पोखरा २ मा जनचेतनामूलक कार्यक्रम

पोखरा, १२ जेठ /पोखरा–२ मा शनिवार जनचेतनामूलक कार्यक्रम गरिएको छ ।मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल तथा अर्चलवोट आमा समूहको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी पोखरा २ का वडाध्यक्ष रामेश्वर मल्लले हिंसालाई प्रश्रय दिन अधिकार कसैसँग पनि नभएको औँल्याउँदै समाजलाई सुसंस्कृत युक्त बनाउनुपर्नेमा जोड दिए । अध्यक्ष मल्लले अन्धविश्वासका कारण कतिपय अवस्थामा नागरिकहरु अकालमै मृत्युको मुखमा पुग्ने गरेको तर्फ सचेत गराउँदै समाजका कु–प्रथालाई जरैबाट तोड्नुपर्ने विचार राखे ।

मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष कोविदशरण उपाध्यायले प्रतिष्ठानले आगामि १५ वर्ष भित्र नेपालबाट बोक्सी कु–प्रथा उन्मुलन गर्ने लक्ष्य राखेको जनाए ।लक्ष्य प्राप्तिका लागि प्रतिष्ठानलाई आमा दिदीबहिनीको सहयोग अपरिहार्य रहने उनको भनाई थियो ।आमा समूहका सल्लाहकार वसन्त पराजुलीले समूहले रचनात्मक कार्य गरेको बताउँदै त्यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।

समूहकी पुर्व अध्यक्ष कल्पना सुवेदीले समाज सुसंस्कृत युक्त बन्न आम नागरिक सचेत बन्नुपर्ने औँल्याइन ।समूहकी अध्यक्ष कल्पना पराजुलीले समूहले रचनात्मक क्रियाकलापलाई महत्व दिर्दै आएको स्पष्ट पारिन ।समूहकी सहसचिव एवं कार्यक्रम संयोजक सुशिला बराल रेग्मीले समूहका सबै सदस्यहरुको सहयोगबाट कार्यक्रम सम्पन्न गर्न सम्भव भएको औँल्याएकी थिइन् ।

सो अवसरमा प्रतिष्ठानले निर्माण गरेको बोक्सी कु–प्रथा बिरुद्घको सामाजिक, शिक्षामूलक चलचित्र ‘अग्निदहन’ प्रदर्शन गरिएकोमा करिव डेढ सय जनाले अवलोकन गरेका थिए ।आमा समूहकी अध्यक्ष कल्पना पराजुलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष पुष्पा पराजुलीले स्वागत तथा कार्यक्रम संयोजक तथा समूहकी सहसचिव सुशिला वराल रेग्मीले संचालन गरेकी थिइन् ।

कमेन्टहरु
Loading...