अंग्रेजी वक्तृत्वकला प्रतियोगितामा अञ्जुली बोर्डिङ प्रथम

पोखरा, १७ जेठ / नेशनल प्याब्सान कास्कीले शुक्रबार आयोजना गरेको अन्तर विद्यालय स्तरीय अंग्रेजी वक्तृत्वकला प्रतियोगितामा अञ्जुली वोर्डिङ स्कूलकी छात्रा अस्मिता भण्डारी प्रथम भएकी छन् ।

प्रतियोगितामा रत्न ज्योति वोर्डिङ स्कूलकी छात्रा स्नेहा रानाभाट द्धितीय, द वइज्डम कास्की इंगलिस वोर्डिङ स्कूलकी छात्रा दिक्षा थापा तृतीय र डायमण्ड मोडेल स्कूलकी छात्रा मोनिका बुढाथोकी सान्त्वना भएका थिए ।

विजयी विद्यार्थीलाई ट्रफी र प्रमाण पत्र प्रदान गरिएको थियो । विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा नेशनल प्याब्सान कास्कीमा आवद्ध ३६ विद्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगिताको निर्णायकमा होमनाथ शर्मा पौडेल र घनबहादुर थापा रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रोफेशर विश्वराज अधिकारीले अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीलाई क्रियाशिल बनाउन एन प्याव्सान अग्रस्थानमा रहेको उल्लेख गरे ।

कार्यक्रममा नेशनल प्याब्सान गण्डकी प्रदेशका संयोजक यम खड्का, नेशनल प्याब्सान कास्कीका प्रथम उपाध्यक्ष तथा अतिरिक्त क्रियाकलाप प्रमुख शिवदत्त तिवारीले बोलेका थिए ।

नेशनल प्याब्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक प्रकाशराज वाग्लेले स्वागत र लिटर फ्लावर एजुकेशनल एकेडेमीका प्रिन्सिपल विष्णुहरि पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...