बडिबिल्डिङमा प्रतियोगिता, प्रशिक्षण र अवसरको खाँचोः थापा

साढे २ दशक अघि भारतको मुम्बइबाट बडिबिल्डिङ सुरु गरेका राजुकुमार थापा हाल कास्की बडिबिल्डिङ एण्ड फिटनेश एशोसियसनका अध्यक्ष हुन् । देशकै प्रतिष्ठित धर्मश्री शारीरिक सुगठन प्रतियोगितामा २ पटक प्रतिष्पर्धा गरेका थापा कबड्डीका राष्ट्रिय खेलाडी हुन् भने हाल जिल्ला कबड्डी संघ कास्कीमा सचिवको जिम्मेवारीमा रहेका छन् ।

बडिबिल्डिङ प्रतियोगिताको राष्ट्रिय निर्णायक रहेका थापा पोखरा १४ मा रहेको मेरो नेपाल युवा क्लबका पूर्वअध्यक्ष समेत हुन् । समाजसेवा र खेल क्षेत्रमा विशेष रुचि राख्ने उनै थापासँग फिटनेश र बडिबिल्ङिबारे गन्थनको ५ प्रश्नः

पोखरामा फिटनेश व्यवसायको वर्तमान अवस्था कस्तो छ ?
– वर्तमान परिवेशमा पोखरामा अन्तर्राष्ट्रियस्तरका जिम सेन्टर खुलेका छन् । पुरुष, महिला दुबैको आकर्षण बढिरहेको छ । आम मानिसदेखि अन्य खेलमा आबद्धहरुले पनि जिम, फिटनेशलाई प्राथमिकता दिएको पाइएको छ । अझ, कोरोना संक्रमणकाबेला स्वास्थ्यलाई बढी महत्व दिइएकाले पनि पोखरामा फिटनेश व्यवसाय र व्यवसायीको ग्राफ बढ्दो छ ।

 

पोखराको फिटनेशमा कूल लगानी कति होला ?
– कास्कीमा दर्ता भएका करिब साढे ३ दर्जन जिम, फिटनेश छन् । करिब १ अर्ब रुपैयाँ लगानी भएको एशोसियसनको तथ्यांक छ भने ४ सयको हाराहारीमा रोजगार छन् ।

 

सबैको लगानी सुरक्षित हुनसक्छ ?
– पोखराको हकमा अझै जिम हाउसको आवश्यकता छ । हालसम्म सञ्चालनमा रहेका जिम, फिटनेश सेन्टरले लगानी डुब्ला भनेर चिन्ता लिनु पर्दैन । स्तरीय सेवा र सामग्री उपलब्ध गराई व्यवसाय सुरु गर्ने हो भने अझै बढी लगानी पनि सुरक्षित छ ।

 

फिटनेशसँग सम्बन्धित २ संस्था किन ?
– नेपालमा इन्टरनेशनल फेडेरेसन अफ बडिबिल्डिङ एण्ड फिटनेश (आइएफबीबीएफ)को नेपाल शाखा ‘नेप्लीज फेडेरेसन अफ बडिबिल्डिङ एण्ड फिटनेश’ र वल्र्ड बडिबिल्डिङ फेडेरेशनसँग आबद्ध ‘नेप्लीज बडिबिल्डिङ फेडेरेशन’ रहेका छन् । केही प्राविधिक र केही संस्थागत तालमेल मिल्न नसक्दा दुईवटा संस्था भएका हुन् ।

यद्यपि, दुबै संस्थाको लक्ष्य भनेको नेपालको बडिबिल्डिङ र फिटनेशको क्षेत्रलाई उँचाइमा पु¥याउनु नै हो । हामी यथाशक्य चाँडो एउटै संस्था हुने प्रयासमा छौं ।

 

कोरोना कहरमा सरकारसँग एशोसियसनको अपेक्षा के छ ?
– पक्कै पनि सबै व्यवसायमा असर पारेको छ । जसकारण सरकारसँग केही आर्थिक सहुलियतको आशा गर्नु स्वभाविक हो । सरकारले बैंक तथा वित्तीय संस्थाबाट उपलब्ध गराउने ऋणमा पहुँच पु¥याइयोस् भन्ने हो । राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीलाई सरकारले आर्थिक एवं अन्य सहयोग गर्नु आवश्यक छ ।

उचित प्रशिक्षण, बीमा साथै अवसर उपलब्ध होस् भन्ने हाम्रो माग हो । मुख्य कुरा त प्रतियोगिताको आयोजना भइरहनु प¥यो । सबै नागरिकलाई स्वस्थ राख्ने सरकारको जिम्मेवारी भएकाले पैसा तिरेर जिम धाउन सक्ने बाहेकका नागरिकलाई स्थानीय सरकारले वडावडामा फिटनेश सेन्टरको स्थापना गर्न सके देशकै लागि फाइदामूलक हुनसक्छ ।

प्रस्तुतीः दिपक के श्रेष्ठ

कमेन्टहरु
Loading...