मुलुक समृद्धि र उत्पादनतर्फ अगाडि बढेको छ : पूर्वसञ्चारमन्त्री बाँस्कोटा

काठमाडौं ।  पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले अधिकारको लडाइँ सकिएकाले अब समृद्धि र उत्पादनको निम्ति मुलुक अगाडि बढिरहेको बताएका छन् ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको ‘सातौँ नगरपालिका स्थापना दिवस’ कार्यक्रममा उनले त्यसका लागि जनताले नेकपालाई स्थानीय तहदेखि प्रदेश हुँदै सङ्घसम्म पर्याप्त अवसर र मौका दिएको बताए ।

त्यसलाई पूर्णता दिनका लागि अगाडि बढ्नुपर्ने बेलामा पार्टीभित्र यदुवंशीको तरिका निकालेर एकले अर्कालाई नाङ्गै बनाउने गरी जाने कुरा भएकामा त्यसप्रति आफ्नो असहमति रहेको उनको भनाइ थियो । अहिले देखिएको विवाद विवादका लागि मात्रै नभएर युगको दायित्व बुझ्न र शहीदको रगत, जनआन्दोलनका घाइतेहरुको घाउ, पीडाको चित्कार सम्झँदै समग्र जनताको सपनालाई साकार पार्नका लागि राष्ट्रिय स्वाधीनता र स्वतन्त्रा सम्झेर युगीन अभिभारालाई पूरा गर्न सबै एक भएर लाग्नुपर्नेमा उनले जोड दिए ।

सो क्रममा उनले समाजवाद लागू भयो कि भएन भन्ने विषयमा नभएर त्यसतर्फ उन्मुख छ कि छैन भन्ने बहस मात्रै गर्न उनले नेतृत्वलाई आग्रह गरे ।

“समाजवादी क्रान्ति सम्पन्न भइसकेका मुलुकको तुलनामा हामी पूँजीवादी जनवादी क्रान्ति सन्पन्न गरियो भन्ने अवस्थामा देशले समाजवादोन्मुख अर्थतन्त्र, त्यसको उत्पादन सम्बन्ध र वितरण प्रणालीतर्फ हामी कहाँ छौँ र कति गरिरहेका छौँ भन्ने बुझ्न आवश्यक छ”, उनले भने।

आफ्नो शक्ति र महत्व बुझ्न नसकेर उज्यालोबाट अन्धकारतिर जान खोज्नु शक्ति छिन्नभिन्न बनाउने र देशमा केही हुन्छ भन्ने आशा, विश्वास र भरोसालाई धरासायी बनाउने खालको गल्ती गर्दै त छैनौँ भन्ने प्रश्न गर्दै उनले नेतृत्व तहमा भएको विवादप्रति इङ्गित गर्दै भने, “कुनै कमजोरीका निम्ति एउटा सिङ्गो पार्टीमा कुनै एउटा पक्षलाई मात्रै मूल जिम्मेवार बनाएर हमला नगरौँ ।” त्यसरी गरेको हमला आफ्नै घुँडामाथिको कडा बञ्चरो हुनसक्ने भएकाले त्यसतर्फ नेतृत्वले सोच्न उनले सुझाव दिए ।

कार्यक्रममा उनले नगरपालिकाले बाटो, खानेपानी, स्वास्थ्य, शिक्षा, पुललगायतका भौतिक संरचना निर्माण गर्ने एउटा काम सकेकाले अब कुन ठाउँमा घर बनाउने र कुन ठाउँमा उत्पादनका लागि खेतीयोग्य ठाउँ बनाउने तथा कुन ठाउँलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने भन्ने कुराका योजना बनाएर अगाडि बढ्न आवश्यक रहेकाले त्यसतर्फ अगाडि बढ्न सुझाव दिए। त्यससँगै सडक पूर्वाधार निर्माण गरिसकेको अवस्थामा अब विपी राजमार्गले दिनसक्ने लाभबाट रोजगारी के सिर्जना गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिँदै त्यसतर्फ योजना बनाएर अघि बढ्नसमेत उनले नगरपालिकाको नेतृत्वलाई सुझाव दिए ।

कार्यक्रममा सांसद गङ्गाबहादुर तामाङले नेकपाको दुईतिहाइको सरकारले केही पनि गरेको छैन भन्ने बजार हल्ला विपक्षी दलले अत्तालिएर गरेको भ्रामक प्रचार मात्रै भएको बताउँदै विकासका पूर्वाधार निर्माण भइसकेकोबताए। पूर्वमन्त्री रेशम लामाले नगरपालिकाको नेतृत्वले जस्तोसुकै विवादको विषयलाई पनि सामना गरेर इँटाभट्टा हटाउनेदेखि अन्य विकास निर्माणका काममा मोलेको चुनौतीका कारण आज भौतिक विकासले फड्को मारेको बताए ।

कमेन्टहरु
Loading...