पोखरा २८ मा कनेक्टिङ सडकको काम धमाधम

पोखरा, ६ जेठ/पोखरा महानगरपालिकाको पहाडी भूभागलाई केन्द्रसँग जोड्ने कनेक्टिङ सडकलाई स्तरोन्नति गर्ने कामलाई महानगरले अगाडि बढाएको छ । बहुवर्षीय योजनामा राखेर महानगरले काम थालेको हो ।

पोखरा २८ मा चार वटा सडकलाई कनेक्टिङ सडक योजनामा राखेर स्तरोन्नति गर्ने काम अहिले भइरहेको वडाध्यक्ष निर्मल दियाली सुनारले जानकारी दिए । उनका अनुसार पोखरा २८ को स्याङखुदी कँडेलगाउँ सडकलाई स्तरोन्नति गर्न ठेक्का सम्झौता भई काम सुरु भएको छ । नालासहित ८ मिटर फराकिलो सडक बनाएर ग्राबेलिङ गरिने वडाध्यक्ष दियालीले बताए ।

उक्त सडकको २ किमी सडकलाई स्तरोन्नति गरी ग्राबेलिङ गरिने छ । सडकको ७ ठाउँमा गरी १ सय २० घनमिटर ग्याबियन भरिने महानगरको सहरी पूर्वाधार महाशाखाका इन्जिनियर धुव्र भट्टराईले जानकारी दिए । उनका अनुसार सडकमा १ हजार १ सय २६ मिटर नाला निर्माण गरिने छ भने २ ठाउँमा कल्र्भट निर्माण गरिने छ ।

महानगरले उक्त काम गर्न एक करोडमा टेन्डर आह्वान गरेकोमा क्रिपेश एन्ड कृष्ण कन्सट्रक्सनले ६६ लाख ७१ हजारमा काम सक्ने गरी ठेक्का सम्झौता गरेको छ । आगामी भदौ सम्ममा उक्त काम सक्ने गरी निर्माण कम्पनीले सम्झौता गरेको हो । उक्त सडकको स्तरोन्नतिसँगै साविक माझठाना गाविसको स्याङखुदी, रैकर लगायतका ठाउँका बासिन्दालाई पोखराको केन्द्रसम्म आवतजावत गर्न सजिलो हुनेछ ।

ग्रामीण भेगका नागरिकलाई विकटबाट निकटमा ल्याउन कनेक्टिन सडकको योजनालाई प्राथमिकतामा राखेर महानगरले काम गरिहेको महानगरका प्रमुख मानबहादुर जिसीले बताए । पोखरा २८ कै झाझरमारे देउमाणी ओख्ले सडकको काम पनि धमाधम भइरहेको छ । नालासहितको ८ मिटर फराकिलो सडकको ३ ठाउँमा गरी २ सय घनमिटर ग्याबियन भरिने छ ।

पोखरा २८ का सब इन्जिनियर शिव केसीका अनुसार उक्त सडकमा एक किमी नाला र एक ठाउँमा कल्र्भट निर्माण गरिनेछ । सडकको ३ सय १० मिटर सडकलाई ग्राबेलिङ गरिने इन्जिनियर भट्टराईले बताए । यो सडकको काम गर्न भट्टराई बिल्डर्सले महानगरसँग ठेक्का सम्झौता गरेको छ ।

सडकलाई स्तरोन्नति गर्ने काम आगामी भदौसम्म सक्ने गरी निर्माण कम्पनीले गत चैत ११ मा सम्झौता गरेको हो । पोखरा २८ कै विजयपुरखोलादेखि काफलघराीहुँदै सुर्केमैदान सडक र आरुपाटादेखि कालिकास्थानसम्मको सडकलाई पनि स्तरोन्नति गरिने वडाध्यक्ष दियालीले बताए ।

कमेन्टहरु
Loading...