काठमाडौं । सरकारविरुद्ध पुनःउत्थान तथा प्रतिक्रियावादीहरुले टाउको उठाउन खोजेको भन्दै सरकारले राजावादीहरुको जुलुस तथा अन्य कार्यक्रममा सहभागी नहुन आग्रह गरेको छ । केही दिन यता देशमा लगातार राजावादीहरुको जुलुस तथा प्रर्दशन लगायतका कार्यक्रम नियमित हुन थालेपछि यो विषयमा सरकारले मुख खोलेको हो ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजना हुने नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सुचना प्रविधिमन्त्री पार्वत गुरुङले यस्ता विभिन्न जुलुस तथा प्रर्दशनका कार्यक्रमले समाजमा भ्रम छर्ने काम भइरहेको बताएका छन् ।
विकसित नेपाल तथा समृद्धिका लागि अहिलेको सरकार दत्तचित्त भएर लागिरहेको बताउँदै उनले जनता भड्काउने काम भइरहेको बताए । लोकतन्त्र तथा संवैधानिक प्रणालीविरुद्ध केही शक्ति लागिपरेको उनको भनाई थियो ।
पत्रकार सम्मेलनमा मन्त्री गुरुङले ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको प्रतिवेदनलाई समेत सरकारले स्वीकार नगर्ने उनले स्पष्ट पारेका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन २०२० ले नेपालमा प्रधानमन्त्री नै भ्रष्टाचारीहरुको संरक्षणमा उत्रिएको उल्लेख गर्दै प्रतिवेदन सार्वजनिक गरेको थियो ।
यो प्रतिवेदन तथ्यका आधार सार्वजनिक नभएको उनले बताएका छन् । मन्त्री गुरुङले सकार विरोधी, सरकारले गरेका राम्रा कामहरु देख्न नसक्ने र मुलुकको विकास हेर्न नचाहनेलाई सोधेर यो प्रतिवेदन तयार पारिएको बताएका थिए ।