यस्तो रह्यो वर्ष २०७३ ,फर्केर हेर्दा !!!

काठमाडौं,  ३१चैत/बिहीबार २०७३ सालको अन्तिम दिन । शुक्रबार २०७४ सुरु हुँदैछ । यतिबेला देश विदेशमा रहेका नेपालीहरु नयाँ वर्षलाई स्वागत गर्ने तयारीमा छन् ।नयाँ वर्षलाई स्वागत गर्दा बिदा हुन लागेको वर्षलाई पनि सम्झना गर्ने गरिन्छ । बिदा हुनै लागेको २०७३ साल उत्साह, उमंग र नयाँ संभावनाको वर्ष हुन पुग्यो । लामो समय वादविवादमा अल्झिएका दलहरु वर्षको अन्त्यतिर संविधान कार्यान्वयनका लागि स्थानीय चुनावको गर्ने निर्णय पुगेका छन् ।

वैशाख ३१ गतेका लागि तय भएको चुनावले २० वर्षपछि स्थानीय तहमा जनप्रतिनिधि आउँदै छन् भने अर्कोतर्फ संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो पूरा हुनेछ । २०७४ लाई धुमधामका साथ स्वागत गर्ने तयारी भइरहँदा राजनीतिक, आर्थिक क्षेत्रमा आशाका किरणहरु देखिन थालेका छन् । २०७३ मा भएका केही मुख्य घटनालाई स्मरण गरौं ।

  • राजनीतिक हिसाबले २०७३ साल पनि अघिल्ला वर्षहरु जस्तै अस्थिर वर्षको रुपमा रह्यो ।
  • ठीक एक वर्षअघि २०७३ साल सुरु हुँदा भारतीय नाकाबन्दीको कारण नेपालको राजनीतिक र आर्थिक सामाजिक क्षेत्रमा परेको असर बाँकी नै थियो ।
  • २०७३ सालले लामो समयदेखि लोडसेडिङ्को मार भोग्दै आएका नागरिकले राहत महसुस गरे । भदौ २९ गते कुलमान घिसिङ् विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख भएसँगै दैनिक १२ घण्टाभन्दा बढी हुँदै आएको लोडसेडिङ अन्त्य हुँदा नेपालीको दैनिकीमै ठूलो राहत महसुस भइरहेको छ ।
  • संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसी मोर्चाले गरेको आन्दोलन अझै औपचारिक रुपमा अन्त्य हुन सकेको छैन । मधेसमा आन्दोलनका कारण ५६ जनाको ज्यान जाँदासमेत २०७३ सालमा समाधान निस्कन सकेन ।
  • यही वर्ष असार ६ गते अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती आक्रमणमा १३ नेपालीको मृत्यु भयो । त्यस घटनापछि सरकारले अफगानिस्तान लगायत केही असुरक्षित देशमा रोजगारीका लागि जान प्रतिबन्ध लगायो ।
  • साउन १९ गते प्रधानमन्त्रीमा पुष्पकमल दाहाल निर्वाचित हुनुभयो । एमाले अध्यक्ष केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव पारित गर्दै कांग्रेस– माओवादीले प्रचण्डको नेतृत्वमा सरकार बनाएका हुन् ।
  • असोज ९ मा पूर्वगृहमन्त्री तथा मुख्य मुख्यसचिव माधव घिमिरको  दुर्घटनामा ज्यान गयो । परिवारसहित मुक्तिनाथ दर्शन गरेर फर्किने क्रममा त्रिशुली नदीमा घिमिरे चढेको गाडी खसेको थियो । उहाँको शव अझै फेला परेको छैन ।
  • अख्तियार प्रमुख लोकमानसिंह कार्कीको क्रियाकलाप यो वर्ष निकै चर्चामा रह्यो । कार्कीले पटकपटक सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै व्यक्तिगत रीसिबी राखेर काम गर्न थालेपछि कात्तिक ३ गते एमाले र माओवादीका सांसदले महाअभियोग प्रस्ताव दर्ता गरे । तर, दलहरुले महाअभियोग प्रस्तावलाई निष्कर्षमा पुर्‍याउन आनाकानी गरिरहेकै बेला सर्वोच्च अदालतले पुस २४ गते लोकमानलाई प्रमुख आयुक्त हुन योग्यता नै नपुग्ने फैसला गर्‍यो ।
  • यो वर्ष प्रधानमन्त्री पुष्पकमल दाहालको भारत र चीन भ्रमण पनि चर्चाको विषय बन्यो । दाहालले भदौ ३० गतेदेखि असोज २ गतेसम्म भारतको औपचारिक राजकीय भ्रमण गर्नुभयो । भारतको गोवामा भएको विमेस्टेक सम्मेलनमा सहभागी हुँदा प्रधानमन्त्री दाहालले एकैपटक चीनका राष्ट्रपति सि जिङपिङ र भारतीय प्रधानमन्त्रीलाई होटलमा भेटेको कुरा पनि चर्चाको विषय बन्यो । त्यस्तै, यही चैत १० गतेदेखि १३ गतेसम्म प्रधानमन्त्री प्रचण्डले बोआओ फोरम फर एसिया सम्मेलनमा सम्बोधन गर्न चीनको औपचारिक भ्रमण गर्नुभएको थियो । भ्रमणका क्रममा पारवाहन सम्झौता कार्यान्वयनको पहल हुने अपेक्षा गरिए पनि त्यसो हुन सकेन ।
  • भारतीय राष्ट्रपति प्रणव मुखर्जीले यही वर्ष कातिक १७ देखि १९ सम्म नेपालको औपचारिक भ्रमण गर्नुभयो ।
  • यो वर्ष राप्रपा नेपाल र राप्रपाबीचको एकीकरणले पनि राजनीतिक बृत्तमा ठूलै चर्चा पायो । मंसिर ६ गते एकीकरणको औपचारिक पत्रमा हस्ताक्षर गरेका दुई दलले माघका एकता महाधिवेशनसमेत गरिसकेका छन् ।
  • सुरुदेखि नै संविधानप्रति असन्तुष्टि राख्दै आएका मधेसी मोर्चाको माग पूरा गर्न सरकारले मंसिर १४ गते संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्‍यो । तर, प्रमुख प्रतिपक्षी दल एमाले र मधेसी मोर्चाकै असहमतिका कारण सरकारले संशोधन प्रस्ताव फिर्ता लिएर फेरि अर्को ११ बुँदे संशोधन प्रस्ताव दर्ता गरेको छ ।
  • २० वर्षदेखि हुन नसकेको स्थानीय चुनाव वैशाख ३१ मा गर्ने निर्णय सरकारले फागुन ९ गते गर्‍यो ।
  • आठ वर्षदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियकको चुनाव पनि यही वर्ष भयो । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्ववियुको चुनाव गराए पनि उपत्यकाका मुख्य मुख्य क्याम्पसमा भने चुनाव हुन सकेन ।
  • एमालेले फागुन २१ देखि थालेको मेची महाकाली अभियान यो वर्ष चर्चाको विषय बन्यो । काँकडभिट्टाबाट सुरु भएको अभियना फागुन २३ गते सप्तरीमा पुग्दा मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गर्न खोज्दा ५ जनाको ज्यान गयो ।
  • फागुन २६ गते कञ्चनपुरको आनन्द बजारमा भारतीय सशस्त्र प्रहरी बलको गोली लागेर गोविन्द गौतमको निधन भयो । नेपालभर घटनाको विरोध भइरहेका बेला भारतीय दूतावासले निकालेको विज्ञप्ति झन विवादित बनेको थियो । भारतीय पक्षले माफी माग्नु पर्ने आवाज उठे पनि उसले अझै गल्ती स्वीकार गरेको छैन ।
  • ६० वर्षदेखि रहँदै आएको स्थानीय निकायको संरचना फागुन २८ गतेदेखि स्थानीय तहमा परिणत गर्‍यो । पुनसंरचना आयोगले दिएको सात सय १९ स्थानीय तहमा २५ वटा थप्दै सरकारले अधिकारसम्पन्न सात ४४ स्थानीय तह कार्यान्वयनमा ल्याएको हो ।
  • २०७३ सालबाटै प्रवेशिका परीक्षा पनि भनिने एसएलसी परीक्षा प्रणालीमा व्यापक परिवर्तन गर्दै कुनै पनि परीक्षार्थी फेल नहुने गरी प्रवेशिका परीक्षाको परीक्षाफल अक्षरांकन पद्धति थालियो ।
  • यो वर्ष कला क्षेत्रका चर्चित व्यक्तिहरुको निधन हुनु पुग्यो । वर्षको सुरुमै वैशाख १२ गते थिन्ले डेन्डुपको दुर्घटनामा ज्यान गयो । चलचित्र ‘क्याराभान’का नायक थिन्लेको डोल्पा सदरमुकामबाट आफ्नो गाउँ फर्किदा घोडाबाट भीरमा खसेर ज्यान गयो । राष्ट्रिय गानका संगिताकार अमर गुरुङको निधन यही वर्ष जेठ २५ गते भएको थियो । त्यस्तै भदौं ९ गते मा चर्चित गीत ‘वारी जमुना पारी जमुना पारी जमुना’ का गायक खेमबहादुर गुरुङको काठमाडौंमा निधन भयो ।
  • गायक, एरेन्जर तथा गिटारिष्ट सुनिल बर्देवा, हास्य कलाकारका रुपमा चर्चित ‘लाजाराम’ नामले परिचित आरपी भट्टराईको समेत निधन हुन पुग्यो । पुस १४ गते साहित्यकार कमलमणि दीक्षित स्वर्गेवास हुनुभयो । उहाँ दीक्षित मदन पुरुस्कार पुस्तकालय र मदन गुठीका संस्थापक तथा अध्यक्षसमेत हुनुहुन्थ्यो ।
  • त्यस्तै, मुस्ताङका ३४ औं पूर्वराजा जिग्मे पलवर बिष्टको ८६ बर्षको उमेरमा र जनजाति आन्दोलनमा अग्रणी गोरेबहादुर खपाङ्गीको निधन पनि यसै वर्ष भयो ।

अर्थ

  • यो वर्ष आर्थिक क्षेत्रमा आशाका किरणहरु देखिएका छन् । नाकाबन्दीबाट थिलथिलो बनेको अर्थन्त्रको समग्र सूचक २०७३ सालमा सकारात्मक देखिएका छन् । आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि रहेको छ भने मंहंगी २ प्रतिशतभन्दा कममा सीमित भएको छ । अघिल्लो वर्ष आर्थिक वृद्धिदर एक प्रतिशतभन्दा कम र महंगी १० प्रतिशत पुगेको थियो ।
  • त्यस्तै २०७३ सालमा निर्यात पनि बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । व्यापार घाटा भए पनि अघिल्ला वर्षको तुलनामा निर्यात र रेमिट्यान्स यो वर्ष बढेको छ ।

पुनर्निर्माण

  • भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणले यो वर्ष पनि गति लिन सकेन । पुष्पकमल दाहाल नेतृत्वको सरकारले गएको असोजमा भूकम्प प्रभावितलाई अनुदान २ लाखबाट बढाएर ३ लाख रुपैयाँ दिने घोषणा गर्‍यो ।
  • त्यस्तै सरकारले पुस २७ गते पुनर्निर्माणमा ढिलासुस्ती गरेको भन्दै तत्कालीन सिइओ सुशील ज्ञवालीलाई हटाएर गोविन्दराज पोखरेललाई नियुक्त गर्‍यो । प्राधिकरणमा नयाँ कार्यकारी फेरिए पनि पुनर्निर्माणको कामले अझै गति लिन सकेको छैन । हालसम्म भूकम्प अति प्रभावित १४ जिल्लामा ६ लाख २६ हजार ६ सय ९५ घरधुरीको पहिचान भएको छ । ५ लाख ६१ हजार ८ सय ४५ सँग अनुदान सम्झौता भएको छ ।
  • चैत्र २१ गतेबाट भूकम्प कम प्रभावित १७ जिल्लामा पनि पहिलो किस्ताको अनुदान वितरण सुरु भएको छ । प्राधिकरणले कम प्रभावित १७ जिल्लाबाट ६० हजार १ सय ८६ घरधुरीलाई लाभग्राही सूचीमा सूचिकृत गरी पहिलो किस्ताको अनुदान वितरण सुरु गरेको हो । प्राधिकरणमा १४ जिल्लाबाट संकलित दुई लाख ७ हजार ४ सय ५३ गुनासो मध्ये झण्डै ४३ प्रतिशतको अझै सम्बोधन हुन बाँकी छ ।

खेलकुद

  • नेपाली खेलकुदको लागि २०७३ सन्तुलित रह्यो । नेपाली खेलकुदले यो वर्ष केही सुखद नतिजा दियो भने केही गुमायो पनि । यो वर्ष नेपाली फुटबलले सबैभन्दा ठुलो खुशी दियो । अघिल्लो बर्ष साग र बंगबन्धुकप जितेको नेपालले यो वर्ष कात्तिकमा मकाउलाई हराएर एएफसी सोलिडारिटीकपको उपाधी जित्यो । सोलिडारिटीकप जितेकै कारणले नेपालले एसियाकप छनौट खेल्न पाएको छ ।
  • अखिल नेपाल फुटवल संघ एन्फामा ६५ बर्षदेखि हुन नसकेको चुनाव पनि यसै बर्षको कात्तिकमा भयो र नरेन्द्र श्रेष्ठ अध्यक्ष भए । तर एन्फाको भद्रगोल अवस्था उस्तै छ ।
  • सफलताकै कुरा गर्दा विश्व क्रिकेट लिग डिभिजन अन्तरगत नामिबिया र केन्यासँगका ४ वटै खेल नेपालमै भए । नामिबियासँगका दुवै खेल नेपालले जित्यो भने केन्यासँग एउटामा मात्रै जित निकाल्यो । तर उपविजेता बनेर एसियाकप क्रिकेट खेलेको नेपाली महिला क्रिकेट टोली प्रतियोगिताकै कमजोर टिम बन्यो । खेलाडी किनबेच र १५ लाख रुपैयाँ पुरस्कार राशीसम्मका इपिएल र डिपिएल जस्ता महंगा घरेलु प्रतियोगिता हुँदा क्रिकेटमा उत्साह पनि थपियो ।
  • माल्दिभ्समा भएको सेन्ट्रल भलिबलमा नेपालले पहिलोपटक पदक जित्न सफल भयो । चेस, बक्सिङ, बडिविल्डिङ लगायतका अन्य केही अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि नेपालले पदक जित्यो ।
  • पुसमा पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता भयो । केही राम्रा पक्ष भएपनि फितलो व्यवस्थापन र खेलाडीले अनुशासन बिर्संदा आलोचना भयो ।
  • ब्राजिलमा भएको रियो ओलम्पिकमा नेपाल पदकबिहीन भयो । नेपाल क्रिकेट संघको विवाद समाधान नभएको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले यो वर्षको सुरुमै नेपाल क्रिकेट संघ क्यान खारेज गरिदियो । तर नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न भने बन्देज लगाएको छैन् । यस्तै एन्फाले एउटा इमेल पनि चेक नगर्दा नेपालको थ्री स्टार क्लबलले  मलेसियामा हुने एएफसी कपको प्लेअफ खेल्न नपाउने भयो र थ्रीस्टारले एन्फासँग ६ करोड क्षतिपूर्ति मागेको छ, विवाद अझै सकिएको छैन् ।
  • यस्तै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र सर्वाच्च अदालतले छुट्टाछुट्टै कमिटीलाई मान्यता दिएकोले रुक्म शम्शेर राणा र श्रेष्ठबिच वर्षैभरि विवाद हुँदा नेपाल ओलम्पिक कमिटीमा ताला लगाउने र खोल्ने क्रम चलिरहयो । केही महत्वपूर्ण उपलब्धी र केही अवसर खेर फालेर विक्रम संवत २०७३ नेपाली खेलकुदको सन्तोषजनक वर्ष बन्न पुग्यो ।

(साभारः उज्यालो अनलाईन.कम​)

कमेन्टहरु
Loading...