आर्ट अफ लिभिङ पोखराले खुल्ला योग शिविर गर्ने

पोखरा, ५ असार/आर्ट अफ लिभिङ पोखराले यही जेठ ६ गते शुक्रबार खुल्ला योग शिविर सञ्चालन गर्ने भएको छ ।

जुन २१ मा अन्तराष्ट्रिय योग दिवसको अवसरमा पोखरामा पनि योग शिविरको आयोजना गर्न लागिएको आर्ट अफ लिभिङ पोखराका संयोजक विश्वमोहन अधिकारीले बताए ।

संयोजक अधिकारीका अनुसार शिविर बिहान ६ बजेदेखि ७ बजे सम्म केदारेश्वर मन्दिर परिसर बैदाममा हुनेछ । यो योग शिविरलाई भव्य रुपमा सम्पन्न पार्न विभिन्न उप–समितिहरु गठन गरि तयारीलाई तिव्र पारिएको छ ।

आर्ट अफ लिभिङको कोर्ष अनुसार योग शिक्षकले नै सहभागीलाई योग सिकाउनेछन् । योग शिविरमा सहभागी हुने सबैलाई प्रवेश निशुल्क गरिएको जनाइएको छ ।

शुक्रबार हुने योग शिविरमा बढीभन्दा बढी सहभागी जुटाउन आर्ट अफ लिभिङ पोखराले आइतबार बाट पोखरा क्षेत्रका विभिन्न स्कुल, कलेज, धार्मिक संघ संस्थामा योग शिविरको प्रचार प्रसार गर्दै शिविरमा सहभागीतालाई आग्रह गरेको छ ।

हालसम्म विश्वभर १ सय ५५ देशमा आर्ट अफ लिभिङका सेन्टर स्थापित छन् । यसका गुरु रबिशंकर हुन । पोखरामा मात्र करिब १८ हजार जनाले आर्ट अफ लिभिङको कोर्ष लिइसकेका छन् ।

हालैमात्र आर्ट अफ लिभिङ पोखराले अध्यात्म, उद्यमशिलता र गतिशिलता विषयक ४ दिने यूवा परियोजना सञ्चालन गरिसकेको संयोजक विश्वमोहन अधिकारीले बताए ।

कमेन्टहरु
Loading...