न्यूजिल्याण्डका मनकारी नेपालीः विपद्मा भोका छैनन् न्यूजिल्याण्डका नेपाली विद्यार्थी

पोखरा, ११ वैशाख/ बन्दाबन्दीको असर सबैभन्दा बढि भर्खरै नेपालबाट अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुमा देखिएको छ । जनवरी देखि अप्रिलसम्म नेपालबाट अध्ययनका लागि विदेश जाने विद्यार्थीहरु सबैभन्दा बढि समस्यामा परेका छन् । उनीहरुले अहिलेसम्म कुनै काम पाएका छैनन् । कलेज बन्द छ । र, नेपालबाट बोकेर गएको केही रकम सकिईसकेको छ ।

नेपाली विद्यार्थीहरुको यस्तै पीर मर्कालाई बुझ्दै न्यूजिल्याण्डको एनआरएनए र केही नेपाली संघसंस्थाहरुले सहयोग गरेका छन् । लकडाउनका कारण खान र बस्नका लागि समस्यामा रहेका नेपाली विद्यार्थीहरुलाई न्यूजिल्याण्डका नेपाली संघसंस्थाहरुले खाद्यान्न र आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।

न्यूजिल्याण्डमा रहेका पत्रकार भुपालकुमार गुरुङका अनुसार एनआएरएनए न्यूजिल्याण्डले पहिलो चरणमा त्यहाँका १ सय ९० जना विद्यार्थीहरुलाई आर्थिक सहयोग उपलब्ध गराईसकेको छ । लकडाउन लगत्तै विद्यार्थीलाई समस्या पर्ने देखेपछि न्यूजिल्याण्डको एनआएरएनएले अत्याधिक समस्यामा रहेका विद्यार्थीहरुको सूची उठाउन शुरु गरेको थियो । सँगसँगै नेपाली समुदायका मानिसहरुसँग संस्थाले आर्थिक सहयोग संकलन पनि गरेको थियो ।

र,पहिलो चरणमा संस्थाले ३१ हजार ६ सय ७ न्यूजिल्याण्ड डलर संकलन पनि गरिसकेको छ । त्यो मध्ये २५ हजार ६ सय ५० न्यूजिल्याण्ड डलर संस्थाले सहयोग गरिसकेको छ । पहिलो चरणमा २ सय ३३ जना विद्यार्थीहरुले एनआएरएनए न्यूजिल्याण्डले आह्वान गरेको सहयोग फर्ममा आफ्नो नाम दर्ता गराएका थिए । यद्यपि संस्थाले २ सय ६ जना विशेष समस्यामा रहेका विद्यार्थीहरुलाई सहयोग उपलब्ध गराउने भएको एनआएरएनए न्यूजिल्याण्डका अध्यक्ष लाल केसीले बताए ।

केही विद्यार्थीहरुको बैंक अकाउन्ट पनि नबनिसकेको अवस्थामा उनीहरुलाई रकम सहयोग गर्न नसकिएको केसीले जानकारी दिएका छन् । संस्थाले जनवरीदेखि अप्रिलसम्म अध्ययनका लागि न्यूजिल्याण्ड आईपुगेका विद्यार्थीहरुलाई सहयोग उपलब्ध गराएको थियो । संस्थाले त्यहाँको सरकारसँग पनि सहयोगको लागि अपील गरेकोमा चाँडै केही रकम निकाशा हुने र त्यसलाई पनि आवश्यकताअनुसार नेपाली समुदायमा वितरण गरिने जनाएको छ ।

त्यस्तै न्यूजिल्याण्डमै रहेको नेपालीहरुको संस्था ‘न्यूजिल्याण्ड नेपाल सोसाइटी इनकर्पोरेट’ले पनि समस्यामा रहेका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरेको छ । संस्थाका अध्यक्ष दिनेश खड्काले हालसम्म २ सय ६१ जना विद्यार्थीहरुलाई संस्थाले खाद्यान्न उपलब्ध गराईसकेको जानकारी दिए । संस्थाको नेतृत्वमा भएको खाद्यान्न वितरणमा त्यहाँकै चक्रप्रशंसा योग सेवा र सुप्रिम शिख सोसाइटीले पनि विशेष सहयोग गरेका थिए ।

त्यसैगरि ‘नेप्लिज एशोसियसन इन बे अफ प्लेन्टी’ ले पनि हालसम्म १ सय १५ जना नेपाली विद्यार्थीहरुलाई खाद्यान्न उपलब्ध गराएको छ । न्यूजिल्याण्डमा नेपाली विद्यार्थीहरुलाई खाद्यान्न सहयोग प्रदान गर्ने यही संस्था हो । संस्थाले न्यूजिल्याण्डका तौरंगा, टिपुके, रोटोरोवा लगाएतका शहरहरुमा रहेका विद्यार्थीहरुलाई खाद्यान्न उपलब्ध गराएको अध्यक्ष पवन पौडेलले जानकारी दिए । टोयोहोमाइ यूनिभर्सिटी र एस्पायर टु कलेजका विद्यार्थीहरु यसबाट सबैभन्दा बढि लाभान्वित भए ।

पत्रकार समेत रहेका भुपालकुमार गुरुङ यसै संस्थाका कार्यकारी सदस्य समेत हुन् । उनीसँगै संस्थाका उपाध्यक्ष टकबहादुर गुरुङको विशेष सक्रियतामा त्यहाँका विद्यार्थीहरुलाई सहयोग उपलब्ध गराईएको थियो ।

त्यस्तै न्यूजिल्याण्डकै अर्को संस्था नेपाल न्यूजिल्याण्ड फ्रेन्डशिप सोसाइटी अफ क्यान्टरबरीले ३५ जना नेपालीहरुलाई करिब डेढ महिनासम्म पुग्ने खाद्यान्न वितरण गरेको छ । संस्थाका अध्यक्ष भुवनेश्वर ढकालका अनुसार विद्यार्थीसँगै लकडाउनका कारण बेरोजगार बन्नु परेका नेपालीहरुलाई सहयोग उपलब्ध गराईएको हो । र, संस्थाले अझै आफ्नो सहयोगी हातहरु अगाडि बढाईरहने उनले बताएका छन् । ‘यो शुरुवात मात्र हो । हामीले समस्यामा रहेका नेपाली समुदायका विद्यार्थीसँगै अन्य व्यक्तिहरुलाई पनि सहयोग उपलब्ध गराउनेछौँ ।’ ढकालले भने ।

लिंकन, पोलिटेक, क्यान्टबरी, एस्पायर टु लगाएतका कलेज तथा यूनिभर्सिटीका विद्यार्थीहरुलाई संस्थाले खाद्यान्न उपलब्ध गराएको थियो । त्यस्तै साउथल्याण्ड नेप्लिज सोसाइटीले विद्यार्थीहरुलाई खाद्यान्न सँगै घरभाडाका लागि आवश्यक केही नगद रकम पनि उपलब्ध गराएको छ। संस्थाका अध्यक्ष इन्द्र सुनारका अनुसार संस्थाले हालसम्म २ जनालाई खाद्यान्न सहित १ सय डलर बराबरको भौचर उपलब्ध गराइसकेको छ ।

र, आगामी दिनमा पनि संस्थाले सहयोग उपलब्ध गराउने उनले बताए । दुनेदिन नेप्लिज सोसाइटीले पनि यस्तै सहयोग विद्यार्थीहरुलाई दिएको छ । उसले ५० डलर बराबर नगद र केही खाद्यान्न विद्यार्थीहरुलाई दिएको छ । अध्यक्ष मान तामाङका अनुसार हालसम्म ५ जनालाई यसरी सहयोग उपलब्ध गराईएको छ ।

नेपाल न्यूजिल्याण्ड वाइकाटो सोसाइटीले नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दै ३ हजार डलर बराबरको सहयोग गरिसकेको छ । सोसाइटीले त्यहाँ अध्ययनका लागि पुगेका ३० जना विद्यार्थीलाई सहयोग उपलब्ध गराईसकेको कोषाध्यक्ष अनामिका ओलीले जानकारी दिईन् ।

न्यूजिल्याण्डमा रहेका विभिन्न नेपाली संघसंस्थाहरुलाई त्यहाँको सरकारले पनि राहतका लागि केही नगद प्रदान गरेको थियो । प्रति संस्था न्यूजिल्याण्ड सरकारले ५ हजार डलर उपलब्ध गराएको थियो । नेपाली संघसंस्थाहरुले सरकारले दिएको सोही रकम र आफ्नो तवरबाट पनि केही रकम संकलन गरि समस्यामा रहेका नेपालीहरुलाई सहयोग उपलब्ध गराएका हुन् ।

विपद्को बेलामा नेपालीहरुबाटै सहयोग पाएपछि भर्खरै त्यहाँ पुगेका विद्यार्थीहरुले धन्यबाद ज्ञापन गरेका छन् । विपद्मा एक नेपालीले अर्कोलाई सहयोग गर्नुपर्छ भन्ने ज्ञान आफूहरुले पाएको उनीहरुले बताए ।

कमेन्टहरु
Loading...