मुग्लिन–नारायणगढ सडकमा पहिरो खस्दा पुरिएर​ दुईको मृत्यु, एकतर्फी बाटो खुलाईयो

चितवन,  २१चैत/मुग्लिन–नारायणगढ सडक खन्डको घुमाउनेमा सोमबार​​ सुक्खा पहिरो खस्दा केही सवारी–साधन पुरिएका छन् भने दुई जनाको मृत्यु भएको छ ।त्यसैगरी दुई जना गम्भीर घाइते भएका छन् । सुक्खा पहिरो खस्दा पुरिएर मोटरसाइकलमा सवार लम्जुङ सुन्दरबजारका रेशराज राना र भारतीय नागरिक विनय कुमार कोइरीको मृत्यु भएको प्रहरीले जनाएको  छ ।

चितवनबाट काठमाडौ जाँदै गरेको ग १० ख ४८ ४४ नम्बरको मोटरसाइकलमा छोरा सन्दीपसँगै राना सवार थिए । मोटरसाइकल पुरिँदा उनका छोरा सन्दीप पनि घाइते भएका छन् ।पहिरोमा अझै केही मानिस पुरिएको आशंका गरिएको छ ।आज​ बिहान १० बजेतिर सडक माथिबाट ठूलो पहरो झरेर एउटा जिप, ट्यांकर, ट्रक र दुईओटा मोटरसाइकल पुरिएको मुग्लिन प्रहरीले जनाएको छ ।

पहिरोले गाडीहरु पुरेपछि सडक दिनभर अवरुद्ध बनेको थियो ।एस्काभेटरले पुरिएका गाडीहरुलाई साइड लगाएपछि अपराह्न देखि बाटो एकतर्फी सन्चालन गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा सडकमा खसेको पहिरोको केही भाग पन्छाएपछि एकतर्फी बाटो खुलेको प्रहरीले जनाएको छ ।

तर गाडीको लाइन निकै लामो भएकाले सबै गाडी पास हुन समय लाग्ने भएको छ । रातीसम्म दुइतर्फी सडक खुलाउनेगरी काम भैरहेको छ । पहिरोमा चारवटा गाडी र पाँचवटा मोटरसाइकल पुरिएका घटनास्थलमा रहेका चितवनका एसपी दीपक थापाले जानकारी दिए । सडक विस्तारका कारण मुग्लिन नारायणगढ सडक खण्डमा पटकपटक सुख्खा पहिरो खस्ने गरेको छ ।

कमेन्टहरु
Loading...