बौद्ध दर्शनमा तमु समुदायबाट पहिलो खेन्पो सिरलामा गुरुङलाई पोखरामा स्वागत

पोखरा, ३ बैशाख/बौद्ध दर्शनमा तमु समुदायबाट पहिलो विद्यावारिधी(खेन्पो) हासिल गर्नुभएका पोखरा १० रामघाटस्थित बौद्ध अर्घौ सदनका प्रमुख लामा आचार्य थुप्तेन ऐशे शिरलामा गुरुङलाई शनिबार पोखरामा भव्य स्वागत एवं बधाई ज्ञापन गरिएको छ ।

दक्षिण भारतको मैसुरस्थित निङमा बौद्ध विश्वविद्यालयबाट वि.सं. २०६७ सालमा तमु समुदायमै पहिलो स्नातकोत्तर (आचार्य) हासिल गर्नुभएको शिर लामा गुरुङले २०७३ साल चैत्र २४ गते निङमा बौद्ध विश्वविद्यालयबाट विद्यावारिधी (खेन्पो) हासिल गरी शनिवार बौद्ध अर्घौ सदन गुम्बामा आगमनको क्रममा बौद्ध धर्मावलम्बी, विभिन्न समाजका अगुवाहरु र आफन्तजनले भव्य स्वागत गरेको हो ।

बौद्ध अर्घौ सदनको आयोजनामा भएको स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा सदनका सचिव मोतीप्रसाद गुरुङले कार्यक्रम संचालन गर्नुहुदै खेन्पो शिरलामा गुरुङको जीवनीका बारेमा जानकारी गराउनुभएको थियो भने कार्यक्रम सहभागीहरुले खेन्पो शिरलामा गुरुङलाई खादा, बुके र फूलबाट स्वागत एवं बधाईका साथै शुभकामना व्यक्त गरिएको थियो ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुदै खेन्पो शिरलामा गुरुङले स्वागत एवं बधाईका लागि सहभागीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले निङमा बौद्ध विश्वविद्यालयका रिम्पोछेहरुबाट खेन्पो पद हासिलले बौद्ध दर्शनको प्रचार प्रसारमा थप जिम्मेवारी महसुस गरेको बताउनुभयो । आचार्य प्राप्ति पछि आफुले बौद्ध दर्शन, बुद्ध धर्म प्रचार प्रसार, सामाजिक सेवामा विशिष्ट योगदान दिएको मुल्यांकन गर्दै रिम्पोछेहरुबाट विद्यावारिधी प्राप्त गरेको बताउनुभयो । उहाँ बौद्ध अर्घौ सदनको आफुलाई स्थानग्रहण नगराएको भए यति छिट्टै यो अवसर प्राप्त हुदैनथ्यो भन्नुहुदै श्रेय बौद्ध अर्घौ सदन र बौद्ध दर्शन, बुद्ध धर्मप्रति माया गर्नुहुनेहरुलाई दिनुभयो ।

खेन्पो गुरुङले बौद्ध दर्शन विज्ञान र व्यवहारिकताका साथै असल जीवन पद्धति भएकाले कर्मकाण्ड, संस्कार, परम्परासँगै मात्रै जोड्नु हुदैन,आधुनिक शिक्षा प्रणालीसँग जोड्नुपर्ने बताउनुभयो । बैज्ञानिक दर्शन भएकाले पश्चिमाहरु पनि बौद्ध दर्शनप्रति आकर्षित भईरहेको बताउनुहुदै गुरुङ(तमु) धर्म लामा संघ नेपालका केन्द्रीय अध्यक्ष समेत रहनु भएका खेन्पो गुरुङले नेपालमै बौद्ध दर्शनको महाविद्यालय स्थापनाका लागि संकल्प गर्नुभयो । आफुले खेन्पो हासिल गरे पनि आउदो जेठ ५ गते रिम्पोछेबाटै बौद्ध अर्घौ सदनमा आयोजना हुने विशेष कार्यक्रममा बौद्ध दर्शनमा विद्यावारिधी(खेन्पो) औपचारिक रुपमा ग्रहण गर्ने कार्यक्रम रहेको जानकारी गराउनुभयो ।

कमेन्टहरु
Loading...