पोखरा । कास्कीको प्रसिद्ध पर्यटकीय गन्तव्य मर्दी हिमाल पुग्न नयाँ पदमार्ग बनाउन थालिएको छ । गण्डकी प्रदेश सरकारको १० लाख र जनसहभागिताबाट १ लाख गरी ११ लाखमा उक्त बाटो निर्माण सुरु गरिएको हो ।
बाटो निर्माण समितिका अध्यक्ष विश्वराज अधिकारीका अनुसार पदमार्ग निर्माणअन्तर्गत मेलबोटदेखि अस्तामसम्म बाटोको झाँडी फाँड्ने, कूल २३० मिटर बाटोमा सिँढी हाल्ने र ५० मिटर रेलिङ निर्माण गरिनेछ ।
मेलबोटदेखि अस्तामसम्म करिब ५ किलोमिटर बाटोको निर्माण हुनेछ । मंसिरको पहिलो हप्ताबाट सुरु गरिएको उक्त बाटो निर्माणका लागि दैनिक २० देखि २५ मजदूर खटिएका छन् ।
पछिल्लो समय पर्यटकीय पदमार्ग मोटरेबल बाटोले विस्थापित हुँदै गइरहेको अवस्थामा नयाँ बन्दै गरेको पदमार्गले पदयात्रामा रमाउने पर्यटक लाभान्वित हुने उनको विश्वास छ । ‘लालीगुराँसको जंगल, रुद्रमहादेव, पञ्चेबाजा पार्क, सुनझाँक्रीको थान, अस्ताम देउराली माइको मन्दिरलगायत धार्मिक तथा पर्यटकीय र जैविक विविधतासहित पर्यावरणका हिसाबले पनि यो क्षेत्र उपयुक्त रहेकाले पदमार्गबाट पर्यटक लाभान्वित हुनेछन् ।’ अधिकारीले भने ।
उनका अनुसार यस क्षेत्रमा पोखराबाट करिब २ किलोमिटरको दूरीमा सुन्दर लालीगुराँस देख्न सकिन्छ । यो ५ दिनदेखि ७ दिनसम्मको पदमार्ग हो । मर्दी हिमाल र माछापुच्छे« नमूना ट्रेकलाई जोड्नका साथै संसारको सबैभन्दा उच्च स्थानमा साइकल लान सक्ने वातावरणका लागि यस पदमार्गले सहयोग पुग्ने उनको भनाइ छ । अधिकारीले प्रदेश सरकारको १० लाख बजेटबाट काम सुरु गरिएको र यसका लागि संघीय सरकारले समेत बजेट छुट्टाएको जानकारी दिएका छन् । ‘अहिले सीमित बजेटमा जनसहभागितामार्फत् बाटो निर्माणमा जुटेका छौं, संघीय सरकारको बजेट आएपछि यसमार्गले पूर्णता पाउनेछ ।’ उनले भने ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष सुशीलराज पौडेलले उक्त पदमार्गलाई टान मोडल टे«कसँग जोड्न संस्थागत अभ्यास गरिसकेको बताए । यस पदमार्गले ‘भिलेज टु भिलेज कनेक्टिभिटी’ हुने र छोटो दूरीका हाइकिङ र लामो दूरीको ट्रेकिङ दुवैको लागि उत्तिकै सहज हुने उनको भनाइ छ ।
उक्त पदमार्ग हेम्जाको मेलबोट सुनझाँक्री, अस्तामदेखि धम्पुस हुँदै मर्दी हिमाल पुग्नेछ । कोभिड–१९ को महामारीबीच पनि आन्तरिक पर्यटकको लर्को लाग्ने गरेको मर्दी हिमालमा नयाँ पदमार्ग निर्माणले आगामी दिनमा पर्यटकको बसाई लम्बाउने र यस क्षेत्रका पर्यटकीय गतिविधिलाई बढाउने विश्वास माछापुच्छ«े गाउँपालिका–६ का वडाध्यक्ष हरिशचन्द्र ढुंगानाले बताएका छन् । रासस