फेवाताल किनारमा वृक्षरोपण

पोखरा, ३१ जेठ /सामुदायिक सेवा केन्द्र बैदामको आयोजनामा फेवाताल किनार खहरेघाट देखि बंगलादी गैराको चौतारो सम्म वृक्षारोपण गरिएको छ ।

पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले पामको विरुवा रोपी शुभारम्भ गर्दै कंक्रीटयुक्त विकासले शहरलाई घेरिरहेको अवस्थामा वातावरण संरक्षणका लागि रुखविरुवा रोप्ने जस्तो राम्रो कार्य अरु नहुने बताए ।

उनले बोटविरुवा रोपिसकेपछि संरक्षण गरी यसलाई हुर्काउनु महत्वपूर्ण हुने भएकोले आ–आफ्नो क्षेत्रमा पर्ने विरुवालाई विशेष हेरचाह गर्न अनुरोध गरे ।

कार्यक्रममा वडा प्रहरी कार्यालय बैदाम प्रमुख कोमल शाह, महानगर वातावरण अधिकृत निर्मलमान सिंह भण्डारी, पश्चिम क्षेत्रीय प्रहरी गणका प्रनानि गोपाल थापा, वडा सदस्य हरिकृष्ण पहारी, नागरिक समाज पोखराका संयोजक विष्णुहरि अधिकारी, सल्लाहकार पम्फा पहारी लगाएतले विरुवा रोप्दै विरुवा रोप्नु मात्रै नभएर हुकाउनु पर्ने बताए ।

पोखरा महानगरपालिकाको सहयोगमा बोटल पाम जातका विरुवाहरु रोपि पुराना ट्रि गार्डलाई मर्मत गरी पुनःव्यवस्थापन गरिएको कार्यक्रम संयोजक ठाकुर प्रसाद बरालले जानकारी दिए । सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष मिना भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कमेन्टहरु
Loading...