ऋषिकान्त पौडेल
कास्की निर्वाचन क्षेत्र नं २ अन्तगरत प्रदेश ‘ख’का सासंदले आज सार्वजनिक गरेको बजेट वडा नम्बर १६ केन्द्रित भएको छ । आर्थिक वर्ष ०७७–७८ मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत सांसदहरु विन्दूकुमार थापा, कुमार खड्का, मीना गुरुङ र प्रभा कोईरालाले विनियोजन गरेको रकमलाई अध्ययन गर्दा उक्त तथ्यांक निस्केको हो ।
कार्यक्रमअन्तरगतको कूल २ करोड रुपैयाँ बजेटमध्ये वडा नं १६ मा मात्रै विभिन्न शीर्षकमा कूल ६८ लाख ५७ हजार रुपैयाँ विनियोजन गरिएको छ । उक्त रकममध्ये तुम्के, गल्र्याङ, आलेबारी सडक स्तरोन्नतीका लागि २५ लाख रुपैयाँ विनियोजन भएको छ । यो रकम नेकपा सांसदद्वय प्रभा कोईराला र मीना गुरुङले छुट्याएका हुन् । यी दुई सांसदको भागमा परेको कूल ५४ लाख ३२ हजार रुपैयाँमध्ये वडा नं १६ मै थप ७ लाख ३२ हजार रुपैयाँ विनियोजित छ ।
वडा नं १६ मा सबैभन्दा कम बजेट भने गैहबारी आमा समुहको भवनको शौचालय निर्माणार्थ २ लाख रुपैयाँ छुट्याईएको छ । वडा १६ पछि सबैभन्दा बढी बजेट वडा नं ९ मा पारिएको छ । वडा नं ९ का दुई योजनामामात्रै ३५ लाख विनियोजन भएको हो । त्यस्तै वडा नं ८ मा ३१ लाख रुपैया, ४ मा २१ लाख रुपैया , वडा नं ११ मा १६ लाख र वडा नं २० मा १८ लाख २५ हजार रुपैयाँ विनियोजित छ ।
त्यस्तै, विभिन्न मन्त्रालयमार्फत छुट्याईएको बजेट पनि वडा नं १६ मै बढी केन्द्रित छ । विभिन्न सडक निर्माणका योजनादेखि हरियाली उद्यान, पर्यटन कार्यक्रमसहित गरेर ४ करोड रुपैयाँभन्दा बढी बजेट वडा नं १६ मै परेको छ । सांसदद्वय कुमार खड्का र बिन्दूकुमार थापाको पहलमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत ३५ लाख रुपैयाँ क्षेत्र नं २ को ‘ख’ अन्र्तगत छुट्याईएको उनीहरुले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिए ।
यसैगरी, भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत ८ करोड ८५ लाख रुपैयाँ विनियोजन भएको छ । यसमध्ये नारायणस्थान पुल–भलाम खोला पुल–चण्डीपाटन–देउराली–हरीहर गुफा हुँदै डाडाँगाउँ–कुर गाउँ अर्मला सडक योजनाका लागि ५ करोड रुपैयाँ रहेको छ । सांसदद्वयद्वारा सार्वजनिक हिसाबमा सिंचाई र तटबन्धका लागि २ करोड रुपैयाभन्दा बढी छुट्याईएको छ । विभिन्न खानेपानीका योजना सम्पन्न गर्न यस वर्षमा एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
निर्वाचन क्षेत्र अन्र्तगत पुल निर्माणका तीन योजना तय भएको उल्लेख छ । उल्लेखित तीनै पुलको योजना वडा नं १६ मै रहेका छन् ।
सामाजिक विकास मन्त्रालयमार्फत छुट्याइएको कुल ६१ लाख ५० हजार रुपैयाँमध्ये खस आर्य संग्रहालय नयाँबजारका लागि ५० लाख रुपैयाँ विनियोजन भएको छ भने राम आधारभूत र महेन्द्र माध्यमिक विद्यालयका लागि एक–एक लाख रुपैयाँ छुट्याईएको छ ।