पोखरा, २५ मंसिर/पशुबाट मानिसमा सर्ने र मानिसबाट पशुमा सर्ने रोगको निवारणका लागि स्वास्थ्य उपचार र सरसफाईलाई विशेष ध्यान दिनुपर्ने विशेषज्ञहरुले बताएका छन् । यस्ता सरुवा रोगका कारण ठुलो विपत् आउन सक्ने औँल्याउँदै उनीहरुले यसका लागि सावधानी अपनाउन जरुरी रहेको बताए ।
कास्कीको सल्यान गाविसको शितला सामुदायिक माध्यामिक विद्यालयमा भएको सचेतना कार्यक्रममा जुनुटिक रोग सम्बन्धि जानकारी गराउँदै विशेषज्ञहरुले यस्तो बताएका हुन् । पशुबाट मानिसमा सर्ने र मानिसबाट पशुमा सर्ने रोगलाई जुनुटिक रोग भनिन्छ । लुम्ले क्षेत्रिय कृषि अनुसन्धान केन्द्र र जुनुसिस कन्ट्रोल परियोजनाको संयुक्त आयोजनामा भएको कार्यक्रममा विद्यार्थी र शिक्षकहरुलाई विशेष प्रशिक्षण समेत दिईएको थियो ।
रेविज, वर्डफ्लु, ट्युबरक्लोसिस, ब्रुसियोलोसिस, साल्मोनिलोसिस, लेप्टोस्पाईरोसिस लगाएतका रोगहरु मानिस र पशु दुवैमा विभिन्न माध्यमबाट सर्ने रोगहरु हुन् । ‘यस्ता रोगहरुको बारेमा पुर्व सावधानी अपनाउनु आवश्यक छ ।’ सचेतना कार्यक्रममा बोल्दै वरिष्ठ कृषि वैज्ञानिक यमुनाकुमार श्रेष्ठले भने–‘वातावरण सरसफाई र नियमित स्वास्थ्य जाँच नै यसभित्र पर्छन् ।’ मानिस र पाल्तु पशुको हकमा सरसफाई र स्वास्थ्य चेकजाँच आवश्यक रहेको उनले बताए ।
पशुचिकित्सक डा.निरज बाँस्कोटा, वरिष्ठ अधिकृत केशव ढुंगाना, निलकण्ठ चापागाँई, पवन मल्ल लगाएतले विद्यार्थी तथा शिक्षकहरुलाई यो रोगको बारेमा जानकारी दिएका थिए । उनीहरुले रोगको लक्षण, उपचार विधि र होशियारीको बारेमा समेत उनीहरुलाई सुझाएका थिए । कार्यक्रममा विद्यालयका पचास विद्यार्थी सहित अन्य शिक्षकहरुको सहभागिता रहेको थियो ।
विशेषज्ञहरुका अनुसार जुनुटिक रोग लागेका जनावरको सम्पर्कमा रहँदा, जनावरले टोकेको खण्डमा, उनीहरुको मासु खाँदा, दुध पिउँदा विशेष ध्यान दिनुपर्ने हुन्छ । पिसाबबाट पनि यस्ता रोगहरु सर्छन् भने पाल्तु जनावरहरुलाई जंगली जनावरको प्रत्यक्ष पहुँचबाट बचाउन सबैभन्दा जरुरी हुन्छ । यस्ता रोग लागेको खण्डमा मानिस र पशुको मृत्यु समेत हुन सक्ने विशेषज्ञहरुले बताएका छन् ।