मानव बेचविखन विरुद्धको दिवसको अवसरमा विभिन्न कार्यक्रम

पोखरा, ८ भदौ /मानव वेचविखन विरुद्धको दशौं राष्ट्रिय दिवसको अवसरमा कास्की जिल्लाभर विभिन्न कार्यक्रम हुँदैछ । महिला तथा बालबालिका कार्यालय कास्कीले विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थासँगको सहकार्यमा सचेतनामुलक कार्यक्रम गर्न लागेको हो । एउटै लक्ष्य एउटै सार, मानव बेचविखनको अन्त्य हाम्रो सरोकार भन्ने नाराका साथ मनाईने दिवसका लागि अहिल्यैदेखि तयारी थालिएको कार्यालयकी प्रमुख तथा दिवस आयोजक समितिकी संयोजक लक्ष्मी जिसीले जानकारी दिईन् ।

मानव बेचविखन विरुद्धको दिवसको अवसरमा विभिन्न कार्यक्रम
मानव बेचविखन विरुद्धको दिवसको अवसरमा विभिन्न कार्यक्रम

दिवसलाई लक्षित गरी मानव बेचविखन विरुद्धका पर्चा पम्प्लेटिङ, बेचविखन विरुद्ध तिज गित प्रतियोगिता, डान्स बारका संचालक तथा ब्यवस्थापकहरुसँग अन्तरक्रिया लगाएतका कार्यक्रम हुनेछन् । दिवस सम्पन्न गर्नका लागि महिला तथा बालबालिका कार्यालयको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ ।

दिवसको दिन सञ्चालन हुने तिज गित प्रतियोगिताको संयोजन थ्रि एञ्जल रेडियोले गर्नेछ भने ब्रोसर छपाईको जिम्मा जिल्ला विकास समिति कास्की र कोपीला नेपालले लिएका छन् । यस्तै मिडिया प्रचारको जिम्मेवारी आदर्श समाज राष्ट्रिय दैनिक पत्रिकाका पत्रकार प्रकाश ढकाललाई दिईएको छ । दोहोरी साँझ, स्पा, मसाज सेण्टर, डान्स बार जस्ता क्षेत्रमा बढी मानव बेचविखन हुने गरेको गुनासो बढेको भन्दै यो बर्ष डान्स बारका सञ्चालक र ब्यवस्थापकलाई सचेत बनाईनेछ । यसको जिम्मेवारी भने जिल्ला प्रहरी कार्यालय कास्कीले लिएको छ ।

अघिल्ला बर्षहरुमा दोहोरी साँझ र मसाज सेण्टरमा कार्यक्रम गरिएकाले केही सुधार भएको छ, मूल आयोजक समितिकी संयोजक जिसीले भनिन्–यो बर्ष डान्स बारमा कार्यक्रम गर्नेछौ, उनीहरुलाई यस सम्बन्धि पछिल्लो कानुन र सर्बोच्च अदालतका आदेशहरुका बिषयमा जानकारी गराईने छ । यस बाहेक सिविनले पनि भदौ ११ गते हेमजामा मानव बेचविखन विरुद्धको अन्तरक्रिया कार्यक्रम गर्दैछ भने तालिम तथा सडक नाटक समेत हुनेछ ।

बुधबार एक कार्यक्रम गरी दिवस मनाउने बिषयमा निर्णय भएको हो । कार्यक्रमका सहभागीहरुले देशको कानुन एक आपसमा बाझिएकाले कारबाही गर्न समस्या भएको बताए । स्पाको नाममा ब्यवसाय दर्ता गरेर मसाज सेण्टर सञ्चालन भैरहेको छ, उनीहरुले भने–तर कारबाही कसैले गर्दैनन्, अनुगमन भएको छैन, यसको जिम्मेवारी कसले लिन्छ ? बनेका ऐन कानुन पनि कार्यान्वयनमा आउन नसकेको अधिबक्ता भुवन पराजुलीले बताईन् ।

दण्ड सजाएँका बिषयमा स्पष्ट ब्यवस्था नभएका कारण कारबाहीको दायरामा ल्याउन कठिनाई हुने गरेको उनको अनुभव छ । उनले बैदेशिक रोजगारीमा गएका महिलाहरु बढी बेचविखनमा परेका भन्दै देशमै रोजगारी सिर्जना गर्ने र महिलाहरुलाई सीप सिकाउने तर्फ जोड दिनुपर्ने बताईन् । कार्यक्रमका सहभागीहरुले समस्या आएपछि समाधान गर्ने भन्दा समस्याको जरो पत्ता लगाउनुपर्नेमा जोड दिए ।

नेपाल सरकारले चालू बर्षभित्रै पोखरामा महिला पुनःस्थापना केन्द्र समेत निर्माण गर्ने तयारी गरिरहेको छ । बेचविखनमा परेका महिलाहरुलाई तत्काल उद्धार गरेर राख्नका लागि पुनःस्थापना केन्द्र निर्माण गर्न लागिएको हो । त्यसका लागि आवश्यक भवन निर्माणको काम चालू बर्षदेखि नै सुरु हुने महिला तथा बालबालिका कार्यालयले जनाएको छ ।

कमेन्टहरु
Loading...