काठमाडौं । स्थायी समितिको अर्को बैठक मंसिर २८ गते बस्ने निर्णय सहित पार्टी कार्यालय धुम्बाराहीमा बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सकिएको छ ।
बैठक पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको थियो । प्रधानमन्त्री समेत रहेका पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा भएपनि बसेको बैठक करिब डढे घण्टामा सकिएको हो ।
बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले मात्र सम्बोधन गरेका थिए । प्रचण्डले बैठकमा अहिले नेकपामा देखिएको संकटलाई सकारात्मक रुपमा समाधान गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री समेत रहेका पार्टीका अध्यक्ष ओलीसंग संवाद गरेर अगाडि बढ्ने उनको भनाई थियो ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली बैठकमा सहभागी नभए पनि उनले सम्बोधनपत्र पठाएका थिए । पार्टीका सचिवालय सदस्य ईश्वर पोखरेलले पढेर सुनाएको उक्त पत्रमा ओलीले आफ्नो पुरानै अडान दोहो¥याएको बताइएको छ ।
अर्का अध्यक्ष प्रचण्डको प्रस्ताव पार्टी कमिटीमा छलफल गर्न योग्य नभएको उनले दोहो¥याएका हुन् ।
कडा सुरक्षाको घेरामा बसिएको पार्टीको बैठकमा ४५ जना स्थायी समिति सदस्य सहभागी बनेका थिए । नेकपामा ५ जना आमन्त्रित तथा ४४ जना स्थायी समिति सदस्य रहेका छन् । पार्टीको केन्द्रीय कमिटीको बैठक आगामी पुस ५ गते बस्ने बताइएको छ ।