स्वास्थ्यमन्त्रीले भने, ‘कोरोना खोप प्रमाणित हुनेबित्तिकै नेपालीले पाउँछन्’

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउनेबित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउने बताएका छन् ।

मङ्सिर ३ गतेदेखि आजसम्म मन्त्रालयले आयोजना गरेको ‘विश्व प्रतिजैविक सचेतना सप्ताह’को समापन गर्दै उनले कोभिड–१९ विरुद्धको खोपको परीक्षण भइरहेको र उक्त सफल परीक्षण भई प्रमाणित हुनेबित्तिकै नेपाली नागरिकले पाउने बताए ।

उनले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न दृढ भएर लागेको उल्लेख गर्दै त्यसका लागि सबैको सहयोग आवश्यक भएको बताए ।

केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा कोभिड–१९ विरुद्धको खोप उपलब्धता सहज बनाउने लगायत व्यवस्था गर्नका लागि औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी थिइन् ।

सप्ताहका अवसरमा चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो । प्रतियोगितामा नेशनल स्कूल अफ साइन्सकी कक्षा ११ मा अध्ययनरत राजकी अर्याल प्रथम, होप इन्टरनेशनल कलेजमा स्नातक तह अध्ययनरत स्वस्तिका सापकोटा द्वितीय र ललितकला क्याम्पसकी स्नातक तहमा अध्ययनरत विनिता खड्काले तृतीयभएका छन् ।

मन्त्री ढकालले विजय विद्यार्थीलाई नगद र प्रमाणपत्र प्रदान गरे । अठ्ठाइस सहभागीमध्येबाट २४ जनाको कला छनोट गरिएको थियो ।

कमेन्टहरु
Loading...