लोमान्थाङ गाउँपालिकाको अध्यक्षमा विष्टको उमेद्वारी घोषणा

सागर राज तिमिल्सिना
पोखरा, ३ चैत /उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको अध्यक्षका लागि इन्द्रधारा विष्टले स्वतन्त्र रुपमा उमेद्वारी घोषणा गरेका छन् । लोमान्थाङ गाउँमा २०२६ सालमा जन्मिएका विष्टले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर स्वतन्त्र रुपमा उमेद्वारी दिने घोषणा गरेका हुन् ।

विष्टले मुलुकमा छाएको राजनीतिक अस्थिरता, बेरोजगारी, र स्थानीय तह वर्षौदेखि नेतृत्वविहीन बन्न पुग्दा जुनरुपमा उपल्लो मुस्ताङको विकास हुनुपर्ने हो त्यसो हुन सकेको बताउदै विकासका लागि आफ्नो उमेद्वारी भएको बताए ।
उनले हिडन किङ्डम भनेर सारा विश्वले चिन्ने लोमान्थाङलाई आफ्नै देशले चिन्न नसक्दा बताए । मुस्ताङ अझ त्यसमा पनि उपल्लो मुस्ताङको लोमान्थाङमा राजनीतिक आस्थाभन्दा पनि यहाँको संस्कार, संस्कृति, रीतिरिवाज र आस्थाले अनुशासनमा राखेको क्षेत्र भएको बताए । उनले लोमान्थाङको राजा मान्य संस्कार कायमै राख्नु पर्ने बताए ।

राजा राख्दा विदेशी पनि आउछन् त्यसो भए किन नराख्ने उनले भने । ‘राजाको मृत्यु पछि उनका छोरालाई राजा बनाउने मेरो लक्ष्य छ ।’ उत्तरको विशाल छिमेकी राष्ट्र चीनसँग सीमा जोडिएको र चीनको स्वशासित क्षेत्र तिब्बतको र यहाँको संस्कृति मिल्दोजुल्दो भएकाले पनि लोमान्थाङ गाउँपालिकामा अवसर र चुनौती दुवै रहेको बताए ।

इन्द्रधारा विष्ट
इन्द्रधारा विष्ट

उमेदवारी किन ?
१– लोमान्थाङ चीनसँग सीमा जोडिएको क्षेत्र हो, दुई देशको सुमुधुर सम्बन्ध मजबुद बनाउन र अन्तरदेशीय व्यापारलाई अगाडि बढाउन । चीनतिर तारबार लगाइएपछि यहाँको परम्परागत पशुपालनमा असर पु¥याएको हुँदा पशुको चरनमा लैजान ल्याउने परम्परालाई पुनर्जीवित गराउन ।

२– यो ठाउँको प्रमुख आएस्रोत पर्यटन हो, यहाँको पर्यटनलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याई पर्यटकको संख्या वृद्धि गर्न । लोमन्थाङका होटललाई व्यवस्थित र सुविधा सम्पन्न बनाउन एवं छोसेर तथा छोन्हुपमा होमस्टे सुविधा सुरु गर्न ।

३– कोरला नाका खोल्न स्थानीय स्तरबाट गर्नुपर्ने सम्पूर्ण काम पूरा गरी केन्द्र सरकारलाई थप दबाब दिन ।

४– स्थानीय उत्पादनलाई बढाउँदै व्यवस्थित बजारीकरण गर्दै जनताको जीवनस्तर उकास्न ।

५– हालसम्म पनि उपल्लो मुस्ताङमा उच्च शिक्षाको व्यवस्था हुन नसक्नु लाजमर्दो कुरा हो तर अब त्यो दिनको अन्त्य गर्दै शिक्षाको उज्यालो घामबाट कसैलाई पनि बञ्चित हुन नदिन । स्थानीय ल्होवा भाषालाई संरक्षण गर्दै यसैमा शिक्षा पाउने अधिकार दिलाउन ।

६– धेरै वर्षपछि उपल्लो मुस्ताङ सडक सञ्जालसँग जोडिएको छ, जुन सुखद कुरा हो, अब ती सडकलाई स्तरोन्नति र व्यवस्थित गर्दै बाह्रै महिना सञ्चालनमा ल्याउन ।

७– स्वस्थ्य रहनु पाउनु जनताको नैसर्गिक अधिकार हो तर यसो भनिरहँदा यो ठाउँमा एउटा पनि अस्पताल नहुनु बिडम्बना हो । एउटा सुविधा सम्पन्न अस्पताल निर्माण गरी जनता उपचारको अभावमा छटपटाउने दिनको अन्त्य गर्न । लोमन्थाङ क्षेत्रमा प्रचलित आम्चीले गर्ने परम्परागत उपचार पद्धतिलाई संरक्षण र आधुनिकीकरण गर्न ।

८– यहाँको प्राकृतिक स्रोतसाधन, ऐतिहासिक सम्पदा, जीवन्त संस्कृति र रीतिरिवाजको रक्षा गर्दै कालान्तरसम्म पर्यटनको मूल आकर्षण बनाइ राख्न ।

९– पर्यटन व्यवसाय र स्थानीय उत्पादनमा युवालाई आकर्षित गर्दै युवा स्वरोजगार कार्यक्रमलाई मूर्तरुप दिन ।

१०– जनतालाई सूचना प्रविधि, इमेल इन्टरनेटको सहज सुविधा दिन ।

११– सीमा सुरक्षाका लागि नेपाल सरकारले लिएको नीतिअनुसार स्थानीयस्तरबाट हातेमालो गर्दै अगाडि बढाउन ।

कमेन्टहरु
Loading...