पोखरा, १ चैत्र/नेपाल मगर बुद्ध सेवा समाजको आयोजनामा चैत्र १३ गते पोखरामा अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलन हुने भएको छ । समाजले सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनको तयारीबारे जानकारी गराएको छ ।
सो अवसरमा जानकारी दिँदै सम्मेलन आयोजक समितिका संयोजक टीबी पुनमगर ‘रोशन’ले विश्व शान्तिका अग्रदूत महामानव गौतम बुद्धका दर्शन, साहित्य, संस्कृतिको पुनर्उत्थान र विकास गरी बौद्ध धर्मावलम्बीहरूबीच एकता तथा अन्य धर्मावलम्बीहरूसँग धार्मिक सद्भाव, सहिष्णुता, आपसी मेलमिलाप कायम राख्दै विश्व शान्ति स्थापनाका लागि सम्मेलनको आयोजना गरिएको जानकारी दिनुभयो ।
संयोजक पुनमगरका अनुसार यही चैत्र १३ गतेदेखि सुरु भइ १५ गतेसम्म हुने सो सम्मेलनमा विभिन्न कार्यपत्र प्रस्तुत हुनेछन् । पोखरामा चैत्र १३ गते उद्घाटन हुने सो सम्मेलनको बन्दसत्र पोखरा–३, नदीपुरस्थित पोखरा नगर विकास प्रशिक्षण केन्द्रको सभाहलमा यही १४ र १५ गते हुने संयोजक पुनमगरले जानकारी दिनुभयो ।
उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले उद्घाटन गर्ने सो सम्मेलनमा देश तथा विदेशबाट गरी करिब तीन सय प्रतिनिधि, पर्यवेक्षकको सहभागिता रहने समाजका केन्द्रीय अध्यक्ष क्या. देउबहादुर रानामगरले जानकारी दिनुभयो । सम्मेलनको बन्दसत्रमा मगर जाति र बुद्ध धर्म, नेपाल र विश्वमा बुद्ध धर्मको अवस्था, मगर समाजमा बुद्ध विहार, भिक्षु, गुरुमाहरूको अवस्था र स्थिति, बुद्ध धर्ममा रहेका यानहरूबीचको सम्बन्ध, मगर जातिका संस्कार कर्महरू आदि विषयहरूमा विभिन्न बौद्ध विद्वान्हरूबाट कार्यपत्र प्रस्तुत हुने अध्यक्ष रानामगरले बताउनुभयो ।
अन्तर्राष्ट्रिय मगर बौद्ध सम्मेलनलाई सफल बनाउन आफूहरू सक्रियतापूर्वक लागिरहेको जानकारी दिँदै नेपाल मगर संघका केन्द्रीय अध्यक्ष महेन्द्र थापामगरले मगर जातिमा धार्मिक र सांस्कृतिक रूपमा एकरुपता ल्याउन प्रयासरत रहेको बताउनुभयो ।