वर्षदिनमा सरकार फेर्न बानी परेकाहरुलाई छट्पटी भयो : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान अवस्थामा जनताको रुचि मन्त्री वा प्रधानमन्त्री फेर्नेमा नभएको बताएका छन् ।

उनले वर्ष–वर्षदिनमा सरकार फेर्न बानी परेकाहरुलाई सरकार फेर्न छट्पटी भएको उल्लेख गर्दै यो खेलमा लागेर जनतालाई पीडा नदिन आग्रहसमेत गरे ।

सत्यवती गाउँपालिकाको अश्लेवामा आज खानेपानी योजनाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले नेकपामा केही समयदेखि देखिएको विवादमाथि टीप्पणी गर्दै जनताले वर्तमान सरकारबाट रोजेको मुख्य कुरा रिजल्ट, डेलिभरी र आउटपुट रहेको बताए ।

वर्तमान अवस्थामा कोही पनि निराशाका सन्देशबाट विचलित नहुने आग्रह गर्दै उनले देश समृद्धिको याज्ञामा अघि बढेको उल्लेख गरे ।

सरकारले गरेका राम्रा कामका बारेमा चर्चा नगरेर नकारात्मक कुरा गरेर टिप्पणी गर्नुभन्दा रचनात्मक सुझाव दिनसमेत दलहरुलाई उहाँले आग्रह गरे ।

उनले सरकार परिवर्तन हुन्छ भन्ने बजार हल्ला निराधार भएको उल्लेख गर्दै जनताले बाहेक बाहिरबाट सरकार परिवर्तन गर्ने खेल घातक हुने चेतावनीसमेत दिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले सरकार जनताका न्यूनतम आवश्यकता पूरा गर्दै ठूलाठूला पूर्वाधारका काममा अघि बढेको उल्लेख गरे ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको रु एक करोड ९६ लाख ४२ हजार ७९८ लागतमा अस्लेवामा खानेपानी सम्पन्न भएको छ ।

दुई वर्षको अवधिमा निर्माण सम्पन्न भएको यो आयोजनाले अस्लेवाका १९४ घरमा ‘एक घर एक धारा’ पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनीयर प्रकाश न्यौपानले बताए ।

कमेन्टहरु
Loading...