कास्कीमा ३ सय ७० पदका लागि १५ सय बढिको उमेद्वारी

सागर राज तिमिल्सिना
पोखरा २० वैशाख/कास्कीका चार गाउँपालिका र पोखरा महानगर पालिकाको स्थानीय तहको निर्वाचनका लागि १५ सय बढिको उमेद्वारी परेको छ । कास्कीमा ३ सय ७० पदका लागि १५ सय ३२ जनाले उमेद्वारी दिएको पश्चिमाञ्चल क्षेत्रिय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुबेदीले जानकारी दिए । उनले पोखरा लेखनाथ महानगरपालिकाबाट ८ सय ६३ जनाले उमेद्वारी दिएको बताए । उनले पोखरा लेखनाथ महानगर पालिकामा ३३ वटा वडामा १ सय ६७ जना निर्वाचीत हुने छन् । पोखराका लागि ३३ वडा अध्यक्षका लागि २ सय ७ जनाले र १ सय ३२ जना सदस्यका लागि ६ सय ५७ जनाले उमेद्वारी दिएका छन् ।

कास्कीका मादी, माछापुच्छ्रे, अन्नपूर्ण र रुपामा गाउँपालिकामा ६ सय ६९ जनाले उम्मेदवारी मनोनयन गराएको निर्वाचन अधिकृतहरुले जानकारी दिए । मादी गाउँपालिकामा अध्यक्षका लागि पाँच र उपाध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ । मादी गाउँपालिकामा ५ वटा दल र स्वतन्त्र गरी १ सय ६९ जनाले उम्मेदवारी दिएका हुन् । १२ वटा वडा रहेको मादीमा ६२ जना निर्वाचीत हुने छन् ।

माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ । ९ वडा रहेको माछापुच्छ्रेमा अध्यक्ष, उपाध्यक्ष र सदस्य सहित ४७ जना निर्वाचित हुनेछन् । माछापुच्छ्रेमा ७ दल र स्वतन्त्र सहित अध्यक्षमा ८, उपाध्यक्षमा ६, वडा अध्यक्षमा ४०, महिला सदस्यमा ३३, दलित महिला सदस्यमा ३० र खुल्ला सदस्यमा ७२ गरी १ सय ८९ जनाको उम्मेदवारी परेको सुबेदीले जानकारी दिए ।

अन्नपूर्ण गाउँपालिकामा ७ जनाले अध्यक्ष र ५ जनाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । अन्नपुर्ण अनुसार ६ वटा राजनीतिक पार्टीबाट वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्यमा १ सय ९९ जनाले उम्मेदवारी दर्ता दिएका छन् । ११ वडा रहेको अन्नपूर्णमा ५७ जना निर्वाचित हुनेछन् ।

रुपा गाउँपालिकामा ७ जना अध्यक्ष र ४ जनाले उपाध्यक्षका लागि उम्मेदवारी दिएका छन् । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरु सहित ७ वटा राजनीतिक पार्टीबाट १ सय १२ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत लेखनाथ शर्माले जानकारी दिए । ७ वटा वडा रहेको रुपा गाउँपालिकामा ३७ जना निर्वाचीत हुने छन् ।

कास्कीमा निर्वाचन मार्फत ३ सय ७० जना निर्वाचीत हुनेछन् भने २ लाख २४ हजार ८ सय ११ जना मतदाता रहेका छन । १ सय ५० स्थलमा २ सय ८८ केन्द्र रहेका छन् भने कुल मतदाताको महिलाको संख्या १ लाख २० हजार २ सय ३० रहेको छ भने पुरुषको संख्या १ लाख ४ हजार ५ सय ७६ रहेको छ । पोखरा लेखनाथ महानगरपालिकामा १ लाख ६७ हजार मतदाता रहेका छन् । अन्नपूर्ण गाउँपालिकामा १५ हजार ५ सय ९६, त्यस्तै गरी माछापुच्छ्रे गाउँपालिकामा १६ हजार ३ सय १, मादी गाउँपालिकामा १३ हजार ५ सय ५९ मतदाता रहेको छ भने रुपा गाउँपालिकामा ११ हजार ३ सय १५ मतदाता रहेका छन् ।

कमेन्टहरु
Loading...