के टर्ला त नेकपाको साढे शनिको दशा ?

सौगात पोखरेल

नेपाल कम्युनिस्ट पार्टीमा यतिबेला विवादले चरम रुप लिएको छ । नेकपाको विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राजदुत यान्छी कम्मर कसेर लागि परेका छन् । तर नेकपा फेरी एक भई अगाडि बढ्ने कुरामा भने शंका पैदा भएको छ । ओली र दाहालबीचको विवादले चरम रुप लिएको छ ।

ओली र नेपाल खेमाका नेता कार्यकर्ताको बीचमा हिलो छ्यापाछ्याप भइरहेको छ । कार्तिक २८ मा बसेको सचिवालयको बैठकमा उपस्थित हुन आनाकानी गरिरहेका केपी शर्मा ओलीले अन्ततः बैठकमा सहभागिता जनाएका थिए । बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावलाई आरोपपत्र भन्दै ओलीले थप नयाँ प्रस्ताव पेश गर्ने सहमतिसहित बैठक मंसिर १३ सम्मको लागि स्थगन भएको थियो ।

आज बस्ने नेकपा सचिवालयमा प्रस्तुत हुने ओलीको प्रस्ताबले नेकपा फुट्छ कि फुट्दैन भन्ने कुराको निक्र्यौल गर्ने विष्लेशकहरुले बताएका छन् । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीले आफ्नो केही गल्ती स्वीकार गरेर नयाँ आधारमा नयाँ एकता पैदा गर्ने गरि प्रस्ताव लिएर आउँछन् वा मेरै गोरुको बाह्रैटक्का गर्ने गरि प्रस्ताव लिएर आउँछन्, त्यो भने हेर्न बाँकी नै छ ।

विवाद मथ्थर हुने गरि प्रस्ताव आउने सम्भावना भने अत्याधिक न्युन छ । नेकपाका अर्का अध्यक्ष प्रचण्डको प्रस्तावले ओली सरकारलाई पूर्ण असफल सरकार भनेर घोषणा गरेको छ । त्यो प्रस्तावका विपक्षमा आउने ओलीको प्रस्तावले सरकारको रक्षा गर्नुपर्ने छ । त्यसका अलवा प्रचण्डको प्रस्तावले लगाएका आरोपहरुलाई खण्डन पनि गर्नुपर्ने छ । त्यसकारण आज बस्ने भनेको नेकपा सचिवालयको बैठक झन् पेचिलो बन्ने सम्भावना छ ।

विवाद समाधान भएन भने पार्टी कमिटीमा भएको बहुमतको बलमा प्रचण्ड समूहले ओलीलाई सरकारबाट फिर्ता बोलाउने प्रस्ताव पेश गर्न सक्नेछ । उनी त्यसो गर्दा पनि सरकारबाट फिर्ता भएनन् भने अविश्वासको प्रस्ताव लिएर संसदमा जानुपर्ने छ । त्यसका लागि प्रचण्ड, नेपाल, खनाल, गौतम र श्रेष्ठ समूहले हरेक कमिटीमा बहुमत पु¥याउन पर्नेछ ।

यता अर्का अध्यक्ष केपी शर्मा ओलीले भने दाहाल समूहको काउण्टरमा संसद विघटन गरेर अध्यावधि निर्वाचनको घोषणा गर्नुपर्ने छ । पार्टी विभाजनको अध्यादेश ल्याएर पार्टी विभाजन गरि कांग्रेस वा अन्य दलसँग मिलेर सरकार बनाउनु पर्नेछ ।

त्यसका अलवा ओलीले सचिवालयको बैठकलाई केही समय अल्झाउने गरि आफ्नो कार्यकाल थपिरहने योजना बनाउनु पर्नेछ । अहिलेको सचिवालय बैठकमा ओलीले गर्ने प्रस्तावले पार्टी कमिटीको बैठकलाई लम्ब्याउने र आफ्नो सरकारको आयुलाई बढाउने कुरालाई विशेष प्रामिकता दिने देखिन्छ । वा विवादले चरम रुप लिएको खण्डमा ओलीले पार्टी अध्यक्षबाट राजिनामा दिएर २ वर्षको लागि सरकारको मात्र जिम्मेवारी लिने कुरा पनि राख्न सक्छन् ।

ओलीले यस्तो गरेको खण्डमा दाहाल समूह पनि राजी हुने र मन्त्रिमण्डलमा आँफू निकट समूहको धेरै सहभागिता गराउने कुरामा ध्यान बढाउन सक्नेछन् । ओलीले अलि लचक भएर प्रस्ताव पेश गरेको खण्डमा तत्काल त नेकपा विभाजन रोकिन सक्छ । तर अबको निर्वाचनमा पार्टीभित्र नै हुने अन्तरघातको कारण नेकपाको आयतन खुम्चने कुरा भने निश्चित हुने छ ।

यता दाहाल केही समयबाट कडा रुपमा प्रस्तुत भएको भए पनि उनको समूहमा दाहालप्रति केही आशंकाहरु भने पैदा भएका छन् । उनले कहिले कोसँग गएर के सम्झौता गरिदिन्छन् भने भर नरहेको जानकारहरु बताउँछन् ।

अहिलेको सन्दर्भमा ओलीसँग पार्टी कमिटीमा र संसदीय दलमा बहुमत हुन्थ्यो भने पार्टी विभाजन भइसक्थ्यो । उनीसँग बहुमत नहुँदा पार्टी विभाजन रोकिएको छ । अहिले पार्टी विभाजन गर्दा पार्टीको चुनाव चिन्ह सूर्य नपाउने हुँदा ओली समूहले एकता जोगाउने खालको प्रस्ताव लिएर आउने र तत्काल नेकपाको विवाद मथ्थर पार्ने योजनामा ओली रहेको विश्लेषकहरु बताउँछन् ।

कमेन्टहरु
Loading...