CAN

मतदानपछि मतपत्र देखाएमा १५ हजार जरिमाना, मतदानका बेला के के गर्न पाईंदैन ?

94

काठमाडौं, ३० वैशाख /कुनै मतदाताले मतदानपछि मतपत्र अरुलाई देखाउने पाइदैन ? देखाएमा मतदान अधिकृतले त्यस्तो मतदातालाई तत्कालै १५ हजारसम्म जरिवाना गर्न सक्नेछन्। त्यसति मात्र होइन, सार्वजनिक गरिएको मतपत्र मतपेटिकामा नखसाली छुट्टै राखिने छ, त्यो गणनामा समावेश गरिने छैन। अर्थात तपाईंको मत खेर जानेछ। आजको कान्तिपुर दैनिकमा राजेश मिश्रले लेखेका छन् ।

आइतबार स्थानीय तहका लागि जनप्रतिनिधि छान्ने निर्वाचन हुँदैछ। मतदाताको गोप्य मतबाट बढी मत ल्याएर पहिलो हुने उम्मेदवार विजयी हुनेछन्। संविधान र कानुनले मतदानलाई गोप्य राख्नुपर्ने प्रावधान राखेको छ। यसैले मतदाता स्वयंले चाहेमा पनि आफूले मत दिइसकेको मतपत्रलाई सार्वजनिक गर्न पाइदैन।

मतदान अधिकृतले त्यस्तो मतदातालाई तत्कालै १५ हजारसम्म जरीवाना गर्न सक्नेछ। त्यतिमात्र होइन सार्वजनिक गरिएको त्यस्तो मतपत्र मतपेटिकामा नखसाली छुट्टै राखिने छ। र, त्यो गणनामा समावेश गरिने छैन। निर्वाचन आयोगका सचिव गोपिनाथ मैनालीले मतदानको दिन मतदातालाई पनि आचारसंहिता लाग्ने बताए। ‘नागरिक अधिकार प्रयोग गर्न पाउँदा मतदाताले आफू निष्पक्ष भई मतदानको गोप्यता कायम गर्नसक्नुपर्छ,’ उनले भने ‘गोप्य मतदान गर्न पाउनु मतदाताको संवैधानिक अधिकार हो।

कसलाई मत संकेत गरेको हो, त्यो गोपनीय राख्नुपर्छ। कसैलाई देखाउन पाइन्न।’ उनले मतदान केन्द्रमा मोबाइल समेत लान नपाइने बताए। ‘मत संकेत गरेको तस्विर खिच्न वा सार्वजनिक गर्न दण्डनीय हुन्छ,’ उनले भने, ‘मतदाता आफ्नो कर्तव्य र अरुको अधिकारप्रति सचेत भई कसैको कर काप, डर वा प्रलोभनमा परी मतदान गर्नु हुन्न।’

आईतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ। कुनै मतदाता तोकिएको समय समाप्त भएपछि पुगेमा मतदान केन्द्रमा प्रवेश पाउने छैनन्। तर, मतदान केन्द्रमा प्रवेश गरेकाहरुले भने मतदान गर्न पाउनेछन्। कुनै मतदाताले मतपत्रमा चिन्ह लगाएर मतपत्र बाहिर लान पाउने छैनन्। त्यस्तो पाइएमा २५ हजारसम्म जरीवाना तिर्नुपर्ने हुनसक्छ।

तर, कुनै मतदाताले मतपत्र लिइसकेर मतदान गर्न नचाहेमा मतपत्र मतदान अधिकृतलाई फिर्ता गर्न सक्नेछन्। त्यस्तो मतपत्रको छुट्टै लगत भने राखिने छ। तर, मत संकेत गरेर फिर्ता गरेको रहेछ भने त्यस्तो मतपत्रलाई कर्मचारीले तत्कालै मतपेटिकामा हाल्नुपर्ने हुन्छ। निर्वाचन आयोगका कानुन महाशाखा प्रमुख सुशील कोइरालाले मतदाता, उम्मेदवार एवं निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी सबैले निश्चित अनुशासनको पालना गर्नुपर्ने बताए। कानुनले तोके विपरीतको काम जो सुकैबाट भए पनि कारवाहीको दायरामा आउने उनले जनाए।

निर्वाचन कसुर तथा सजाय ऐनले निर्वाचन अवधिमा दोषी पाइएका हरेक विषयमा सजाय निर्धारण गरेको छ। उक्त ऐनले मतदान, मतगणना वा निर्वाचन अवधिमा के गर्न नहुने विषय पनि प्रष्ट पारेको कोइरालाले बताए। अर्को मतदाताको नामबाट मतपत्र लिएर मतदान गरेको वा एकै व्यक्तिले एकपटक भन्दा बढी मतदान गरेको पुष्टी भएमा त्यस्तो व्यक्तिले २५ हजार रुपैयाँसम्म जरीवाना तिर्नुपर्ने हुन्छ। मतदान अधिकृतले तत्कालै त्यस्तो जरीवाना निर्धारण तोक्नसक्छ।

मतदान अधिकृतले जरीवाना तिर्न नसक्ने व्यक्तिलाई प्रहरी नियन्त्रणमा पठाउन सक्छ। कुनै व्यक्तिले नाम ढाँटी अर्काको नाममा मत खसाल्न आएको कसैले उजुरी गर्न चाहेमा तिनले एक सय रुपैयाँ धरौटी राखी निवेदन दिनुपर्ने हुन्छ।
मतदाताले मतदान गर्दा कुनै प्रकारको प्रचलित कानुन उल्लघंन गरेको पाइएमा वा मतपेटिकामा मतपत्र बाहेक अन्य केही वस्तु खसालेको पाइएमा १५ हजार रुपैयाँसम्म जरीवानाको भागिदार हुनसक्नेछन्।

कसैले मतादातालाई मतदान गर्न जानबाट रोकेको पाइएमा त्यस्ता व्यक्तिलाई मतदान अधिकृतले २५ हजारसम्म जरीवाना तोक्न सक्नेछ। मतदाता परिचयपत्र कब्जा गरी मतदानबाट बञ्चित गरेको पाइएमा त्यस्तो व्यक्तिलाई २५ हजारसम्मको जरीवाना वा ६ महिना कैद वा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था छ।

निर्वाचनमा संलग्न कर्मचारीले टाँसेको वा टाँस्न खोजेको कुनै सूचनामा कसैले कुनै व्यहोरा थपघट, केरमेट, सच्याउन, बिगार्न वा च्यातेमा २५ हजारसम्म जरीवानाको सजाय पाउनेछन्। त्यस्तै, मतदान अधिकृतको स्विकृत बेगर निर्वाचनमा प्रयोग गरिने वा प्रयोग गरिएका मतपत्र, मतपेटिका वा अन्य सामग्री निर्वाचनमा प्रयोग हुन निदई मतदान केन्द्र बाहिर वा अन्यत्र लगेमा त्यस्तो व्यक्तिलाई मतदान अधिकृत, अनुगमनकर्ता वा निर्वाचन अधिकृतले तत्कालै २५ हजारसम्मको जरीवाना तोक्न सक्नेछन्।

कानुनले प्रयोग गरिने वा गरिएका मतपत्र, मतपेटिका वा अन्य निर्वाचन सामग्री लुट्न, चोर्न, कब्जामा लिन, खोल्न, नष्ट गर्न वा निर्वाचनमा प्रयोग हुन नदिने किसिमले रोकावट गरेमा त्यस्तो व्यक्तिलाई १ लाख रुपैयाँसम्म जरीवाना वा दुईवर्षसम्मको कैद वा दुवै सजाय हुन सक्छ।