वैदेशिक रोजगारीको कथा ‘राहदानी’

चैत १२ देखि देशभर प्रदर्शन हुने

पोखरा, ८ चैत/वैदेशिक रोजगारका कठिनाई समेटिएको नेपाली फिल्म ‘राहदानी’ चैत १२ देखि देशभर प्रदर्शन हुने भएको छ । नेपाली फिल्म अश्लील, उद्देश्यबिहीन र सस्तो मनोरञ्जनका लागि बनिरहेको बेला राहदानी सकारात्मक सन्देश दिने प्रत्येक घर परिवारको कथा भएको फिल्म युनिटको दावी छ ।

वैदेशिक रोजगारीको कथा ‘राहदानी’
वैदेशिक रोजगारीको कथा ‘राहदानी’

प्रमोसनका लागि फिल्म युनिट यतिखेर देश दौडाहामा छ । आइतबार पोखरा आइपुगेको टोलीले पत्रकार भेटघाटमा वैदेशिक रोजगारमा जानुपूर्व सिक्नुपर्ने सीप, कानुन प्रक्रिया, रोजगारका दुःख, स्वदेशमै रोजगारको व्यवस्था लगायतका विषयबस्तुमा फिल्म केन्द्रित रहेको जनायो ।

सिने मनवल इन्टरप्राइजेजको दोस्रो प्रस्तुति राहदानीका लेखक एवं निर्देशक डब्बु क्षत्री हुन् । पत्रकार क्षत्रीले थुप्रै म्यूजिक भिडियो निर्देशनपछि ठूलो फिल्ममा हात हालेका हुन् । उनले भने, ‘फिल्म सम्पूर्ण युवा वर्गको कथा हो ।’ रेमिट्यान्स भित्रयाउने युवा स्वदेश फर्किदा रोगसँगै भएको उर्जा सकेर फर्किदै गर्दा सरकारको ध्यान स्वदेशमै रोजगारका अवसर सिर्जनातर्फ जानुपर्ने उनको जोड छ ।

निर्माता लक्ष्मीप्रसाद ढकाल फिल्म सफल हुनेमा आशावादी छन् । उनको यो पाँचौ फिल्म हो । मौलिक कथाबस्तु समेटेको र विदेशमा रहँदा अपनाउनुपर्ने सतर्क एवं सुरक्षा उपाय पालना गर्न फिल्मले प्रेरित गर्ने उनले बताए । कार्यक्रममा पूर्वगृहसचिव समेत रहेका फिल्मका गीतकार चण्डी श्रेष्ठ र पत्रकार विजय नेपाल पनि बोलेका थिए ।

३५ कलाकारले यो फिल्म हेरेपछि सम्बन्धित विषयमा तयार पारेको आर्ट सोमबार ठमेलको मिथिलायन आर्ट ग्यालरीमा शो हुन लागेको निर्देशक क्षत्रीले बताए । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत सहभागी यो फिल्म यसअघि मलेसियामा प्रदर्शन भैसकेको छ । निर्माण पक्षले बचत केही रकम अनाथ बच्चाको सहयोगार्थ प्रदान गर्दैआएको जनाएको छ । देशका झण्डै ८० फिल्म हलमा फिल्म प्रदर्शन हुँदैछ ।

फिल्ममा दयाहाङ राई, सिर्जना सुब्बा, रुपा खनाल, अशोक रिजाल, नवीन लम्साल, विनिता घिमिरे, मोनिका दाहाल, विकास जोशी, फूपु तेन्जिङ शेर्पा, दिनेश दुलाल, विधा कार्की, अस्मिता बस्नेत, लक्ष्मणविक्रम बस्नेत, आयुष्मा श्रेष्ठ, शैलेन्द्र बस्नेत, केशव घिमिरे लगायतको अभिनय छ । रिमा विश्वकर्मा आइटम डान्समा देखिन्छिन् । चेतन सापकोटा, गैरे सुरेस, जुगेल डंगोल, बसन्त सापकोटा संगीतकार रहेको यस फिल्ममा डा. गोविन्दप्रसाद कुसुम, शैलेन्द्र खनाल, डब्बु क्षत्रीले पनि गीत लेखेका छन् । हेटौडा, नारायणगढ, बुटवल, पोखरा, दमौली हुँदै युनिट आइतबार काठमाडौं प्रस्थान गरेको छ ।

कमेन्टहरु
Loading...