भारत​को उत्तर प्रदेश र उत्तराखण्डमा बिजेपीको बहुमत

भारत​, फागुन २८ /भारत​को केन्द्रिय राजनीतिमा ठूलो प्रभाव पार्ने राज्य उत्तर प्रदेशको विधानसभा चुनावमा केन्द्रमा सत्तामा रहेको भारतीय जनता पार्टीले बहुमत ल्याएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी बिजेपीले उत्तर प्रदेशको सत्तारुढ पार्टी समाजवादी पार्टी र कांग्रेसको गठबन्धनलाई पछि पार्दै बहुमत ल्याएको हो ।

बिजेपीले उत्तर प्रदेशमा सन् १९८० पछि पहिलो पटक बहुमत ल्याएको हो ।४ सय तीन विधानसभा सिट मध्ये बिजेपीले तीन सय २५ सिट जितेको छ । समाजवादी पार्टी र कांग्रेसको गठबन्धनले ५४ सिट जितेको छ भने मायाबतीको बहुजन समाज पार्टीले १९ सिटमा जित हाँसिल गरेको  छ । उत्तर प्रदेशको जितले प्रधानमन्त्री मोदीको ठूला दरका नोटमा लगाएको प्रतिबन्धले नागरिकको स्वीकृति पाएको रुपमा विश्लेषण गरिएको छ । यस्तै उत्तराखण्डमा पनि बिजेपी विजयी भएको छ । ७० सिटका लागि भएको चुनावमा बिजेपीले ५७ सिट जितेको छ ।

यस्तै कांग्रेस ११ सिटमा विजयी भएको छ । पञ्जाब, मनिपुर र गोवामा भने कांग्रेस विजयी भएको छ । पञ्जाबको एक सय १७ विधानसभा सिटका लागि भएको चुनावमा कांग्रेसले ७७ सिटमा जितेको छ ।त्यहाँ आम आदमी पार्टीले २० सिट जितेको छ । बिजेपीले भने मात्रै तीन सिटमा जित हाँसिल गरेको छ । मनिपुरमा ५८ सिटका लागि भएको चुनावमा कांग्रेस २६ सिटमा विजयी भएको छ । २१ सिटी जितेको बिजेपी दोस्रो दल बनेको छ ।यस्तै गोवामा पनि कांग्रेस विजयी भएको छ ।

गोवाका ४० सिटमा कांग्रेस १९ सिटमा विजयी भएको छ ।गोवामा बिजेपीले १४ सिटमा जित हाँसिल गरेको छ । पाँच वटा राज्यमा भएको विधानसभा चुनावमा बिजेपी बढी जनसंख्या भएका दुई महत्वपूर्ण राज्यमा विजयी भयो । त्यसमध्ये पनि उत्तर प्रदेशको जित बिजेपीका लागि निकै महत्वपूर्ण मानिएको छ ।

कमेन्टहरु
Loading...