राजनीतिमा निष्ठा खोज्दै उपन्यासकार नवराज

श्याम राना

पोखरा, ३१ भदौ /बिहानको दर्के झरी । यताउता आउजाउ गर्न पनि गाह्रो । तर त्यसको पर्वाह नगरी शनिबार

बिहानै सिर्जनाचोकको ह्वाइट हाउस पार्टी प्यालेसमा जुट्यो पुस्तकप्रेमीको समूह । प्रसंग थियो नवराज बरालको

उपन्यास नामको परिचर्चा । जसको चाँजो र्‍यान्डम रिडर्स सोसाइटीले मिलाएको थियो ।

‘आफूले देखेका, भोगेका कुरालाई उपन्यासमा उतारेको हुँ,’ लेखक बरालले प्रष्ट्याए, ‘राजनीति, प्रेम र समाजका

लागि कस्तो निष्ठा आवश्यक छ भनेर उपन्यासमा देखाउन खोजेको छु ।’ पोखराको परिवेश वरिपरि उपन्यास

घुमेको उनले जानकारी दिए । उपन्यासको नाम ‘नाम’ नै किन राखेको भनेर आफूलाई धेरै प्रश्न गरिएको उनले

सुनाए । उनले भने, ‘नाम सजिलै प्राप्त गरिने कुरा होइन । यसको लागि धेरै मेहेनत गर्नुपर्छ । नाम हाम्रो

परिचयमात्र हैन । इज्जत हो । भूमिका हो । त्यसैले पनि यसलाई बचाइराख्नु आवश्यक छ ।’

साहित्यलाई वैचारिक बनाउनुपर्ने उनको भनाइ थियो । ‘साहित्यले समाधानको बाटो पनि पहिलयाउनुपर्छ,’

उनले भने । राजनीतिमार्फत समाजको यथार्थ उजागर गर्न खोजेको उनले प्रस्ट्याए ।

लेखक तथा युवा नेता लेखनाथ न्यौपानेले लेखकको परीक्षा सुरु भएको टिप्पणी गरे । लेखकहरु किताब लेखेर

छोड्ने र आफू अर्कोतिर लाग्ने गरेको उनको आरोप थियो । आञ्चलिकतालाई राम्रोसँग उतार्नसक्नु लेखक

बरालको सबल पक्ष रहेको उनको भनाइ थियो । एउटा उपकथा नसकिँदै अर्को उपकथा राम्रोसँग जोड्नु सक्नु

उपन्यासको विशेषता रहेको न्यौपानेले सुनाए । उनले भने, ‘अब के गर्छभन्दा भन्दै अर्को पात्र समावेश छ । यो

उपन्यासको सबल पाटो हो ।’

युद्ध र प्रेमको किताब पछिल्लो समयमा धेरै रुचाइएको न्यौपानेले सुनाए । ‘साहित्य भनेको विचार र कलाको

संयोजन हो,’ उनले भने, ‘विचारलाई कलाले बेरेर अभिव्यक्त गर्न सके सुन्दर सिर्जना बन्छ ।’

पाठकलाई म पनि त्योपात्र हुँ भन्ने अनुभव गराउन सक्नु मुख्य कुरा रहेको उनको भनाइ थियो ।

‘आलोचनात्मक चेत भएन भने कुनै पनि कुरा अघि बढ्न सक्दैन,’ उनले भने, ‘आलोचनात्मक चेतलाई

संस्थागत गर्न आवश्यक छ ।’

सांसद खगराज अधिकारीले उपन्यासले आफूलाई जिम्मेवारी बोध गराएको सुनाए । उनले भने, ‘धेरै घचघच्याइ

दियो । उपन्यासको पात्र मै हो कि जस्तो बनाइदियो ।’ वरिष्ठ प्रगतिशील साहित्यकार डा कृष्णराज अधिकारीले

राजनीतिक आचरण, फुट, विकृतिलाई राम्रोसँग उठान गर्न सक्नु उपन्यासको सबल पक्ष रहेको धारण राखे ।

परिवेशको चित्रण सुन्दर तवरले गर्न लेखक सफल रहेको उनको भनाइ थियो । सोसाइटीका अध्यक्ष केशवशरण

लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा उद्घोषण सचिव अनुपमणि अधिकारीले र स्वागत उपाध्यक्ष

रुपिन्द्र प्रभावी जोशीले गरेका थिए ।

कमेन्टहरु
Loading...