हराएको भैंसी फेसबुकबाट पत्ता लाग्यो

२९ मंसिर / एक व्यक्तिले आफ्नो हराएको भैँसी फेसबुकबाट पत्ता लगाएका छन् ।

पछिल्लो हप्ता भारतमा सामाजिक सञ्जालमा एउटा पोस्ट भाइरल नै भयो । हराएको भैँसी फेसबुकको माध्यमबाट भेटेको भन्दै ती व्यक्तिले भैँसीसहित खुसी मुद्रामा खिचेको फोटो पोस्ट गरेपछि भाइरल भएको हो ।

बैंगलोरदेखि २५ किलोमिटर दूरीमा रहेको होस्कोटेका नारायण स्वामीको भैँसी साँझको समयमा हराएको थियो । भैँसी हराएपछि उनले नजिकका गाउँसम्म पुगेर खोजतलास गरे । तर, भेटिएन । किनभने भैँसी चर्दै–चर्दै गाउँबाट १० किलोमिटर पर कोद्रहल्ली गाउँमा पुगिसकेको रहेछ ।

हराएको दुई दिनपछि नारायण स्वामीले फेसबुकमा आफ्नो भैँसीको फोटो देखे । कोद्रहल्लीका मोहन नामका व्यक्तिले फोटोसहित ‘यो भैँसी कसको हो ?’ लेखेर फेसबुकमा पोस्ट गरेका थिए । नारायण तत्काल फेसबुकमार्फत नै मोहनको सम्पर्कमा गए । हराएको दुई दिनपछि कोद्रहल्ली गएर नारायणले आफ्नो भैँसी फिर्ता ल्याए र फोटो खिचेर फेरि फेसबुकमा हाले । त्यसपछि फेसबुकमार्फत भैँसी भेटिएको चर्चा भारतभर फैलियो ।

कमेन्टहरु
Loading...