छतका पाइप काट्ने क्रम जारी

पोखरा, ७ जेठ /पोखरा उप–महानगरपालिका कार्यालयले मापदण्ड विपरित घरको छतबाट बर्षातको पानी बाहिर फाल्नेगरि जडान गरिएका पाइपहरु काट्ने क्रमलाई जारी राखेको छ । बर्षातको समय घरको छतबाट झरेको पानीले पैदलयात्रुलाई सास्ती हुने भएकाले उप–महानगरपालिकाले बुधबारदेखि पाइप काट्न शुरु गरेको थियो ।

उप–महानगरपालिकाले बुधवार पहिलो चरणमा पोखरा–४, सर्वेश्वर मार्ग र सिद्धार्थ मार्गका १५ वटा घरको ४४ वटा पाइप काटेको थियो । बिहिबार पोखराको वि.पि.मार्ग देखि सिदार्थचोकमा अवस्थित शालीकराम घिमिरेको घरका ४ वटा, तीर्थ श्रेष्ठको घरका ३ वटा, बिष्णु प्रसाद ढेवाजुको घरका २ वटा लगायत नारायण प्रसाद पराजुली, मीना गुरुङ, हेडम्ब पराजुली, इन्दिरा घिमिरे, तेज कुमार मल्ल, सुवर्ण कोइराला, केशब प्रसाद श्रेष्ठ, गोकर्णलाल श्रेष्ठ, सुन बहादुर पुन, इन्दु लिगल गरि १२ वटा घरको कुल २५ वटा पाइप काटेको उप–महानगरपालिकाले जनाएको छ ।

बर्षातको समय घरको छतबाट झरेको पानीले पैदलयात्रु बटुवालाई सास्ती हुने भएकाले तत्काल त्यस्ता पाइपहरु घरधनी आफैले हटाउन उप–महानगरपालिकाले अनुरोध समेत गरेको छ । अन्यथा, स्थानिय स्वायत्त शासन ऐन अनुरुप कारवाही प्रकृया अगाडी बढाउने सुरक्षा तथा निरिक्षण महाशाखा प्रमुख बसन्त चालिसेले बताए । उप–महानगरपालिकाले छतका पाइप काट्ने कार्य निरन्तर जारी रहने बताएको छ ।

पहिलो चरण अन्तर्गत शहरका मुख्य मार्ग एवम् चोकहरुमा पाइप काटिनेछन् । पोखराको महेन्द्रपुल, नयाँबजार, न्युरोड, सिदार्थचोक, पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक, नाकढुङ्गा लगायतका स्थानमा मापदण्ड विपरित छतमा जडान गरिएका पाइप उप–महानगरपालिकाले काट्नेछ । अन्य भित्री गल्लीहरुमा समेत अनुगमन र गुनासोको आधारमा प्राप्त सुचना अनुसार पाइप काटिने निमित्त कार्यकारी अधिकृत ओमराज पौडेलले जानकारी दिए ।

कमेन्टहरु
Loading...