पोखराका तिन पत्रकार एउटै मञ्चमा सम्मानित

पोखरा , १३ असार/पोखरामा रहेर पत्रकारितामा सक्रिय तिन जना पत्रकार एउटै मञ्चमा सम्मानित र पुरस्कृत भएका छन ।नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा संचालित ३ विधाका पत्रकारिता पुरस्कार र सम्मानबाट पत्रकारहरु श्याम कुँवर, त्रिभुवन पौडेल र गिता रानामगर सम्मानित र पुरस्कृत भएका हुन ।उनिहरुलाई गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले ३ विधाका पुरस्कार र सम्मान अर्पण गरेका थिए ।

समाधान दैनिकमा कार्यरत पत्रकार श्यामनाथ कुँवरलाई पोखरा पत्रकारिता सम्मान अर्पण गरिएको छ । उनले सम्मानपत्र, दोसल्ला र नगद ३५ हजार १ रुपैयाँ प्राप्त गरेका छन । यसैगरी, नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष एवं पोखरा हटलाइन दैनिकमा कार्यरत पत्रकार त्रिभुवन पौडेललाई गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट प्रदान गरिएको छ । उनले सम्मानपत्र, दोसल्ला र नगद २५ हजार १ रुपैयाँ प्राप्त गरेका छन ।

यस्तै, एबिसि टेलिभिजनमा पोखरा संवाददाताका रुपमा कार्यरत गीता रानामगरलाई जगन्नाथ सिग्देल युवा प्रोत्साहन पत्रकारिता पुरस्कारबाट सम्मन गरिएको छ । उनले सम्मानपत्र, दोसल्ला र नगद ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेका छन ।सम्मानित पत्रकारहरुको परिचय पुरस्कार छनोट समितिका संयोजक बरिष्ठ पत्रकार कुसुमकेशव पराजुलीले वाचन गरेर सुनाएका थिए ।

पुरस्कार हस्तान्तरण पछि बोल्दै प्रदेश प्रमुख कुँवरले पत्रकारिता पेसा अत्यन्तै संवेदनशील पेसा भएकोले यसको गरिमा जोगाइ राख्न सबैलाई आग्रह गरे । उनले ‘लेखेबापत पत्रकार दण्डित हुनुपर्ने स्थिती आउन नहुने पनि बताए । सम्मान ग्रहण पछि बोल्दै पत्रकार श्यामनाथ कुँवरले पत्रकारिता क्षेत्रमा अझ धेरै दायित्व निभाउन बाँकी रहेको बताए । सम्मानित अर्का पत्रकार त्रिभुवन पौडेलले पुरस्कार र सम्मानले जिम्मेवारी बढाएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं कास्की शाखाका पूर्वअध्यक्ष रामकृष्ण ज्ञवालीले प्रस्तावित मिडिया विधेयकमा नागरिकका अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गरी आउनु गम्भीर विषय भएको बताए । उक्त विधेयक जस्ताको तस्तै पारित पत्रकारहरु भए कलम, कापी र आवाज सबै थन्काएर बस्नुपर्ने बाध्यता आइपर्ने तर्फ सचेत गराए । कार्यक्रम पत्रकार महासंघ कास्की शाखा अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भ​एको थियो ।

कमेन्टहरु
Loading...