एमाओवादीका सबै नेताको जिम्मेवारी हेरफेर

काठमाडौं, श्रावण २१ – एकीकृत माओवादीले नेताहरुको जिम्मेवारी व्यापक हेरफेर गरेको छ । साउन पहिलो साता भएको सातौँ विस्तारित बैठकले सबै नेताहरुको जिम्मेवारी हेरफेर गर्ने निर्णय अनुसार नयाँ जिम्मेवारी बाँडफाँड गरेको हो ।

एमाओवादीले सबै नेताको एकै पटक जिम्मेजारी हेरफेर गरेको यो पहिलोपटक हो । केही पहुँचवाला नेताहरुले एउटै कार्यक्षेत्रमा लामो समय ‘घर गरेको’ आरोप लागेपछि महाधिवेशन आयोजक समितिको शनिबार बसेको बैठकले ब्यापक जिम्मेवारी हेरफेर गरेको हो ।

उसले महाधिवेशनसम्मका लागि नेताहरुलाई नयाँ जिम्मेवारी दिएको हो । सरकारमा मन्त्री भएका नेताहरुले खासै जिम्मेवारी पाएका छैनन् । यसअघि खास जिम्मेवारी नपाएका नेताहरुले यसपटक अवसर पाएका छन् । अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ पक्षको सन्तुलन मिलाएर जिम्मेवारी बाँडफाँड गरिएको एक नेताले बताए ।

जसअनुसार अध्यक्ष पुष्पकमल दाहालले समग्र पार्टी, प्रधानमन्त्री एबं उपाध्यक्ष बाबुराम भट्टराई र परराष्ट्रमन्त्री एबं उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार, सचिब पोष्टबहादुर बोगटीले सरकार र केन्द्रीय कार्यालयको जिम्मा पाएका छन् । त्यस्तै निवर्तमान स्थायी समिति सदस्यहरु अमिक शेरचनलाई संयुक्त मोर्चा, दलहरुसँग वार्ता र सम्पत्ति छानविन आयोग, कृष्णबहादुर महरालाई संगठन बिभाग प्रमुख र विशेष व्युरो इञ्चार्ज, टोपबहादुर रायमाझीलाई सरकार र उद्योग, वर्षमान पुनलाई सरकार र शिक्षक संगठनको जिम्मेवारी दिइएको छ ।

यसअघि तत्कालीन महासचिब रामबहादुर थापाको संगठन बिभागको जिम्मेवारी महराले पाएका छन् । पूर्व स्थायी समिति सदस्यहरु लीलामणि पोखे्रलले पश्चिमाञ्चल, गिरिराजमणि पोख्रेललाई पूर्वाञ्चल, दीनानाथ शर्मालाई सरकार र वुद्धिजीवी संगठनको जिम्मा दिइएको छ । यसअघि शर्मा प्रवक्ता दिए ।

पार्टीको नयाँ प्रवक्तामा अग्नि सापकोटा चयन भएका छन् । उनले प्रचार बिभागको जिम्मा पनि पाएका छन् । पूर्व पोलिटब्युरो सदस्यहरु हरिबोल गजुरेलले मधेश, शक्ति वस्नेतले सुदूरपश्चिमान्चल, जनार्दन शर्माले जनवर्गीय संगठन र हिसिला यमीले महिला बिभागको जिम्मा पाएका छन् । अन्य नेताहरुको जिम्मेवारी यस्तो छः पूर्व लडाकु प्रमुख नन्दकिशोर पुनलाई युवा परिचालन, पूर्व डेपुटी कमान्डर चन्ददेव खनाललाई अवर्ध, पूर्व पोलिटब्युरो सदस्यहरु लोकेन्द्र विष्ट मगरलाई मगरात, देवेन्द्र पौडेललाई नेवा राज्य समितिको इञ्चार्ज बनाइएको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार पौडेलले राजधानीको महत्वपूर्ण जिम्मा पाएका छन् । त्यस्तै हेमन्त प्रकाश ओलीलाई लिम्वुवान, गोपाल किराँतीलाई कोचिला, हितराज पाण्डेलाई केन्द्रीय कार्यालय लेखा तथा अर्थ, राम कार्कीलाई अन्तराष्ट्रिय बिभाग, लेखराज भट्टराई भेरी कर्णाली, निनु चापागाइँलाई सांस्कृति, भीमप्रसाद गौतमलाई मिथिला, दिलबहादुर श्रेष्ठलाई नेवा मोर्चा र सोनाम साथीलाई स्कूल बिभाग प्रमुखको जिम्मा दिइएको छ ।

विश्वभक्त दुलाललाई ताम्सालिङ, विश्वनाथ साह भोजपुरा, नवराज सुवेदी थारुवान, लिलबहादुर थापालाई किराँत, डिलाराम आचार्यलाइै तमुवान, गिरिधारीलाल न्यौपानेलाई सेती महाकाली र विष्णु शर्मालाई प्रवासको जिम्मेवारी दिएको छ ।

महाधिवेशन माघ १४ मा

करिब २० वर्षदेखि हुन नसकेको एमाओवादीको महाधिवेन माघ १४ देखि हुने भएको छ । महाधिवेशन आयोजक समितिको शनिबार बसेको बैठकले महाधिवेशनको मिति तोकेको हो ।

‘माघ १४ गते सुरु भएर जनयुद्ध सुरु भएको दिन फागुन १ गते घोषणासभा गर्ने गरी महाधिवेशनको मिति तोकिएको छ’ नवनियुक्त प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

महाधिवेशनअघि गाउँ र जिल्ला र राज्यसमितिको अधिवेशन हुनेछन् । बैठकले असोज १६ गतेदेखि कात्तिक १ गतेसम्म गाउँ सम्मेलन, कात्ति १ देखि मंसिर १५ सम्म जिल्ला सम्मेलन र मंसिर १६ गतेदेखि पुस मसान्तसम्म राज्य समितिको अधिवेशन गर्ने निर्णय गरेको छ ।

लामो समयदेखि महाधिवेशनको कुरा उठे पनि हुन सकेको थिएन । महाधिवेशन गरी संगठनको पुनर्सचना नगरे पार्टी सुधार हुन नसक्ने निश्कर्ष निकाल्दै उसले मिति घोषणा गरेको हो । फुटेर गएको मोहन वैद्यले नेतृत्व गरेको नेकपा-माओवादीले पुसमा महाधिवेशन गर्ने घोषणा गरिसकेको छ ।

साभारः कान्तिपुर

कमेन्टहरु
Loading...