सफल पोखरा कप अन्तराष्ट्रिय फुटवल प्रतियोगिता कार्तिक दोश्रो साता

मोफसलको सर्वाधिक धनराशी पुरस्कार भएको दोश्रो सफल पोखरा कप अन्तराष्ट्रिय फुटवल प्रतियोगिता कार्तिकको दोश्रो साताबाट पोखरामा हुने भएको छ । कार्तिक १४ देखि २५ गतेसम्म सन्चालन हुने प्रतियोगितामा बाह्य देशका ३ टोली, नेपालका उत्कृष्ट ८ र आयोजक एक गरी १२ टोलीको सहभागिता रहने भएको आईतबार पोखरामा आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिएको छ । गत बर्ष विजेतालाई २ लाख ५० हजार प्रदान गरीएकोमा यस बर्ष प्रतियोगिताको धनराषिमा बृद्धि गरीएको छ ।

मोफसलकै सवै धन्दा धेरै धनराषि भएको प्रतियोगितामा विजेता टोलीले ३ लाख ५ हजार पाउने भएको अखिल नेपाल फुटवल संघ कास्कीका अध्यक्ष खेमबहादुर गुरुङले जानकारी दिए । उपविजेताले १ लाख ५० हजार पुरस्कार पाउने छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट स्टाईकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कार प्रदान गरीने आयोजक एन्फा कास्कीले जनाएको छ ।

एन्फा कास्कीले खेलाडी अक्षयकोषमा हालसम्म करीब ७ लाख रकम संकलन गर्न सफल भएको छ । उक्त अक्षयकोषबाट एन्फा कास्कीले कास्की जिल्लाको बर्ष खेलाडी छनौट गरी २५ हजार नगद सहित ताम्रपत्रले सम्मान गरीने अध्यक्ष गुरुङ्गले जानकारी दिए । त्यसै गरी एन्फा कास्कीले पत्रकारीताको क्षेत्रबाट खेलकुदको विकास र विस्तारमा कलम चलाउदै महत्वपुर्ण भुमिका निर्वाह गर्ने एक जना पत्रकारलाई पुरस्कृत गरीने भएको छ । उक्त पुरस्कारको राषि १५ हजार साथमा ताम्रपत्र रहेको छ ।

प्रतियोगिता सम्पन्न गर्न ५५ लाख ६० हजार खर्च लाग्ने आयोजकको अनुमान छ । पत्रकार सम्मेलनमा एन्फाका केन्द्रीय सदस्य गणेशबहादुर भट्टराईले खेलकुदले स्वस्थ जनशत्ति उत्पादन गर्ने भएकोले यस्ता प्रतियोगिताहरु सफल पार्न सवैको सहयोग आवश्य रहेको बताए । कार्यक्रममा एन्फा कास्कीका उपाध्यक्ष गोपी भट्टराईले बंगलादेश तथा भारतका राम्रा टोलीलाई प्रतियोगितामा सहभागि गराउन आफुहरु तयारीमा लागेको बताए । गत बर्ष १२ टोलीको सहभागिता रहेको प्रतियोगिताको उपाधि बंगलादेशको धनमुण्डी क्लबले जितेको थियो ।

कमेन्टहरु
Loading...