जि नाइनसँग प्रकट

पोखरा, २९ पुस /सुन्दर पर्यटकीय नगरी पोखरामा साइकल चलाउने नौ जना साइक्लिष्टिहरूको समूह जि नाइनद्वारा आयोजित ‘जि नाइनसँग प्रकट’ शनिबार साँझ सांग्रिलामा सम्पन्न ग¥यो ।

‘सिर्जनाको पनि मूल्य हुन्छ र स्रष्टाको सम्मान गर्नुपर्छ’ भन्ने उद्धेश्यले अग्रजलाई सम्मान र अनुजलाई प्रेरणा दिन जि नाइनले आफ्नो पहिलो प्रस्तुतिमा प्रणय गजलका मानक प्रतिभा प्रकटलाई उभ्याएको थियो ।

कार्यक्रमका संयोजक निरज थापाले प्रकट पगेनी ‘शिव’को परिचय दिएर, सयपत्री फूलको माला गलामा लगाएर, हातमा माइक थमाएर शुभकामना दिनसाथ प्रकटले ‘उठ्यो रिमै फेवातालमा छाल साँझपख…’ गजल वाचन गरे । उनले ढेड घण्टामा १८ वटा प्रेमिल गजल र आफ्नो रचना गर्भ सुनाएर स्रोतालाई लठ्ठ पारे ।

६३ वर्षे पाका प्रकटले ‘तप्प तप्प जलविन्दु…..’ गजल वाचन गरिरहँदा ४० कटेकाले ‘वान्स मोर’ को फर्माइस गुञ्जयमान बनाएका थिए । माया, पिरती र प्रेमिल गजलका सर्जक प्रकटले आफ्नो एकल वाचनको १६ औं शृङ्खला चलिरहेको जानकारी दिए ।

मेहफिलमा जमेकाहरुले मध्ये रातमा आफूलाई फोन गरेर गजल सुनाउनु अनुरोध गर्छन् । भाइसाथीहरु भेट हुँदा जाओस न एउटा गजल भन्छन् । हिजो आज यस्तोमा आफूले ‘नो’ भन्ने गरेको हुँदा यस्तै व्यवस्थित माहोलमा मात्रै गजल सुनाउने कुरा गरे ।

‘प्रकट पगेनीको लय र लिपि आम मानिसको भन्दा फरक छ । कहिले गुमनाम जस्ता लाग्छन् त कहिले शृङ्गारिक गजल मार्फत् युवा जमातको ढुकढुकी बन्छन् । आफ्ना रचनामा प्रेम र रोमान्स मात्रै होइन, घर गृहस्थी, सुखदुःखका सुसेली पनि हाल्ने प्रकट पगेनी ‘शिव’ एउटा सरल, इमान्दार, नम्र स्वाभावका सिर्जनशील व्यक्ति हुन् गजलकारलाई कार्यक्रममा यसरी चिनाइयो ।

हिउँद होस् या वर्षाद् भुकभुके अँध्यारोमै बिस्तारा छोड्छ जि नाइनले । निरन्तर निरन्तर साइकल चलाएर स्वास्थ्य, वातावरण, पर्यटन प्रवद्र्धनमा विगत ५ वर्षदेखि अभिछिन्न यो क्रियात्मक अभियान चलिरहेको छ । जि नाइन फेवादेखि रारासम्म, कास्कीको सिक्लेस, स्याङ्जाको स्वेक, सिरुवारी, पाल्पा तानसेन हुँदै रूपन्देहीको लुम्बिनी लगायत पहाडदेखि तराईसम्मको भूगोलमा गुडेको समूह हो ।

पोखराका ३० जना उद्यमी व्यवसायीका अर्धाङ्गिनी सहित ६० जनाको उपस्थित रहेको कार्यक्रममा छोराछोरी नल्याउन आग्रह गरिएको थियो । विशुद्ध दम्पत्तीहरूलाई मात्रै प्रणय गजल सुनाउने उद्धेश्यले आयोजित कार्यक्रमलाई हिउँदे र वर्षाकालीन दुईवटा ऋतुमा फरक फरक स्रष्टलाई ल्याउने लक्ष राखिएको संयोजक निरज थापाले उद्घोष गरेका थिए ।

गायक हिराकाजी श्रेष्ठले ‘यही हो पोखरा राजै यही हो पोखरा,’ निरज थापाले ‘अल्झेछ क्यारे पछ्यौरी, चिसो चिसो हावामा,’ तेजबहादुर गुरुङले ‘सबै मन बोलेर भन् जय जय नेपाल.., कलाकार किरण रञ्जितले ‘हे कान्छा मलाई सुनको तारा…,’ साथमा बुद्धिमान गुरुङ् धम्पूको नृत्य रहेको थियो ।

जि नाइनका सचिव प्रकाश बज्राचार्यले कविता वाचन गरेका थिए भने विक्रम उदासले तवलमा र प्रविण बुद्धाचार्यले गिटारमा साथ दिएका थिए ।

कमेन्टहरु
Loading...