हेमजामा विषादी न्यूनीकरण तथा रोग किरा रोकथाम तालिम

हेमजा, २६ असार/कास्कीको हेमजामा विषादी न्यूनीकरण तथा रोग किरा रोकथाम विषयक शुक्रबार देखि सञ्चालित ३ दिने तालिम सकिएको छ । चेतनशील महिला कृषक समुह पोखरा २७ हेमजाकोे आयोजना तथा पोखरा उपमहानगरपालिकाको सहयोग समन्वयमा तालिम सञ्चालन गरिएको थियो ।

पछिल्लो समयमा खेती तथा तरकारी वालीहरुमा रोग किराहरुको प्रकोप तथा विषादीको अत्याधिक प्रयोगले खेतीबाली आएको गुणस्तर तथा उत्पादन गिरावटलाई मध्यनजर गर्दे तालिमको आयोजना गरिएको चेतनशील महिला कृषक समुहले जनाएको छ । तालिममा पोखरा २७ हेमजा भित्रका टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधि र चेतनशिल महिला कृषक समुहका सदस्यहरु गरी ४० जना महिला कृषकहरुको सहभागिता रहेको छ ।

सहभागिहरुले रोग किरा नियन्त्रण तथा विषादीको न्यून प्रयोग सहित बेमौसमी तरकारी खेती सम्बन्धी जानकारी हासिल गरेका छन् । तालिममा क्षेत्रीय कृषि निर्देशनालयका बरिष्ठ कृषि अधिकृत्त धन बहादुर राना कृषि सेवा केन्द्र हेमजा गैरीका प्राविधिक सहायक गुरु प्रसाद अर्याल, चेतनशील आमा समुहको अध्यक्ष लक्ष्मी तिमिल्सिना लगायतले सहजीकरण गर्नुभएको थियो ।

तालिम समापन समारोहको अवसरमा बोल्दै प्रमुख अतिथि पोखरा उपमहानगरपालिका वातावरण शाखा अधिकृत निर्मल भण्डारीले दिन प्रतिदिन बढ्दै गईरहको वातावरण हास्र तथा कृषि क्षेत्रमा प्रयोग भएको विषादी तथा रोक किराको प्रकोप नियन्त्रण तर्फ कृषकहरुले बेलैमा ध्यान दिनुपर्ने बताउनुभयो ।

चेतनशिल कृषक महिला समुहका अध्यक्ष लक्ष्मी तिमिल्सिनाको अध्यक्षतामा सञ्चालित समापन सत्रको अवसरमा सहभागीहरु मध्येको तर्फबाट गंगा पराजुली थापा, प्रशिक्षक गुरुप्रसाद अर्याल लगायतले बोल्नुभएको कार्यक्रममा उपाध्यक्ष प्रजिता तिमिल्सिनाले धन्यवाद ज्ञापन र सचिव विन्दु भण्डारीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...