महामण्डलेश्वर स्वामीको पोखरामा के के गरे

पोखरा,२८ चैत । स्वामी महेश्वरानन्द महामण्डलेश्वर, परमहंशले योग र ध्यानको माध्यमबाट जीवनलाई सुखमय बनाउन सकिने बताउनुभएको छ । एक हप्ताको लागि पोखरा आउनु भएका स्वामीले आइतबार लेकसाइडमा रहेको होटल बिश्राममा प्रवचन दिँदै संस्कारयुक्त जीवन नै सुखमय हुने बताउनु भयो । श्रष्टिको रचनाकर्ता भगवान शिव भएको र शिवभूमि नेपाल नै भएकोले सबैले नेपालको भलो चाहनुपर्ने उहाँको भनाई थियो । एक अर्को प्रसंगमा उहाँले संसारको पहिलो आवाज नै ओम भएको र अमेरिकी अनुसन्धान संस्था नासाले समेत त्यसलाई प्रमाणित गरेको बताउनुभयो ।

उहाँले प्रवचन सुन्न भेला भएका बालबालिका तथा अन्य व्यक्तिहरुलाई विभिन्न योगका विभिन्न आसन सिकाउनुभयो भने आरती गर्दै भगवान बन्दना पनि गर्नुभयो ।  भारतको राजस्थान प्रदेशको पाली जिल्लाको सानो गाउँ रुपावासमा सन् १९४५ को १५ अगष्टका दिन जन्मनु भएका स्वामीले आफ्नो  सिँगो जीवन वैदिक सनातन धर्म एवं योगको प्रचारको लागि समर्पित गर्नुभएको छ ।

सन् १९७२ बाट योग र जीवनको प्रचारको लागि स्वामीजीले आष्ट्रिया,, चेक गणराज्य, स्लोभाकिया, जर्मनी, हंगेरी, क्रोएसिया, स्टेभानिया, बोस्निया, स्वीजरल्याण्ड, स्पेन,इटली, फ्रान्स, नेदरल्याण्ड, बेलायत, युक्रेन, जर्जिया, अष्टे«ेलिया, न्यूजिल्याण्ड, अमेरिका, क्यानडा, मेक्सिको लगायतका देशहरुमा प्रवचन दिँदै आउनुभएको छ ।

स्वामीजीले मानव अधिकारको संरक्षण, सहिष्णुता,, सर्वधर्म समभाव हेतु आफ्नो जीवन अर्पित गर्नुभएको छ । शान्ति दूतको रुपमा विख्यात स्वामी महेश्वरानन्दले गत ४० वर्षको दौरानको क्रममा विश्वका महान राजनेता र धार्मिक गुरुहरुलाई भेटेर धर्म चर्चा र पूर्वीय दर्शनलाई घरघरसम्म पु¥याउने जिम्मेवारी बहन गर्नुभएको छ ।

१९८७ मा नयाँ दिल्ली विश्व विकास संसदले स्वामीजीलाई स्वामी धर्म चक्रवर्ती, सार्वभौम जगत गुरुको अवार्डबाट सम्मानित गरेको थियो । यसैगरी सन् १९९८ मा हरिद्धारमा सम्पन्न महा कुम्भमेलाको अवसरमा महानिर्वाण अखडाद्धारा महामण्डलेश्वर , सन् २००१ मा प्राध्यापक तथा बनारसका संस्कृतका धुरन्धर विद्धानहरुको सभाबाट जगतगुरु शंकराचार्य एवं श्री स्वामी नरेन्द्र नन्दनजी सरस्वतीको समुपस्थितिमा विश्व गुरुको उपाधीले सम्मान गरिएको थियो । स्वामीजी कर्ममा विश्वास गर्नुहुन्छ र यही कर्मको क्रममा उहाँलाई विश्वका विभिन्न ठाउँमा अभिनन्दन गरिएको छ । सोमबार साँझ पाँच बजे पनि उहाँले प्रवचन दिने कार्यक्रम तय भएको छ ।

कमेन्टहरु
Loading...