हाम्रो कांग्रेस, राम्रो कांग्रेस

राचन्द्र पौडेल /अहिले हाम्रो पार्टी नेपाली कांग्रेस गम्भीर चुनौती सामु खडा छ र राजनीतिको मैदानमा कडा प्रतिस्पर्धाको सामना गर्नुपर्ने छ । 

1 नयाँ संविधान जारी गर्ने प्रसंग र नयाँ संविधान जारी भैसकेपछिको प्रसंगमा राष्ट्र सामु उपस्थित जटिल चुनौतीको सामना गरेर राष्ट्रलाई सुस्थिर गति दिने काम पनि अरु कसैले होइन, नेपाली कांग्रेसले नै गर्नुपर्ने छ ।
द्द। राष्ट्रिय राजनीतिमा व्यापक संगठनात्मक सञ्जाल, प्रखर सक्रियता र वाचालता भएका समूहहरुसंग प्रतिस्पर्धामा आफूलाई खरो उतार्न सक्नु पनि छ । आज यो दोहोरो चुनौती सामना गर्न कुनै आलटाल र कुनै जोड घटाउले काम चल्नेवाला छैन ।

तेह्रौं महाधिवेशनले नेपाली कांग्रेसलाई यी हाँकहरुलाई बुझ्ने, व्याख्या दिने र कार्यरुप दिने नेतृत्वकारी शक्तिको रुपमा उभ्याउनु पर्ने छ । आफ्ना चिन्तन, कर्म र क्रियाशीलताका आधारमा यी आवश्यकताको पूर्ति गर्ने अठोटकासाथ पार्टीको नेतृत्व लिन सभापति पदमा खडा भएको छु । मित्र राष्ट्रहरुमा सद्भाव जगाउने, राष्ट्रमा आत्मविश्वास पैदा गर्ने र जनतामा आशा जगाउने लक्ष्यतर्फ यात्रा अघि बढाएर नेपाली कांग्रेसलाई नवजीवन दिने दिशामा म प्रयत्नशील रहनेछु । म केवल पदका लागि मरिहत्ते गर्ने पदाकांक्षी हैन । म कामको लागि पद चाहन्छु । म काम गर्ने मान्छे हुुँ । मेरो अतितले त्यही भन्छ ।
अहिलेको सबभन्दा चिन्ताको अवस्था भनेको कांग्रेसभित्र बढ्दै रहेको गुटबन्दी र भागबण्डाको राजनीति नै हो जसले पार्टीलाई पक्षघात गराएको छ । म पार्टी गुटगत विभाजन विरुद्ध जीवनभर लड्दै आएको छु । सर्वप्रथम मेरो कदम पार्टीमा भागबण्डाको सट्टा मूल्याङ्कनको राजनीति सञ्चालन गर्नेतर्फ केन्द्रित रहनेछ । म पार्टी, लोकतन्त्र र राष्ट्रलाई जोखिममा राख्ने हैन । पार्टी, लोकतन्त्र र राष्ट्रका लागि सदैव आफूलाई जोखिममा राख्दै आएको व्यक्ति हुँ ।

नेपाल र नेपाली जनताको स्वतन्त्रता तथा देशमा प्रजातन्त्र स्थापनाका निम्ति मैले पनि धेरै रगत पसिना बगाएको छु । जननायक बीपी कोइरालाको आदर्शबाट अभिप्रेरित हुँदै र वि.सं. २०१७ मा राजाले प्रजातन्त्रको हत्या गरेपछि आक्रोशित हुँदै मुलुकमा जनताको शासन कायम नगर्दासम्म संघर्षरत रहने अठोटका साथ १६ वर्षको कलिलो उमेरदेखि नै नेपाली कांग्रेसको सक्रिय राजनीतिमा होमिएको थिएँ ।

सदनमा होस् या सरकारमा, सडकमा होस् या प्रतिपक्षमा, जहाँ रहे पनि नेपाली कांग्रेसको गरिमा वृद्धिमा निरन्तर क्रियाशील छु र रहने छु । जनताका अधिकार प्राप्तिका निमित्त संघर्षरत रहँदा पटक पटक गरी १५ वर्षको जेल जीवन बिताउँदा समेत धैर्य र साहसका साथ लड्दै आएको छु ।

स्वतन्त्रता र प्रजातन्त्र बिना जनताका सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक कुनै पनि अधिकारको संरक्षण तथा सम्बद्र्धन हुन सक्दैन भन्ने मान्यता बोक्दै आएको छु । अधिकांश जनता गरिबीको रेखामुनि रहेको नेपालको राजनीतिक कार्यक्रम तथा आर्थिक नीति तिनै जनतालाई माथि उकास्नेतर्फ लक्ष्यित हुनु पर्दछ भन्ने मेरो सोच छ । त्यसैले सामाजिक न्यायसहितको आर्थिक समृद्धि मेरो मूलमन्त्र बनेको छ । सुशासनका जगबाट उठेको कृषि क्रान्ति, पर्यटन विस्तार र ऊर्जा शक्तिको विकासलाई म नेपालमा समृद्धिको आधार मान्छु ।

नेपाली कांग्रेसको सुनौलो इतिहासको संरक्षण र उज्ज्वल भविष्यका लागि ठोस कार्यक्रमका साथ अघि बढ्नु पर्ने अहिलेको चुनौती हो । बीपी कोइरालाले प्रतिपादन गर्नु भएको प्रजातान्त्रिक समाजवादमा समयानुकुल विकास÷परिमार्जन गर्दै वैचारिक आन्दोलन अगाडि बढाउनु पर्ने छ । नयाँ संविधानले निर्दिष्ट गरेका परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गर्नुछ । त्यसका लागि सतत् क्रियाशील र सजग नेतृत्वको आवश्यकता पार्टीलाई छ । पार्टी, लोकतन्त्र र राष्ट्रको पक्षमा निरन्तर सोच्ने, बोल्ने र गर्ने कर्मठ नेतृत्व आजको आवश्यकता हो ।

यिनै कुराहरुको पूर्तिका लागि मैले यहाँहरु समक्ष सभापति पदका लागि उम्मेदवारी दिएको छु । मेरो पार्टी प्रतिको निष्ठा, जनताप्रतिको इमान्दारी र चारित्रिक स्वच्छतालाई हृदयङ्गम गर्दै आगामी कार्यकालका लागि पार्टी सभापतिको हैसियतले यहाँहरुका साथै सम्पूर्ण नेपाली जनताको सेवा गर्ने मौका दिनु हुनेछ भन्ने विश्वास लिएको छु । म पार्टी सभापति भएपछि कार्यान्वयन गर्ने केही कार्यक्रम र दृष्टिकोणहरु संक्षेपमा प्रस्तुत गर्दछु ।

राजनीतिक अवधारणा
· नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रका माध्यमले समृद्ध मुलुक बनाउनु नै हाम्रो मुख्य ध्येय हो । विभिन्न विचारका थुप्रै पार्टीहरुको प्रभुत्व रहेका हाम्रो जस्तो सानो मुलुकमा सबै पार्टीहरुसंग सहकार्य र प्रतिस्पर्धाको सम्बन्ध कायम गर्दै सबै राजनीतिक दलहरुलाई व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठ्न अभिप्रेरित गर्दै नेतृत्वदायी भूमिका खेल्ने काम गर्नेछु ।
· शदीयौँदेखि भाइचाराको सम्बन्ध राखेर हुर्किएका विभिन्न जातजाति, धर्म, सम्प्रदाय, संस्कृतिका जनतालाई नेपाल र नेपालीको समृद्धिमा एकजुट गराई कतै कुनै कोणबाट पनि विभक्त हुन नदिई हिमाल, पहाड र तराई–मधेसका बीचमा सुमधुर सम्बन्ध कायम हुने वातावरणको सिर्जना गर्नु पर्नेछ ।
· एकात्मक केन्द्रीय राज्य व्यवस्थाबाट संघात्मक व्यवस्थामा पदार्पण गर्दै गर्दा केन्द्र र संघ, संघ र संघ तथा संघ र स्थानीय तहका बीचमा आइपर्ने समस्या, तिनको व्यवस्थापन र समाधान तथा आवश्यक कानून निर्माणमा नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नेछ ।

परराष्ट्र नीतिका सम्बन्धमा

भूगोल, जनसंख्या र अर्थतन्त्रका आधारमा विश्वकै दुई ठूला उदियमान शक्ति भारत र चीनसंग असल छिमेकी र अन्य मित्रराष्ट्रहरुसंग समान दौत्य सम्बन्ध कायम गर्दै अगाडि बढ्नु नै नेपाली कांग्रेसको पराराष्ट्र सम्बन्धको मूल आधार हुनेछ । छिमेकीहरुसंग भौगोलिक यर्थाथलाई ध्यानमा राखी सम्बन्ध बिस्तार गरी शान्ति, स्थिरता, विकास र उन्नति हासिल गर्ने ध्येय हुनेछ । छिमेकको प्रगतिबाट यथेष्ट लाभ उठाउने काम गर्नेछु । सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, पञ्चशीलका सिद्धान्तका आधारमा नयाँ विश्व परिवेश अनुसार छिमेकी तथा अन्य मुलुकहरुसँग राष्ट्रिय हित सर्वोपरी गरी परराष्ट्र नीतिलाई समयानुकुल बनाइनेछ ।

संगठन सुदृढीकरण सम्बन्धमा
· तेह्रौँ महाधिवेशनले पारित गरेका नीति र कार्यक्रमहरु कार्यान्वयनमा ल्याउनु मेरो प्रथम कर्तव्य हुनेछ ।
· नयाँ संविधान अनुसार महिला प्रतिनिधित्वलाई समेत ध्यानमा राखी देशैभरि व्यापक र व्यवस्थित महिला नेतृत्व विकास कार्यक्रम सञ्चालन गराउने छु । त्यसरी नै आदिवासी जनजाति, दलित, मधेशी मुस्लिम, अल्पसंख्यक सहित पिछडिएको समुदायमा नेतृत्व विकास तालिमको व्यापक अभियान चलाउने छु ।
· पार्टी केन्द्रदेखि गाउँ, नगर, वडासम्मका सबै निकायहरु र सबै भातृ तथा शुभेच्छुक संस्थालाई गतिशील र चलायमान गराउन नियमित बैठक सञ्चालन र नयाँ–नयाँ कार्यक्रमका आधारमा शतत् क्रियाशील गराउने छु ।
· नेपाली कांग्रेसको कार्यालयमा संगठनका पदाधिकारी तथा सदस्यहरु नियमितरुपमा उपस्थित भई व्यवस्थित कार्यालय बनाउने र पार्टी सचिवालयलाई सक्रिय तुल्याउने कार्य गरिने छ ।
· पार्टी कार्यालयको भित्ताहरु तथा कोठाहरुमा शहीदहरु, वरिष्ठ ऐतिहासिक नेताहरु, विभिन्न जातजाति, धर्म, क्षेत्र, सम्प्रदाय, सांस्कृतिक धरोहर, संघर्षका गाथाहरु झल्कने तस्वीर तथा सामग्रीहरु राखी कार्यालयलाई एउटा व्यवस्थित संग्रहालय र अध्ययन केन्द्रसमेतको स्वरुप प्रदान गरिने छ ।
· महाधिवेशनका बेलामा मात्र क्रियाशील सदस्यता नवीकरण तथा थप गर्ने र अभिलेख व्यवस्थित गर्ने काम हुने गरेकोमा यसलाई नियमित गरी अनलाइन रेकर्ड राख्ने व्यवस्था मिलाउने छु ।
· युवा जमातको आकर्षणको केन्द्र बनेका फेसबुक, ट्वीटर, वेबसाइट जस्ता सामाजिक सञ्जालका माध्यमहरुमा निरन्तर अन्तक्र्रियाको व्यवस्था मिलाई पार्टीका गतिविधि सञ्चार गरिने छ ।
· पार्टी केन्द्रीय कार्यालयमा नै सञ्चार माध्यमहरुसंग नियमित अन्तक्र्रियाका लागि समय व्यवस्थापन गरिने छ । केन्द्रीय कार्यालयमा आधुनिक मिडिया सेन्टरको व्यवस्था गरिनेछ ।
· पार्टीमा नयाँ सदस्यहरुको आकर्षण र आगमनमा वृद्धि भएको कुरालाई हृदयङ्गम गर्दै प्रशिक्षण विभागलाई सक्रिय तुल्याई प्रभावकारी कार्यक्रमहरु सञ्चालन गरिने छन् ।
· युवाको सक्रियता बिना संगठन चलायमान हुन सक्दैन । त्यसैले युवा परिचालनका निमित्त विशेष कार्यक्रम ल्याउनुका साथै पार्टीमा युवा प्रतिनिधित्वका लागि अतिरिक्त व्यवस्था मिलाइने छ ।
· पार्टीमा प्रवेश र अवकाशका बारेमा विभिन्न कठिनाइका चर्चाहरु चल्ने गरेको यथार्थलाई मनन गर्दै योग्य र क्षमतावानले चाँडै प्रगति गर्न सक्ने वातावरण मिलाउँदै सांगठनिक संरचनामा व्यापक परिवर्तन गरिने छ ।
· पार्टी सञ्चालनका लागि आवश्यक स्रोत जनस्तरबाट जुटाई खर्चलाई पारदर्शी बनाउने अभियान चलाइने छ ।
· प्रत्येक वर्ष महासमितिको बैठक बोलाई पार्टीको रणनीति तथा वैचारिक मार्गदर्शन तय गरिनेछ ।
· सबै भ्रातृसंगठनहरुको अधिवेशन समयमै सम्पन्न गरिनेछ ।
· पार्टीभित्र कार्यकर्ताको उचित मूल्याङ्कन पद्धति बसाइने छ ।

आर्थिक रणनीतिका सम्बन्धमा
· बीपी कोइरालाले प्रतिपादन गर्नु भएको उत्पादन र वितरणको न्यायिक सन्तुलन सहितको समाजवाद नै नेपाली कांग्रेसको मूल आदर्श हो । विश्व अर्थतन्त्र खुला बजारमा गइसकेको अवस्थामा उत्पादन, वितरण र बिमा तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखी समाजवादको लक्ष्य पूरा गर्नु मूल ध्येय हुनेछ । नयाँ संविधानले निर्दिष्ट गरेको निजी, सार्वजनिक र सहकारी अर्थनीति अन्तर्गत नेपालको विकास मेरो मूल लक्ष्य हुनेछ ।
ख उत्पादन ः जनताका लागि अत्यावश्यक उपभोग्य वस्तुहरुको उत्पादन हाम्रो जस्तो मुलुकले निजी क्षेत्रलाई मात्र जिम्मा दिएर प्रभावकारी हुन सक्दैन । आवश्यकताको सिद्धान्त अनुसार कमजोर वर्ग र आम उपभोक्ताको सुरक्षा खातिर कतिपय संस्थान र व्यवसायहरु राज्यबाटै सञ्चालन गर्ने व्यवस्था मिलाइने छ भने निजी क्षेत्रको सहभागितालाई प्राथमिकता दिई प्रोत्साहन गर्ने वातावरणको सिर्जना गर्न नेपाली कांग्रेस लाग्ने छ ।
ख सामाजिक सुरक्षा ः बालबालिका, वृद्धवृद्धा, विधवा, शारीरिक रुपमा अशक्त, एकल महिला लगायतका असहायहरुलाई राष्ट्रले संरक्षण तथा सुरक्षा प्रदान गर्नु पर्दछ । देशका वृद्धवृद्धालाई एक्लै छाडेर नेपाली युवा सामाजिक सुरक्षा अन्तर्गतकै कार्यमा विदेशीने गरेको दृश्य हृदयविदारक छ । नेपाली अशक्तहरुले पाउँदै आएको सुरक्षा भत्तालाई व्यवस्थित एवं वृद्धि गर्दै सामाजिक सुरक्षा एवं बिमाको दृष्टिमा नेपाललाई समृद्ध मुलुक बनाउनेतर्फ नेपाली कांग्रेसका कदमहरु अगाडि बढाइने छन् ।
· जलविद्युत्, क्लिन इनर्जी, सडक सञ्जाल, शिक्षण संस्था, स्वास्थ्य संस्था आदिको गुणस्तर वृद्धिमा पार्टीलाई केन्द्रित गराई समृद्ध नेपालको निर्माणमा कार्यकर्ताहरुलाई अभिप्रेरित गराइनेछ ।

विचारले समृद्ध कांग्रेस
· कांग्रेसमा वैचारिक आदर्श स्थापित गर्ने र समग्र कार्यकर्ता पंक्तिलाई नेतामुखी नभएर नीति र सिद्धान्तमुखी बनाउनका लागि महाअभियान शुरु गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।
· विचारले समृद्ध कांग्रेस अहिलेको पहिलो आवश्यकता हो । १० बर्षको द्वन्द्वले क्षतविक्षत भएको कांग्रेस संगठनलाई वैचारिक रुपमा दृढ र समृद्ध नबनाउँदासम्म देश र लोकतन्त्रको भलो हुन सक्दैन । तसर्थ पहिलो मुद्दाका रुपमा अन्तरपार्टी संगठनका विभिन्न आधार तयार गरी वडा स्तरदेखि नै कांग्रेसभित्र शुद्धीकरण र सुदृढीकरण गर्नुपर्ने प्रमुख दायित्व रहने छ ।

‘सुख–दुःखमा कांग्रेस’
· ‘सुखदुःखमा कांग्रेस’ भन्ने मान्यता स्थापना गरी कार्यकर्तामा यो संस्कृतिको विकास गर्न आवश्यक छ । जुन संस्कृतिबाट कांग्रेस जनताको आस्थाको केन्द्र बनेको हो आज त्यही संस्कृतिलाई जोगाउनका लागि सबै गम्भीर हुन आवश्यक छ ।
· स्थानीय आवश्यकता पहिचान गर्ने कार्यकर्ता नै पार्टी बलियो बनाउने आधार हुन् । उनीहरुलाई प्रेरणा, हौसलाका साथै कार्यकर्तामा यो सीप र क्षमता अभिवृद्धि गर्नका लागि विशेष अभियान थाल्न जरुरी छ ।
· सीमा नाकामा आपूर्ति व्यवस्थामा देखिएको असहजताका कारण थलिएको आर्थिक गतिविधि र समस्याग्रस्त सामाजिक सद्भावको सम्बोधन अहिले अत्यावश्यक छ । यस समस्याले सिर्जिएको पीडा समनका लागि पनि कांग्रेस तयार हुनुपर्छ आगामी दिनमा यसबारे विशेष नीति तय गरिने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।
· जनताका व्यक्तिगत समस्याहरुमा समेत चासो राखी समाधानका लागि भूमिका खेल्ने कार्यकर्ताको पार्टीका रुपमा कांग्रेसलाई स्थापित गर्दै लैजानु अपरिहार्य छ ।
· पार्टीमा तह अनुरुप कार्यकर्तालाई निर्णय गर्ने पूर्ण स्वतन्त्रता दिनु आवश्यक छ । गाउँका अधिकार क्षेत्रका नेताहरुले खोस्ने, क्षेत्रका अधिकार जिल्लाका र केन्द्रका नेताले खोस्ने प्रवृत्तिले कांग्रेस संगठनका प्रमुख आधारशीला भत्कँदै जान थालेका छन् । यो संस्कृतिको अन्त्य गरी संगठनलाई सही दिशा दिन महत्वपूर्ण दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता छ ।

‘कांग्रेस सबैको पार्टी’
· समावेशी सिद्धान्तका आधारमा नेपाली कांग्रेस सबै जातजाति, वर्ग, लिङ्ग र धर्मलाई समान रुपमा हेर्ने राजनीतिक पार्टी हो । यसलाई कार्यरुपमै उतारिने छ ।
· यो मूलतः गरिब र मध्यमवर्गका आधारभूत विकासमा आधारित राजनीतिक दल भए पनि यसको सही प्रचारप्रसार गरी त्यो वर्गलाई उच्च मनोबलका साथमा लिई अगाडि बढ्न सकेको छैन । नेताहरुका क्रियाकलाप र चरित्रले कहिलेकाहीँ अरुलाई भ्रम सिर्जना गर्ने मौका मिलेको छ । तसर्थ यो विषयमा स्पष्ट भएर अगाडि बढ्नु पर्दछ ।
· अतिवाद र उग्रवादले देशका सबै अंगलाई बिथोलेको अहिलेको परिस्थितिमा समाजको तल्लो तह र मध्यमवर्गलाई सही राजनीतिक दिशा दिएर अगाडि बढाउन सकिएन भने लोकतन्त्रको जग मजबुत हुन सक्दैन भन्ने तथ्यलाई हृदयंगम गरी अगाडि बढ्नु आवश्यक छ ।

प्रजातान्त्रिक समाजवाद नै मूलदर्शन
· कुनै विशेष दर्शनबिना परिवर्तन व्यवस्थित हुन सक्दैन, तसर्थ प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई आधार बनाएर परिवर्तनहरुलाई व्यवस्थापन गर्न जरुरी छ । यो दर्शनका आधारमा समयसापेक्ष कार्यनीति तय गरी सम्पूर्ण नेपाली जनतालाई नेपाली कांग्रेससँग जोडन प्रयत्न गरिनेछ ।
· प्रजातान्त्रिक समाजवाद जस्तो स्वच्छ दर्शनमा आधारित कांग्रेस बनाउन जरुरी छ ।
· स्थानीय विकास नै राष्ट्रिय विकासको प्रारम्भिक विन्दु हो भन्ने कुरालाई आधार मानेर स्थानीय स्रोत साधनहरुको अधिकतम परिचालन गरी उत्पादन वृद्धिको अभियान सञ्चालन आवश्यक छ ।
· स्थानीय उत्पादनशील कार्यमा कांग्रेसले अग्रसरता लिई उत्पादन प्रणालीलाई व्यवस्थित गर्न जरुरी छ । सहकारीहरुको स्थापना र प्रभावकारी क्रियाशीलताका माध्यमबाट उत्पादनशील गतिविधि अगाडि बढाउने कार्यमा कांग्रेस कार्यकर्ताहरुको सक्रियता आवश्यक छ ।
· जनसेवी कार्यकर्ता निर्माण गरी उनीहरुका माध्यमबाट सामाजिक सद्भाव निर्माणदेखि उत्पादन वृद्धिको आधार तयार गर्न आवश्यक छ ।
· गाँउठाँउमा रहेका स्रोत साधनको अधिकतम उपयोग गरी सामाजिक विकास गर्ने सोचका कार्यकर्ता निर्माण आवश्यक छ ।
· कृषि क्रान्तिका माध्यमबाट उत्पादन वृद्धि हुने, स्थानीय तहमा रोजगारीको सिर्जना हुने र परनिर्भरता हट्दै जाने कुरालाई जोड दिँदै कृषि उत्पादनको शैलीमा परिवर्तन गर्न जरुरी छ । यो क्षेत्रमा युवाको आकर्षण थप्न जरुरी छ ।
· सहकारी संस्था, वन उपभोक्ता समिति, नदी नियन्त्रण समूह, आमा समूह, स्वास्थ्य समूहजस्ता समाजहितका लागि काम गर्ने संस्था बनाएर स्थानीय उद्यमशीलताको अभियान थाल्न आवश्यक छ ।
· वैज्ञानिक अनुसन्धान र परीक्षणका आधारमा कृषि ‘पकेट’ क्षेत्र निर्धारण गर्ने अभियान सञ्चालन गर्दै परम्परागत कृषि प्रणालीमा सुधार आवश्यक छ ।

‘नेपालीको श्रम, नेपालको समृद्धिका लागि’
· ‘नेपालीको श्रम नेपालको समृद्धिका लागि’ भन्ने मान्यतामा आधारित भएर श्रम व्यवस्थापनमा विशेष नीति बनाउन जरुरी छ ।
· स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना गरी ‘देशकै लागि गराँै, देशकै लागि लडौँ’ भन्ने भावनाको विकास गर्न जरुरी छ । गाउँमै बसौं–बसौं र स्वदेशमै फर्कौ–फर्कौको अवस्था बनाउन जरुरी छ ।
· देशको ऊर्जाशील जनशक्ति विदेशका भूमिमा पसिना बगाई रहेका छन् । देशभित्र नै धेरै उत्पादनका आधारहरु छन् जसको परिचालन गर्न सकिएको छैन । हरेक क्षेत्रमा परनिर्भरता बढिरहेको यो नै मुख्य कारण हो । यस विषयमा नयाँ नीति बनाएर कांग्रेसले अगाडि बढ्न सक्ने हो भने थोरै समयमा हामी धेरै विषयमा आत्मनिर्भर बन्न सक्छौँ । प्रविधि विकास र विस्तार गरेर स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्ने तथा श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्ने ।
· विश्वभरि छरिएर रहेका नेपाली जनसम्पर्क समितिहरुलाई संगठन विस्तारमा सक्षम तुल्याउन विविध खाले अन्तक्र्रिया र प्रशिक्षण सञ्चालन गराइनेछ । जनसम्पर्क समितिहरुको उपादेयता वृद्धि गराउँदै पार्टी केन्द्रमा प्रतिनिधित्व र सम्पर्क सूत्र स्थापित गरिनेछ ।

‘सुन्दर गाउँ, व्यवस्थित शहर, हामी सबै नेपालीको रहर’
· विदेश पलायन रोक्नका लागि ‘सुन्दर गाँउ, व्यवस्थित शहर, हामी सबै नेपालीको रहर’ भन्ने नारालाई सार्थकता दिन जरुरी छ ।
· आधारभूत आवश्यकता, स्तरीय शिक्षा र स्वास्थ्यको उपलब्धता, यातायात तथा सञ्चारको पहुँच, सूचना प्रविधिको उच्चतम उपयोग गर्ने अवसरको उपलब्धता नै सुन्दर गाउँ निर्माणका आधार हुन् । यी कुराको व्यवस्थापन गर्ने राष्ट्रिय नीति आवश्यक छ ।
· शहरी क्षेत्रलाई व्यवस्थापन गर्दै वातावरणीय स्वच्छता, खुला क्षेत्रको निर्माण, निश्चित आवास क्षेत्र, पार्क र बाल उद्यान आधुनिक भौतिक पूर्वाधार जस्ता संरचना सहितको शहर निर्माणका लागि नीति निर्माण जरुरी छ ।

‘हिंसा, द्वेष र विखण्डन माथि प्रहार, बलियो राष्ट्रिय एकताको आधार’
· ‘हिंसा, द्वेष र विखण्डन माथि प्रहार, बलियो राष्ट्रिय एकताको आधार’ भन्ने नाराका साथ राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दै सामाजिक सद्भाव सहितको राष्ट्र निर्माणमा भूमिका खेल्न जरुरी छ ।
· हिमाल, पहाड र तराई–मधेसले एकले अर्कालाई सम्मान गरेर राष्ट्रियतालाई बलियो बनाउन जरुरी छ ।

संविधान कार्यान्वयनमा अग्रसरता
· ‘सुशीलको नेतृत्वमा बनायौ संविधान, समृद्ध राष्ट्र निर्माणका लागि थालौँ अभियान’ भन्ने १३ औँ महाधिवेशनको नारालाई सार्थक बनाउन संविधान कार्यान्वयनको अग्रसरता पनि कांग्रेसले लिनु पर्दछ ।
· संविधान कार्यान्वयन गर्ने क्रममा मधेशी, थारु, आदीवासी जनजाति, महिला, दलित तथा पिछडिएका क्षेत्रका जनताका अधिकार र आकांक्षाहरुलाई सम्बोधन गर्न जरुरी छ । त्यसका लागि आवश्यक परेमा संविधान संशोधन पनि गरिने छ ।

तराई–मधेस र कांग्रेस
· तराई–मधेश नेपाली कांग्रेसको आधार भूमि हो ।
· तराई–मधेशका सवाल नेपालकै सवाल हुन् । प्रदेशहरूको सीमाङ्कन मधेशका जनतालाई विश्वासमा लिएर मधेश र मधेशीको हित हुने गरी टुंगो लगाउन म प्रतिवद्ध रहने छु । उपेक्षित अनुभूत गरेको तराईले हाम्रो पार्टीको नेतृत्वमा देशमा प्रजातन्त्रको आगमन पश्चात् महत्व पाएको छ । तराईका भाषा, संस्कृतिले राष्ट्रिय सम्मान पाउँदै गएका छन्, यो क्रमलाई म अरु अगाडि बढाउने छु । नागरिकताको सवालमा कुनै गुनासो बाँकी रहने छैन । तराईको विकासमा २०४८ सालमा म स्थानीय विकास मन्त्री भएदेखि नै झापादेखि कञ्चनपुरसम्म कामका लागि खाद्यान्न कार्यक्रम लागू गरी गाडा हिँड्न मुस्किल बाटोहरूलाई गाउँ–गाउँमा चौडा सडक र पुलहरु निर्माण भए, सिँचाइका केही प्रबन्ध गर्ने काम भएको छ । शिक्षा र स्वास्थ्यमा सुधार आएको छ । तर यो कार्यक्रमहरूलाई तीव्रतासाथ अघि बढाएर तराईमा पर्याप्त सिँचाई सुविधा पु¥याई कृषि क्रान्ति ल्याउने र औद्योगिक विकासको जग हाल्ने काम मैले गर्नेछु । समानुपातिक प्रतिनिधित्वको व्यवस्थाद्वारा सेना, प्रहरी लगायत राज्यका हर क्षेत्रमा मधेशी जनताले न्यायोचित हक प्राप्त गर्न र स्वशासनको अनुभव गर्दै सम्मान र स्वाभिमानको अवस्था ल्याउन हर तरहले लागि पर्नेछु ।
· तराई मधेशका अभिव्यक्ति सम्बोधन गर्न आवश्यक परे संविधान संशोधनको थप प्रक्रिया अगाडि बढाउन म प्रतिबद्ध छु ।

समानुपातिक समावेशीता
७० वर्षदेखिको प्रयत्न पश्चात् नेपाली जनताका प्रतिनिधिहरूद्वारा निर्मित नेपालको नयाँ संविधानले मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा व्यापक परिवर्तन संस्थागत गरेको छ । संविधानमा अंकित ती प्रावधानहरूबाट वाञ्छित उद्देश्य प्राप्त गर्न र परिवर्तनको सही गन्तव्यमा पुग्न सबै नयाँ व्यवस्था तथा प्रावधानहरूलाई प्रजातान्त्रिक समाजवादको दर्शनमा आवद्ध गरी व्यवस्थित गर्नु जरुरी छ । मेरो प्रयास त्यस दिशामा केन्द्रित रहनेछ ।
· त्यसका लागि नयाँ संविधानले निर्दिष्ट गरेको परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्छ र त्यसका लागि म नेपाली कांग्रेसलाई सक्षम, क्रियाशील र जीवन्त पार्टी बनाउन चाहन्छु ।
· नेपाल राज्यको लोकतान्त्रीकरण गर्ने र नेपाली कांग्रेसमा आन्तरिक लोकतन्त्र सुदृढ गर्ने मेरो प्रयास रहनेछ ।
· संविधानले अंगीकार गरेको बहुलवादमा आधारित संसदीय प्रणाली र समावेशी लोकतन्त्रका माध्यमले लोकतान्त्रिक समाजवाद चरितार्थ गराउने उद्देश्यमा दृढतापूर्वक पार्टीलाई अघि बढाउने छु ।
· हाम्रो समाजको आधा आकाश ढाक्ने महिला, भविष्यका कर्णधार युवा, मेहनत र शिल्पका धनी दलित समुदाय, पौरखी आदिवासी जनजाति, धर्तीपुत्र थारु, साहसी मुसलमान, उद्यमशील मधेसी, पिछडा वर्ग र कर्णाली लगायत दुर्गम क्षेत्रलाई लक्षित गरी व्यापक रूपमा नेतृत्व विकास तालिम सञ्चालन गराउने छु र सिद्धान्तमा स्पष्ट र व्यवहारमा पोख्त जनशक्ति निर्माण गरिनेछ ।
· मेरो राजनीति भनेको विकासमुखी राजनीति र उत्पादनमुखी विकास हो । त्यसका लागि उत्पादनमुखी कार्यकर्ता तयार गरी स्वावलम्बी समाज निर्माण गर्ने हो । मुलुकको उन्नतिका लागि युवा जनशक्ति परिचालन गरेर श्रमको सम्मान गर्ने संस्कृति निर्माणमा अग्रसर हुनेछ ।
· ‘राज्य पुनःसंरचना’ लाई सार्थकता प्रदान गर्न एकात्मक राज्यलाई स्वायत्त प्रदेशहरू सहितको संघात्मक ढाँचामा ढाल्नुका साथै राज्यको परम्परागत विभेदकारी सामन्ती चरित्रमा आमूल परिवर्तन ल्याई नयाँ समतामूलक समाज निर्माण गर्ने तथा आर्थिक–सामाजिक रूपले पछाडि पारिएका महिला, दलित, आदिवासी जनजाति, थारु, मुस्लिम, मधेसी, पिछडा वर्ग, कर्णाली लगायत दुर्गम क्षेत्र, अल्पसंख्यक र सीमान्तकृत समुदायलाई न्याय र समानता दिलाई अन्त्योदय गराउने मेरो लक्ष्य हो ।
· विभिन्न कारण र व्यवधानले संविधानमा व्यवस्था भएका महिला, दलित, जनजाति, मधेसी, थारु, मुस्लिम, आदि समावेशी प्रतिनिधित्व लगायतका विषय सम्बोधन गर्न विधान संशोधन अघि सार्न सकिएन । तसर्थ अधिवेशन सम्पन्न भएको छ महिना भित्र नै महासमितिको बैठक डाकी यी सम्पूर्ण विषयको व्यवस्था गरिने छ ।
श्रमको सम्मान गर्ने संस्कृति
· हाम्रो देश असीम प्राकृतिक स्रोत र अपार सम्पदाले भरिपूर्ण हुँदाहुँदै पनि लाखौंको संख्यामा युवा जनशक्ति विदेशीरहेका अवस्था विद्यमान छ । यसको एउटा कारण दुईचार अक्षर पढ्यो कि त समाजमा श्रम गर्न संकोच मान्ने प्रवृत्ति हो । यो दृष्टिकोणमा परिवर्तन आउनुपर्छ । श्रमलाई हेलाँ गर्ने प्रवृत्तिमा परितर्वन आउनुपर्छ । महिलालाई हेर्ने दृष्टिकोण, दलितहरूलाई हेर्ने दृष्टिकोण, अल्पसंख्यक, उपेक्षित वर्गलाई हेर्ने दृष्टिकोणलाई बदलेर श्रमको सम्मान गर्ने संस्कृतिको विकास गराउनु पर्छ । त्यसो गर्न पर्याप्त प्रविधिको विकास पनि आवश्यक हुन्छ । नयाँ प्रविधि र नयाँ मानसिकता विकास गरेर यहीँ नै अनेक उत्पादनशील व्यवसाय निर्माण गर्न सकिन्छ । गाउँमै सेवा र सुविधा पु¥याएर त्यहीँको स्वच्छ हावापानीमा बसौँ–बसौँ बनाउन सकिन्छ । विदेशिएका जनशक्तिलाई स्वदेशमै फर्केर स्वरोजगारका साथ बसौँ–बसौँ बनाउन सकिन्छ । मेरो प्रयत्न त्यसतर्फ केन्द्रित रहनेछ ।
· त्यसका लागि, कस्तो कांग्रेस, कस्ता कार्यकर्ता, कस्ता नेता, कस्तो समाज, कस्तो परिवार, कस्तो देश र कस्तो परिवेश भन्ने विषयमा प्रभावकारी प्रशिक्षणको व्यवस्था मिलाउने छु ।
· पहिचान के हो, पहिचान कस–कसको हो ? पहिचान कसरी बचाउने ? नेपालका विविध जातजाति र भाषाभाषीका विशेषता र संस्कृतिको संरक्षण र सम्वद्र्धन कसरी गर्ने भन्ने जस्ता कुराहरूको तर्कसंगत उत्तर सहितको प्रशिक्षण सञ्चालन गरिनेछ ।

पूर्ण प्रेस स्वतन्त्रता
· नेपाली कांग्रेस स्थापनाकालदेखि नै वाक् स्वतन्त्रताको पक्षपाती भएकाले पूर्ण प्रेस स्वतन्त्रताको वकालत र रक्षा गर्नु कांग्रेसको चरित्र हो । प्रेसको आलोचनात्मक चरित्रलाई स्वीकार्दै राष्ट्रको समुचित हितका लागि पत्रकारिता क्षेत्रको भूमिका अपेक्षित छ ।
· पार्टीका हरेक गतिविधि तथा उपलब्धिहरुलाई जनतासम्म पु¥याउन र पार्टीप्रतिको जनताका गुनासा, सुझाव र मूल्याङ्कन ग्रहण गर्ने पहिलो आधार सञ्चार क्षेत्रलाई मानिने छ ।
· पत्रकारिता क्षेत्र बलियो भएमा मात्र पारदर्शिता, सुशासन, भ्रष्टाचारको न्यूनीकरण सम्भव हुन्छ । तसर्थ पत्रकारिताको विकास गर्दै पत्रकारहरुका समस्या समाधानका लागि कानून कार्यान्वयन, परिमार्जन, संशोधन र आवश्यक परेमा नयाँ कानून निर्माण पनि कांग्रेसको प्राथमिकतामा रहने छ ।
· प्रेस स्वतन्त्रताको रट मात्र लगाउनुभन्दा पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गर्ने आधारहरु तयार गर्नतर्फ जोड दिइने छ ।

खेलकुद, कला र संस्कृति
· नेपाली स्वाभिमान र पहिचानलाई बढावा दिँदै सबै नेपालीहरुलाई एकैपटक उत्साहित बनाउन सक्ने खेलकुद, कला र संस्कृति क्षेत्रलाई ‘राष्ट्रिय गौरवको क्षेत्र’ घोषणा गरी खेल र कलाकारिताको विकासका लागि पार्टीमा विशेष संरचना बनाइनेछ ।
· पछिल्लो समयमा खेलाडीहरुले देखाएको उत्कृष्ट प्रदर्शनले नेपाललाई विश्वमा चिनाएको छ भने नेपाली मनहरुलाई तरंगित पारेको छ । यो क्रमलाई निरन्तरता दिन पार्टीले खेल क्षेत्रमा क्षमता अभिवृद्धिको अभियान थालनी गर्न जरुरी छ ।
· नेपालीहरुबीच बढेको जातीय, भौगोलिक दूरीलाई कम गर्दै सबै नेपाली एक हौँ भन्ने प्रभावकारी सन्देश दिन खेलकुद, कला तथा संस्कृति क्षेत्र सक्षम देखिएको छ । यो सक्षमताको उच्च सम्मान गर्दै बलियो राष्ट्रिय एकता निर्माणमा यी क्षेत्रको योगदान अझ बढी बनाउन विशेष कार्यक्रम सञ्चालन आवश्यक छ ।
· नेपालको मौलिक विशेषता विभिन्न जातजातिको संस्कृति र परम्परामा आधारित रहेकाले त्यस्ता मौलिक संस्कृतिको सम्बद्र्धन र प्रबद्र्धनमा विशेष ध्यान दिइनेछ ।

युवा, विकास र राजनीति
· जनसंख्याको धेरै भाग ओगटेको युवा जनशक्ति विकासको केन्द्रविन्दु बन्न सकेको छैन, उनीहरुलाई भविष्यका कर्णधार भनेर वर्तमानमा उपेक्षा गरेको देखिन्छ । अत्यन्त सम्भावना भएका युवालाई सबै क्षेत्रमा उनीहरुको वर्तमान र भविष्यको निर्धारण गर्ने अवसरबाट बञ्चित गरिनु हुँदैन र हाम्रो पार्टीले पनि त्यस्ता अवसरको निर्माण गर्नु पर्दछ । युवा सम्बन्धी विद्यमान नीति तथा कानूनलाई उनीहरुकै सक्रियतामा समय सापेक्ष परिवर्तन गर्नु पर्ने हुन्छ ।
· युवा सम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यता र हाम्रा अनुभवलाई नेपाली युवाका हितमा हुने गरी त्यस्ता मूल्य मान्यतालाई अङ्गीकार गर्ने नीति तयार गरिने छ । साथै युवालाई सार्वजनिक तथा नागरिक चासो सम्बन्धी क्षेत्रमा उत्साहित गर्ने नीति तयार गरिने छ ।
· राजनीतिक विषयबाट युवालाई विमुख राखिने छैन, उनीहरुलाई आवश्यकीय तालिम तथा पार्टीको नीतिको बारेमा पर्याप्त जानकारीको अवसर प्रदान गरिने छ ।
· रोजगारी वा अन्य कार्यमा लामो समय विदेशमा बसी नेपालमा फर्केका युवा जनशक्तिलाई एउटा झण्डामुनि गोलबन्द गरी उनीहरुको क्षमता अनुभवलाई नेपाली समाजको विकासका लागि सदुपयोग गर्ने नीति अवलम्बन गरिने छ ।

प्राकृतिक प्रकोप
· प्राकृतिक प्रकोपबाट हामी सम्पूर्ण प्राणी जगत् पृथक् रहन सक्दैनौं । प्राकृतिक प्रकोपबाट हुने मानवीय क्षतिलाई पहिलो र ठूलो मानिन्छ । संवेदनशील अवस्थामा पार्टीले मानव समुदायलाई केन्द्रविन्दुमा राखेर प्राकृतिक प्रकोप व्यवस्थापन नीति तयार गर्नेछ र त्यो नीतिलाई संगठन मार्फत् जनतासम्म पु¥याइने छ । साथै तयार गरेको नीतिलाई सरकार समक्ष प्रस्तुत गरी कार्यान्वयनका लागि पहल समेत गर्ने छ ।
· गत वैशाखमा गएको भूकम्प वा बर्सात्मा गएको बाढीपहिरोबाट भएको क्षतिको अझै एकिन तथ्याङ्क प्राप्त भएको छैन । पुनस्र्थापनाको काम पनि निकै मन्द गतिमा अगाडि बढेको देखिन्छ । जनता अत्यन्त सम्वेदनशील अवस्थामा बाँचेका छन् । जनताको त्यसप्रकारको सम्वेदनशीलतामा हामी मूकदर्शक भएर बस्नु हुँदैन, तत्काल सहयोग जुटाई हामी र हाम्रो पार्टीले पनि कार्य अगाडि बढाउनु पर्छ । जनताको बीचमा विपद् परेको बेला कांग्रेस पार्टी मात्र विपद्को साथी हो भन्ने आभास दिनु पर्ने अनिवार्यता छ, व्यवहारबाट । अबका दिनमा प्राकृतिक तथा दैवी प्रकोप व्यवस्थापन नीति परिमार्जन सहित कार्यान्वयन गरिने छ ।

विकास कार्यमा संलग्न जनशक्ति
· राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थामा तथा नेपाल सरकारबाट निवृत्त भई विकास सम्बन्धी लामो अनुभव प्राप्त गरेका हाम्रो पार्टीसंग वैचारिक रुपमा सहमत रहन सक्ने अनुभव र विज्ञता हासिल गरेका जनशक्तिलाई देश विकासमा परिचालन गर्ने नीतिको तर्जुमा वा परिमार्जन गर्नुपर्ने देखिन्छ । यसबाट सामाजिक विकास मार्फत् पार्टीले जनताको सेवा गर्ने अवसर प्राप्त गर्ने छ । स्वेच्छिक रुपमा पार्टीका मूल्य र मान्यतालाई उहाँहरुको विज्ञतासँग जोडेर कार्य गर्न सकेमा यस क्षेत्रका विज्ञहरुबाट पार्टीलाई फाइदा पुग्ने र जनताले पनि त्यो ज्ञान सीप प्रयोग गर्न सक्नेछन्, त्यस किसिमका योजनालाई प्राथमिकता दिने नीति लिइने छ ।

डिजिटल कांग्रेस
· नेपाली कांग्रेस देशकै सबैभन्दा पुरानो र सर्वाधिक ठूलो पार्टी हो । पार्टी जति पुरानो छ यसको सञ्चालनको प्रक्रिया सोही अनुपातमा परम्परावादी छ । अब पार्टी सञ्चालन विधिलाई ‘डिजिटलाइज्ड’ बनाउनु जरुरी छ । आज कांग्रेसको अभिलेख पद्धतिप्रति थुप्रै टीका–टिप्पणी भइरहेका छन् । कार्यकर्ताको संस्थागत अभिलेख पद्धति विकसित छैन । मूल्याङ्कनको कुनै विधि छैन । धेरैजसो कुरा कागजका ढड्डामुनि थिचिएर रहन बाध्य छन् । यसको अन्त्य गरी अभिलेख राख्ने कुरालाई व्यवस्थित गर्न डिजिटल प्रणालीको प्रयोग गरिने छ । आधुनिक सूचना प्रविधिको उपयोग गर्दै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति निर्माणमा विशेष ध्यान दिन जरुरी छ ।

प्रतिष्ठान र प्रशिक्षण
· पार्टीको सिद्धान्त, नीति तथा कार्यान्वयन प्रक्रियाको जानकारी प्राप्त गर्न कम्तीमा पनि प्रमुख पार्टीका सबै तहका कार्यकर्तालाई अवसर दिनु पर्दछ । केन्द्रीय तहको प्रतिष्ठानबाट त्यस प्रकारका कार्यक्रम नियमित रुपमा हुने छ । साथै राज्य कोषबाट पार्टीका त्यस प्रकारका कार्यक्रम गर्नका लागि प्रबन्ध मिलाउनका लागि लबिङ गरिने छ । पार्टीले प्राप्त गरेको भोटको आधारमा राज्य कोषबाट केही आर्थिक व्यवस्था भए सबै पार्टीलाई सहयोग पुग्नेछ ।
· आगामी दिनमा प्रतिष्ठानलाई अझ बढी व्यवस्थित गरी प्रत्यक्ष्य पार्टीको अंग बनाएर स्थायी प्रकृतिको बनाउन पहल गरिने छ । प्रतिष्ठानको आफ्नै कार्यविधि हुने छ, विशेष गरी अनुसन्धान, अध्ययन, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न प्रतिष्ठान केन्द्रित हुनेछ । प्रतिष्ठानको अभिन्न अंगको रुपमा प्रशिक्षणको कार्यलाई अगाडि लगिने छ । क्षेत्रगत रुपमा प्रतिष्ठान र प्रशिक्षणलाई स्थायी प्रकृतिको बनाइने छ ।

गतिशील संगठन, विधिसम्मत सुशासन र समावेशी समृद्धि नै नेपाली कांग्रेसको मूल नारा हुनु पर्दछ । सबैभन्दा पहिला पार्टीलाई आदर्शमय बनाइने छ र त्यसैका आधारमा नेपाली कांग्रेसको नेतृत्वमा मुलुकलाई विधिसम्मत र समृद्ध बनाउन पहल गरिने छ । नेपाललाई लोकतन्त्रमय अर्थात् कांग्रेसमय बनाउने प्रतिबद्धता मैले बोकेको छु र यसमा तपाईहरु सबैले साथ दिनु हुनेछ भन्ने विश्वास लिँदै देशैभरि र विश्वभरिबाटै नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा सहभागी हुन आउनु भएका समस्त प्रतिनिधि साथीहरूसँग सभापतिका लागि मेरो उम्मेदवारीको औपचारिक घोषणा गरेको छु ।

कमेन्टहरु
Loading...