमन्त्री र जिल्ला प्रहरी कार्यालयबाट स्वीकृति लिएर दोहोरी रेष्टुरेन्ट खोलेपनि साँझ प्रहरी अधिकृतले बन्द गर्न निर्देशन दिएपछि व्यवसाय पुनः ठप्प रहेको उनीहरुले बताएका छन् ।

दोहोरी खुलाउने कि नखुलाउने भन्नेबारे प्रमुख जिल्ला अधिकारी र मुख्यमन्त्रीको मत बाँझिदा दोहोरी व्यवसाय चेपुवामा परेको हो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दोहोरी खोल्न भनेपनि प्रजिअले संघीय सरकारको निर्देशन चाहिने भन्दै व्यवसाय खोल्न रोकेका छन् ।

पोखराबाहेकका प्रमुख सहर र लेकसाइडमा व्यवसाय निर्वाध चलिरहे पनि पोखराका दोहोरीहरु खोल्न प्रहरीले अवरोध गरेका छन् । व्यवसायीहरुले यही २५ गतेदेखि दोहोरी खोल्न नदिए आन्दोलनमा उत्रने चेतावनी दिँदै सरकारसँग व्यवसाय खुला गरिदिन आग्रह गरे ।

यसक्षेत्रमा आबद्ध पोखरा लोकदोहोरी रेष्टुरेन्ट व्यवसायी संघ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी र कास्की च्याप्टर, सांगीतिक कलाकार संघले संयुक्तरुपमा व्यवसाय खुला गर्न माग गरेका हुन् ।

कमेन्टहरु
Loading...