पोखरामा उम्मेदवारी दर्ताका लागि दलहरु जुलुशसहित जाने तयारीमा

पोखरा, २१ कात्तिक / मंसिर १४ गते हुने कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि दलहरुले बिहीबार उम्मेदवारी दर्ता गर्दैछन् । दलहरुले उमेद्वारी दर्ता गर्न जादाँ शक्ति प्रदर्शन गर्ने दलबल सहित जाने तयारी गरेका छन् ।

मिनी जनमत संग्रहका रुपमा लिदै प्रतिष्ठाको विषय बनाएर शक्ति प्रदर्शन गर्न लागेका छन् । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि दिऊसो १ बजे सम्म समय तोकेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जुलुशसहित उम्मेदवारी दर्ता गर्न जाने तयारीमा छ । रवीन्द्र पत्नी विद्या भट्टराईलाई उम्मेद्वार बनाएको नेकपाले पूर्वाह्न ११ बजे उम्मेदवारी दर्ता गर्न जाने बताएको छ । पार्टी कार्यालय नयाँबजारबाट शुरु हुने जुलुश पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक, रत्नचोक, पर्यटन बसपार्कहुँदै निर्वाचन कार्यालयमा पुगेर उम्मेद्ववारी दर्ता गर्नेछ । उम्मेदवारी दर्ताका लागि जानुअघि नेकपाले विहान निर्वाचन कार्यालय स्थापना गर्ने नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए ।

त्यसै गरी नेपाली कांग्रेसले पनि दलबल सहित उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ । कांग्रेसले उम्मेद्वार खेमराज पौडेललाई अगाडि लगाएर जुलुशसहित उम्मेदवारी दर्ता गर्ने नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले जानकारी दिए । उनका अनुसार जुलुश पोखरा सभागृहबाट पूर्वाह्न १० बजे शुरु हुनेछ ।

जुलुश सभागृहचोक, सृजनाचोक, रत्नचोक, पर्यटन बसपार्क हुँदै निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेर फर्किने सभापति केसीले बताए । जुलुशमा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलसमेत सहभागि हुनसक्ने बताइएको छ ।

त्यसै गरि समाजवादी पार्टीले पनि पोखरा सभागृहबाटै जुलुश निकालेर उम्मेदवारी दर्ता गर्न जाने तयारी गरेको छ । उमेद्वार धर्मराज गुरुङलाई उम्मेद्वार बनाएको समाजवादी पार्टीले पूर्वाह्न ११ बजे पोखरा सभागृहबाट जुलुश निकालेर सृजनाचोक, रत्नचोक, पर्यटन बसपार्कहुँदै निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्ने तयारी गरेको समाजवादी पार्टीका प्रचार प्रसार संयोजक हुमबहादुर तमुले जानकारी दिए ।

साझा पार्टीले पनि जुलुशसहित उम्मेदवारी दर्ता गर्ने बताएको छ । तर अभद्र किसिमको तमासा नदेखाई सामान्य खालको जुलुशसहित उम्मेदवारी दर्ता गर्न जाने तयारी गरेको साझा पार्टीकी उम्मेद्वार रजनी केसीले बताइन् ।

कास्की क्षेत्र नम्बर–२ उपनिर्वाचनको तयारी, मतदाता बढे

राप्रपाले पृथ्वीचोकबाट जुलुशसहित उम्मेदवारी दर्ता गर्न जाने बताएको छ । रोमबहादुर भण्डारीलाई उम्मेद्वार बनाएको राप्रापले पार्टीका केन्द्रीय अध्यक्ष कमलबहादुर थापाको नेतृत्वमा बाजागाजा सहितको जुलुश लिएर उम्मेदवारी दर्ता गर्ने तयारीमा राप्रपा छ ।

विवेकशील नेपालीले भने उम्मेदवारी दर्तालाई सरल बनाउने भनेको छ । उसले जुलुश र ¥याली बिना नै उम्मेदवारी दर्ता गर्न जाने तयारी गरेको हो । विवेकशीले जमुना शर्मा सुबेदीले उम्मेद्वार बनाएको छ । अघिल्लो संघिय संसदका लागि भएको निर्वाचनामा कास्की २ मा १२ जना उमेद्वारले निर्वाचनामा भाग लिएका थिए ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त रहेको कास्की–२ मा ७१ हजार ८ सय ७१ जना मतदाता छन् । पोखरा महानगरपालिका ११ जिल्ला रहेको कास्की २ मा ३२ निर्वाचन स्थल र ९२ मतदान केन्द्र रहेका छन् ।

कमेन्टहरु
Loading...