साझा अब संवृद्धि, सुशासन, सामाजिक न्याय र स्वाभिमानको केन्द्र बिन्दुः नेता परियार

 

पत्रकारिता,मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा विशिष्ट परिचय वनाएका प्रकाशचन्द्र परियार साझा पार्टीको संस्थापक मध्येका एक नेता हुन्। भ्रष्टाचार विरोधी छवी बनाएका युवा नेता परियारलाई शालिन नेताको रुपमा पनि सम्बोधन गरिन्छ । साझा पार्टीका नेता प्रकाशचन्द्र परियारसंग हामीले ५ प्रश्न सोधेका छौं, प्रस्तुत नेता परियारसंगको संवाद हाम्रो नियमित स्तम्भमा ।

 

तपाँईहरुले उठाँउदै आएको इमानको राजनीति गर्न नेपालमा सम्भव रहेछ त ?

‘इमान, जमान, क्षमता, सन्तुलन र जनमुखी राजनीतिको अत्यावश्यकता देखेरै हामीले सुसंस्कृत राजनीति, समतामूलक संवृद्धि’को मूल नाराका साथ राजनीतिमा ओझेलमा पारिएको इमान, निष्ठा, त्याग समर्पण र सहिष्णुताको अभ्याससंगै मुलुकमा सुशासन,संवृद्धि र सामाजिक न्याय सहितको नयाँ पुस्ताको राजनीतिको जग बसाएका हौं।

राजनीति आफैमा खराब होइन, पात्र, प्रणाली र प्रबृत्तिका कारण खराब बनाईएको हो त्यसलाई सुधार गर्न सकिन्छ भन्ने विश्वास र हिम्मतका साथ हामीले पोलिटिक्स मात्रै होइन ‘ पोलिटी’नै सुधार गर्न अभ्यास गरिरहेका छौं।

इमानको राजनीति भन्नु हुन्छ तर पनि जनता तपाँईहरुसंग अझै किन आकर्षित हुन नसकेका होलान् ?

जनता सचेत छन, हामीलाई नजिकबाट नियालीरहेका छन। अझ बढी मेहनतका साथ अघि आउन, बृहत्तर संगठन फैलाउन, परम्परागत दलहरुको संरचनालाई चुनौति दिउन, बेथिती, भ्रष्टाचार, गरिबी र विभेदवाट मुक्त गराउन भन्ने चाहना राखेर बसेका छन। हामीले उनीहरुकै चाहना बमोजिम काम गर्ने, खबरदारी गर्ने र जनताका आवाजलाई घन्काउनै काम गरिरहेका छौं।

जनताको आकर्षण बढिरहेको छ, त्यसलाई संस्थागत गर्ने रणनीतिक अभ्यासमा पहिलो चरणको सफलता हामीले हात पाकिसकेका छौं। अझ परिणाममुखी, आक्रामक र जनप्रिय एजेण्डा सहित हामी आँउदैछौं त्यसले हाम्रो अभियानलाई धेरै माथि उठाउने छ, अझ भनौं जनलहर श्रृजना गर्ने छ।

साझा पार्टी र विवेकशील पार्टीको एकता प्रयास कहाँ पुग्यो ?

हामीले एउटै सोच, शैली, सिद्धान्त र जग भएका पार्टी, अभियान र सार्वजनिक व्यक्ति र ब्यक्तित्वहरुलाई जोड्ने कामलाई तिब्रता दिईरहेका छौं। सोही बमोजिम विवेकशील दलसंगको एकीकरणको पाटो पनि लगभग घोषणाकै चरणमा पुगेका छौ। एकीकरणको खुशी चाँडै बढ्नेमा ढुक्क भए हुन्छ। एकीकरणप्रति नेपाली नागरिकहरुको पर्खाईको घडी अब पला पलामा आईपुगेको छ।

तपाइहरु सरकारको ठूलो विरोधीको रुपमा अघि बढिरहनु भएको छ। ओली सरकारको चर्को विरोधी भएर मात्रै साझा पार्टी अघि बढ्न सक्छ र ?

हामी सरकारको विरोधी भन्दा बढी आलोचक हौं। सरकारको जनविरोधी कदमको खुलेर आलोचना गर्ने, जनतालाई सचेत गराउने र आफ्ना जनहितकारी एजेण्डालाई स्थापित गराउने कार्यक्रमसहित निरन्तर खबरदारी गर्ने दायित्व हाम्रै काँधमा आएको छ ।

त्यसैले कतिपय विश्लेषकहरुले प्रमुख प्रतिपक्षले उठाउन नसकेको, बोल्न नसकेको र खोतल्न नसकेको काम प्रतिपक्षी बेन्चबाट साझा पार्टीले गरिरहेको छ भनेर हामीलाई स्याबासी दिएका छन्।

विगतको कुशासन र बदनामीका कारण परम्परागत दलहरुले उच्चारण गर्न नसक्ने आवाजहरुलाई हामीले खुला रुपमा उठाईरहेका छौं। हाम्रो निरन्तर खबरदारी, स्वस्थ आलोचना र जनमुखी प्रश्नहरुले सत्तापक्षलाई मात्रै होइन प्रमुख प्रतिपक्षलाई समेत झकझकाएको छ, सोच्न वाध्य वनाएको छ र सच्चिनका लागि ऐना देखाएको छ, तर के गर्नु कुकुरको पुच्छर बाह्र वर्ष ढुंग्रोमा राखे पनि जस्ताको तस्तै हाल छ उनीहरुको त्यसैले त हाम्रो माग उच्च छ, मैदान मलिलो छ।

नेपालमा फेरि राजा चाहियो भन्दै सडकमा जनताहरु उत्रन थालेका छन, के गणतन्त्र यति कमजोर जगमा छ ?

शासन सत्तामा जनसेवकहरुको बाहुल्यता हुनुपर्नेमा नवशासकहरुको कुकृत्यको हालीमुहालीले गर्दा नयाँ ब्यवस्थाको अभ्यासको १ दशक पछि नै केही ब्यवस्था विरोधी आवाजहरु सडकमा छचल्किन थालेको हो।

गणतन्त्र कमजोर जगमा छैन। हामीले वर्षौदेखि लोकतान्त्रिक अभ्यास गरिरहेका छौं, यसलाई अझ विपन्नमुखी, सहभागितामूलक र प्रत्यक्ष लोकतन्त्रको अभ्यासमा फैलाउन नसकिएकै हो। नवयुवराजहरु, नवमहाराजहरु, छोटे राजाहरु, श्रीपेचविनाका राजाहरुलाई पनि फाल्ने तागत गणतन्त्रमा जनताकै छ।

फेरि पनि लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हो, सामेली लोकतन्त्र हो, राजा होइन साझा हो ।

प्रस्तुतीः दिपक के श्रेष्ठ

कमेन्टहरु
Loading...