गजल प्रतिभा पुरस्कार कपिललाई, सम्मान रविलाई

पोखरा, १९ साउन/यसपटकको गजल प्रतिभा पुरस्कारबाट गजलकार कपिल शर्मा र गजल प्रतिभा सम्मान रवि प्राञ्जललाई प्रदान गरिने भएको छ । गजल सन्ध्या, पोखराले हरेक वर्ष मोती जयन्तीका अवसरमा प्रदान गर्दै आएको पुरस्कार यसवर्ष गजलकार शर्मा र सम्मान प्राञ्जललाई प्रदान गर्न लागिएको हो ।

गजलकार दीपक समीपको संयोजकत्वमा लक्ष्मण थापा, उदीपराज ढुंगाना सदस्य र सन्ध्याका कार्यावाहक अध्यक्ष अमृत सुवेदी तथा सचिव मोहन भण्डारी पदेन सदस्य रहेको प्रतिभा छनौट समितिले कपिल र रविलाई दिने निर्णय गरेको संयोजक समीपले जानकारी दिए । पश्चिमाञ्चल क्षेत्रमा जन्मेका वा कर्म गर्दै आएका र गजल संग्रह प्रकाशित गरेका व्यक्तिहरुबाट पुरस्कारका लागि कपिल छनौट भएका हुन् ।

कपिल शर्मा
कपिल शर्मा

पर्वतमा जन्मेर डेढ एक दशकदेखि पोखरेली साहित्यमा क्रियाशील शर्माको ‘तस्बिरमा दोसल्ला’ गजल संग्रह प्रकाशित छ । सन्ध्याको पूर्व अध्यक्ष समेत रहेका शर्मा अक्षरयात्रा प्रतिभा पुरस्कारबाट सम्मानित भइसकेका छन् । उनी युथ क्रियशन थियटरका अध्यक्ष पनि हुन् । शर्माले गजलसँगै कविता, मुक्तक, नाटक लगायतका विधामा पनि कलम चलाउँछन् । देशको कुनै पनि ठाउँमा रहेर नेपाली गजल क्षेत्रमा विशेष योगदान पु¥याउने स्रष्टाहरुमध्येबाट छनोट गरी गजल प्रतिभा सम्मान प्रदान गर्ने गरिएको संयोजक समीपले जानकारी दिए ।

रवि प्राञ्जल
रवि प्राञ्जल

साहित्यकार रवि नेपाली गजलको पुनर्जागरण कालपछि लेखन र गजल प्रवद्र्धनमा क्रियाशील छन् । काठमाडौंमा जन्मेर क्रियाशील रविका आँसुका फूलहरु, तारिदेऊ न माझि दाइ, उही बाढी उही भेल लगायत गजल संग्रह प्रकाशित छन् । घामका झुल्काहरु गीत गजल संग्रह, आगत गीति क्यासेट, प्यालामा आँसु गजल एल्बम निकालेका छन् ।

२०३६ सालमा ‘सन्ध्या प्रभात’ कविता प्रकाशित गरी साहित्य यात्रा थालेका रवि गजलश्री सम्मान, सुदुर पश्चिम गजल मञ्च सम्मान, गजल मञ्च मकवानपुद्वारा सम्मान र अनेसास बोष्टन अमेरिकाद्वारा सम्मानित भइसकेका छन् । यसअघि गजल प्रतिभा पुरस्कारबाट रुपक वनवासी, इन्द्रकुमार विकल्प, गोविन्दराज विनोदी, कमल पौडेल ‘अथक’, दीपक समीप, आरके अदीप्त गिरी र बाबु त्रिपाठी पुरस्कृत भइसकेका छन् ।

सम्मानबाट यसअघि ललिजन रावल, लक्ष्मण थापा, कृष्ण उदासी, दिलिप दोषी, सरस्वती श्रेष्ठ सरु, प्रकट पगेनी शिव, आरबी फ्लेम, ईश्वरमणि अधिकारी, घनश्याम परिश्रमी, अनुराग अधिकारी लगायत सम्मानित भइसकेका छन् । मोती जयन्तीको अवसरमा भदौ ११ गते पुरस्कार तथा सम्मान गरिने कावा अध्यक्ष अमृत सुवेदीले जानकारी दिए ।

कमेन्टहरु
Loading...