स्वच्छ निर्वाचनका लागि नागरिक अभियान कास्कीमा

पोखरा, २४ वैशाख /स्वच्छ निर्वाचनका लागी नागरिक अभियान अन्र्तगत मानवअधिकार र निर्वाचन विषयक अन्र्तक्रिया पोखरामा सम्पन्न भएको छ । अन्र्तक्रिया कार्यक्रममा मन्तव्य राख्दै इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले राजनीतिक दल प्रतिको सर्वसाधरणको टुटेको मनोविज्ञानलाई आगामी स्थानीय तहको निर्वाचनका माध्ययमबाट दलहरूले पुनः जोड्ने सु–अवसर मिलेको बताए ।

इन्सेकका अध्यक्ष प्याकुरेलले हाम्रो देशको संविधानले स्थानीय सरकारको सपना देखेको र देखिएको सपना पुरा गर्न यस निर्वाचनले अधिकार संगसंगै दायित्व समेत थपेको बताए । कार्यक्रममा आफ्ना भनाई राख्दै पश्चिमाञ्चल क्षेत्रीय निर्वाचन प्रमु्ख गंगालाल सुवेदीले मतपत्रमा केहि अफ्ठेरोे रहे पनि निर्वाचनमा बदर मत संख्या घटाउन नागरिक समाजको पनि उत्तिकै दायित्व रहेको बताए ।

निर्वाचन कार्यलयलाई ब्यवस्थापकिय कठिनाइ र चुनौति रहेपनी निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन आफुहरू प्रयासरत् रहेको बताए । सुवेदीले देशभर ३६ प्रकारका मतपत्र रहेको जानकारी दिए । वैशाख २८ गतेबाट ३० गते सम्म मतदान केन्द्रबाटै मतदाता परिचयपत्र वितरण गरिने समेत क्षेत्रीय निर्वाचन प्रमुख सुवेदीले जानकारी दिए ।

सोही कार्यक्रममा स्वच्छ निर्वाचनका लागी नागरिक अभियानका सह–अध्यक्ष इन्द्र प्रसाद अर्यालले स्थानीय तहको निर्वाचनको पर्यवेक्षण गर्ने पर्यवेक्षकले कुनै किसीमको प्रभावमा नपरी पर्यवेक्षकले पालना गर्नुपर्ने आचारसंहिता पूर्ण पालना गर्नुपर्नेमा जोड दिए । निर्वाचनका लागी युवा साझा अभियानका अध्यक्ष लोकराज अवस्थीले अबको नेतृत्व युवाको हुनुपर्नेमा जोड दिँदै निर्वाचन आयोगले मत बदर नहुने गरी मतदाता शिक्षामा विशेष जोड दिनुपर्ने बताए ।

कार्यक्रममा महिला मानवअधिकार रक्षक संञ्जाल कास्कीकी अध्यक्ष जानकी शर्माले मतदाता शिक्षा महत्वपुर्ण रहेको भएपनि प्रभावकारी हुन नसकेको भन्दै निर्वाचनलाई सफल बनाउन सबै पक्षले आ–आफ्नो ठाउँबाट सकरात्मक सहयोग गर्नुपर्ने बताइन् । कार्यक्रममा आफ्ना भनाई राख्दै बरिष्ठ मानवअधिकारकर्मी तथा कार्यक्रमका अध्यक्ष टेकनाथ बरालले स्थानीय तहको निर्वाचनले महिलालाई अवसर दिए पनि दिएको अधिकारलाई स्थापित गर्न चुनौति रहेको बताउँदै देशलाई मानवअधिकार सम्पन्न बनाउन यो निर्वाचनले महत्वपुर्ण भुमिका खेल्ने बताए ।

जिल्ला स्थित नागरिक समाजका प्रतिनिधि, कानुन ब्यवसायी, पत्रकार, मानवअधिकारकर्मी लगायतको उपस्थिती रहेको कार्यक्रममा नेपाल मानव अधिकार संगठन कास्की शाखा अध्यक्ष नरेन्द्र बास्तोलाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलय पोखराका संयोजक शिब खकुरेलले गरेका थिए । स्वच्छ निर्वाचनका लागि साझा अभियानमा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक), नेपाल मानवअधिकार संगठन, निर्वाचन पर्यवेक्षण समिति नेपाल, सामुदायिक रेडियो प्रसारक संघ, बहिर्गमित पूर्व लडाकु नेपाल र निर्वाचनका लागि युवा साझा अभियान रहेका छन् ।

कमेन्टहरु
Loading...